मुख्य समाचार

कोरोना कहर : २४ देशबाट २६ हजार नेपाली फर्किए

 

–सिवि अधिकारी

काठमाडौ । कोरोना भाइरसको महामारीका कारण २४ देशमा रहेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म चार्टर्ड उडानमार्फत नेपालीहरु घर फर्किएका हुन् । सबैभन्दा बढी युएईबाट पाँच हजार ५२६ जना, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ तथा कतारबाट दुई हजार ८८४ जना फर्किएका छन् ।

सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६० जना, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ जना घर फर्किएका छन् । उद्धार गर्न नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ तारिखमा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान थालेको हो ।

पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान भइरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपालीलाई प्राथमितामा राखि स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजारलाई फर्काउने निर्णय गरिएको थियो । अझै धेरै नेपाली फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ ।

जुलाई २२ सम्म ४२ उडान हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशबाट गरिने उद्धार उडान जुलाई १२ सम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली फर्किए । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । यस अवधिमा ४२ उडान गरिँदैछ । नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । नेपाल एयरलाइन्सले जुलाई १५ मा दुबईमा दुई उडान भर्नेछ भने हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान भर्नेछ ।

जुलाई १६ मा नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाम र कतारको रियादमा तीन तथा हिमालयले समान तीन उडान भर्ने तालिका छ । त्यस्तै जुलाई १७ मा नेपाल एयरलाइन्सले कतारमा दुई तथा हिमालयले बहराइनमा दुई उडान भर्नेछ । जुलाई १८ मा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार उडान भर्नेछ । सोही दिन हिमालयले आबुधाबीमा दुई उडान भर्नेछ ।

यस्तै जुलाई १९ मा मलेसिया गन्तव्यमा ती एयरलाइन्सले दुई÷दुई उडान भर्नेछन् । जुलाई २० मा तीन÷तीन उडान भर्नेछन्। जुलाई २१ मा मलेसिया गन्तव्यमा दुई एयरलाइन्सले समान दुई उडान भर्ने तालिका छ । जुलाई १४ र १५ मा नेपाल एयरलाइन्सले संयुक्त राष्ट्रसङ्घको मिशनमा नेपाली सेना लैजानका लागि चार्टर्ड उडान भर्नेछ भने सोही अवधिमा कोरियन एयरले दक्षिण कोरियाको सिओलबाट चार्टर्ड उडान भरी नेपालीलाई ल्याउने छ ।

सम्बन्धित देशबाट एयर अरेबिया र फ्लाई दुबईले दैनिक एक एक उडान भर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान भरेर नेपालीलाई स्वदेश फर्काउनेछ । सोही अवधिमा मालिन्दो एयरले दैनिक दुई उडान भर्नेछ । पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको थियो । कोरोना भारइसको कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका छन् ।

यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान गर्दैआएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ चार्टर्ड उडान भरिँदै आएको छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ गते दैनिक १५ उडान भए । शनिबार पनि एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो ।

रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *