ताजा समाचार

प्रधानमन्त्रीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरुले केही गम्भीर प्रश्न सृजना गरेको बताएका छन । प्रवक्ता शर्माको प्रश्न छ- देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

बाढी–पहिरोमा कयौंको मृत्युु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व समवेदना वक्तव्य दिएरमात्र पुरा नहुने भन्दै कांग्रेसले खवरदारी गरेको छ । कयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बसेरमात्र दायित्व पुरा नहुने भन्दै युद्धस्तरमा तयारी गर्न आग्रग गरेको छ । नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद अपरिपक्व टिप्पणी मार्फत प्रधानमन्त्रीले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गरेको कांग्रेसको आरोप छ ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न मिल्दैन । संस्थागत जिम्मेवारी भन्दा अलग निर्दलिय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन । अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो । तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसंग आवश्यक भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *