काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको अझै सुल्झिन सकेकाे छैन । विवाद समाधानका लागि शनिबार बसेको सचिवालय बैठकमा आउँदो मंसिरमा एकताको महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई दाहालले समर्थन गरेका थिए। तर आइतबार बिहान दाहालले आफू ओलीको प्रस्तावमा सहमति नभएको सार्वजनिक गरिसकेका छन् ।
दाहालले ओलीको प्रस्तावमा समर्थन गरेसँगै दुई नेताबीच फेरि आपसी सहमति भएको अनुमान गरिएको थियो । तर नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका थिए । परिवन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्याइएको दाहालले बताएका थिए। दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो।
स्थायी समिति बैठक पर्सी मंगलबारसम्मका लागि स्थगित गरिएको छ । मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावलाई दाहालले समर्थन गर्दै शनिबार साँझ राष्ट्रपति भवन शितल निवास पुगेका थिए। मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा दाहालले समर्थन गरेपछि सशंकित बनेका माधव नेपाल पक्षधर नेता आइतबार विहान दाहाल निवास खुमलटार पुगेका थिए । आइतबारको छलफलमा पनि नेता नेपालले दाहाललाई दुई अध्यक्षबीच भएका सहमति लिखित रुपमा ल्याउन आग्रह गरेका थिए। जवाफमा प्रचण्डले महाधिवेशनमा जाने वा एक व्यक्ति एक पदका विषयमा कुनै निर्णय भइनसकेको र सबै विषय ६ गते बस्ने स्थायी कमिटी बैठकले तय गर्ने जवाफ दिएका थिए।




