ताजा समाचार

नयाँ नक्सामा भारतले असहमति जनाउँदै पठाएकाे कुटनीतिक नोट परराष्ट्रले किन राख्याे गोप्य ?

काठमाडौँ । लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नेपालको नयाँ नक्सामा भारतले असहमति जनाउँदै असारको पहिलो साता कुटनीतिक नोट पठाएको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जनका लागि संविधान संशोधन गरेको थियो । त्यसमा असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । तर नेपाल सरकारले भने यसलाई अहिलेसम्म गोप्य राखेको स्रोतले जनाएको छ ।

भारतले पठाएको कूटनीतिक नोट असार १० गते आइपुगेको स्रोतको दाबी छ । यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाउँदै भारतलाई कूटनीतिक नोट पठाएको थियो । सन् २०१५ मा भारत–चीनबीच नेपालसँग परामर्श नै नगरी नेपाली भूमि प्रयोग गर्ने सहमति गरेपछि, गएको नोभेम्बरमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि तथा पछिल्लो पछिल्लोपटक भारतले बाटो उद्घाटन गरेपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो ।

नेपाली क्षेत्र हुँदै मानसरोबर जोड्ने बाटो भारतले उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध केही चिसो भएका बेला भारतबाट कूटनीतिक नोट आएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भैसकेको भएपनि सरकारले कुनै औपचारिक जानकारी गराएको छैन । भारत सरकारले नेपाललाई कुटनीतिक नोट पठाएको विषयमा भारतस्थित नेपाली राजदूतावास पनि जानकार रहेको छ । तर दूतावासले पनि यो विषयलाई गोप्य राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *