काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्षको पछिल्लो सम्बोधनले के नेकपा भित्रको आन्तरिक विवाद केही मत्थर भएको चर्चासँग पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग पार्टी महासचिव विष्णु पौडेलले चार घण्टा कुराकानी गरेका छन् । २ साउनबाट शुरु हुने स्थायी कमिटी बैठक अघि नै महासचिव पौडेलले नेपालसँग गोप्य भेटघाट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले देशबासीका नाममा शुक्रबार गरेको सम्बोधनमा अहिले उठेका राजनीतिक प्रश्न पार्टीको आन्तरिक विषय र यसको समाधान आन्तरिक सम्वाद र सहमतिकै आधारमा खोजीने बताउनु र अर्का अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवन पुगेर आफुले हतार गरेको भए दुर्घटना हुन सक्ने भन्दै हतारमा निर्णय गरेर फूर्सदमा पछुताउने तिर आफुहरु नरहेको बताएबाट पार्टीभित्रको अन्तरसंर्घष टुंग्याउने सूत्र नेताद्धयले फेला पारिसकेको अनुमान लागिरहेका बेला दुई नेताहरुको भेटपनि अर्थपूर्ण रहेको छ । ओली पक्षका नेताहरुको कुरो सुन्ने हो भने कुरा मिलिसकेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा नदिइकनै समस्या समाधान निस्कन्छ । तर प्रचण्ड र माधव नेपाल निकट नेताहरुले कुनै टिप्पणी यसमा गरिसकेका छैनन् । प्रचण्डले प्रधानमन्त्री ओलीसँगको छलफल छोडेर बाढी पहिरो प्रभावित चितवनका स्थानियहरुसँगको प्रत्यक्ष भेटघाटका लागि चितवन पुगेका थिए । उनले माडी लगायतका क्षेत्रको स्थलगत अध्ययन पनि गरे । उनी आइतबार साँझ मात्रै काठमाडौं फर्किने र सोमबार मात्रै प्रधानमन्त्री ओलीसँग सम्वादमा बस्नेछन् । तर यही बीच ओली पक्षका नेताहरुले भने वरिष्ठ नेता माधव नेपाल पक्षलाई पनि फकाउने रणनीति बनाएको छ ।
वरिष्ठ नेता नेपाललाई ओली पक्षले महाससचिव विष्णु पौडेललाई परिचालन गरेर छलफल बाक्लो बनाएको छ । महासचिव पौडेलले शनिवार मात्रै पनि नेपालका सम्धी सोमप्रसाद पाण्डेको बानेश्वरस्थित घरमा नेपालसँग गोप्य छलफल गरेका छन् । छलफल किन पाण्डेको घरमा गोप्य रुपमा गरे ? त्यसको दुवै पक्षले केही बताएका छैनन् । तर पौडेल नेपाललाई भेट्न साँझ ४ बजे पाण्डेको निवासमा पुगेका थिए । उनले त्यहाँ नेपालसँग झण्डै ४ घण्टा छलफल गरेर बाहिरिएका थिए । पौडेल अहिले पार्टीभित्रको विवाद मिलाउन र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट जोगाउनका लागि निक्कै कम्मर कसेर लागेका छन् ।
सहमतिको सूत्रको नाममा माओवादी धारका नेता तथा स्थायी समिति सदस्य जर्नादन शर्मा प्रभाकरसँग पनि मिलेर अनेक उपाय अवलम्वन गरिरहेका छन् । त्यही क्रममा उनले वरिष्ठ नेता नेपालसँग पाण्डेको निवासमा झण्डै चार घण्टा गोप्य वार्ता गरेका हुन् । उनीहरुबीच के के कुराकानी भयो भन्ने बारेमा बाहिर केही आएको छैन । दुवै नेताको भेटलाई लिएर नेकपाभित्र कौतुहलता पैदा भएको छ ।




