काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै गएपछि सचिवालय बैठक बोलाएको छ। स्थायी कमिटी बैठक चलिरहेकै बेला आन्तरिक विवाद सुल्झाउन भन्दै सचिवालय बैठक शनिवार ३ बजे बोलाइएको हो ।
विवाद उत्कर्षमा पुगपछि केही मत्थर पार्न स्थायी कमिटीको बैठक एकदिन पर सारेर सचिवालय बैठक बोलाइएको नेताहरुले जनाएका छन् । महासचिव विष्णु पौडेलले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको छलफलमा शनिबार सचिवालयको बैठक बोलाउने सहमति भएको बताए। शनिवार ३ बजे सचिवालय बैठक बोलाउने दुई अध्यक्षबीच सहमति भएको छ’, महासचिव पौडेलले भने। दुई अध्यक्षको छलफलपछि स्थायी समिति बैठक साउन ४ गतेसम्मका लागि स्थागित गरिएको छ। महासचिव पौडेलले हिजाेकाे बैठकमा कुनै औपचारिक सहमति नभए पनि सहमतिको प्रयासका लागि स्थायी समिति बैठक स्थगित गरेको बताए। शुक्रवारकाे बैठकमा पनि कुनै मूर्त सहमति भएको छैन’, उनले भने, ‘सहमतिका लागि नै स्थायी समिति बैठक स्थगित गरेका हौँ।’
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ। असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन। पछिल्लो पटक सहमतिका लागि भन्दै एक साता बैठक धकेलिए पनि कुनै निष्कर्ष भने निस्कन सकेन । शुक्रवारको बैठक पनि दिउँसोसम्म सारेर दुई अध्यक्ष छलफलमा बसे तर निकास नआएपछि साउन ४ गतेलाई बैठक सारेर सचिवालय ब्रठक बोलाउन लागिपरेका छन् । अहिलेसम्म विवाद नमिलेकाले अब केन्द्रीय समितिमा लगेर छलफल गरिने नेताहरूले बताएका छन् । तत्काल समाधान नभएपछि सहमतिको विकल्प खोज्न नेताहरूले थप समय लिने भएका स्थायी कमिटी सदस्यहरु बताउछन् । स्थायी कमिटी बैठक जारी रहदाँ प्रधानमन्त्री ओलीले असार १४ मा आफ्नो सरकार हटाउन भारतीय चलखेल भएको भन्ने अभिव्यक्ति दिए । त्यसपछि नेकपा बैठकमा उनको राजीनामाको माग झनै बलियोसँग उठ्यो । त्यसपछि विवाद उत्कर्षमा पुग्यो । विवाद झन् चर्किने भएपछि गत असार २४ गते बोलाइएको स्थायी कमिटी बैठक सहमतिका लागि एक साता रोकिएको थियो । सहमतिका लागि भन्दै बिहीबारको भेटमा पनि प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन भनेका थिए ।
ओलीले राजीनामा नदिने र स्थायी कमिटी फेस गर्न तयार रहेको जवाफ दिएका थिए । ओलीले राजीनामा नदिने बताएपछि बहुमतको निर्णयबाट पनि पार्टीमा नेपाल र प्रचण्ड पक्षले हटाउन सकेका छैनन् । त्यो गर्दा ओलीले फुटाउन सक्ने भन्दै सहमतिको प्रयास भइरहेको छ। दुई पक्षबिच समझदारी खोज्न भन्दै स्थायी कमिटी बैठक रोकेर छलफल थालिएको थियो ।




