काठमाडौं । सरकारले बाढी पहिरोमा परी पीडित भएकाहरुलाई सार्वजनिक भवन र विद्यालयमा राख्ने भएको छ । वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरो लगायतका प्राकृतिक प्रकोप न्यूनीकरण र पीडितको उद्धार तथा राहतबारे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी पीडितहरुको जोखिमलाई ध्यानमा राखेर सो निर्णय गरेको हो ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको परिषद्को चौथौं बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र मन्त्रीहरू सहभागी भएका भएको बैठकमा मन्त्रीस्तरिय बैठकमा बाढी र पहिरो पीडितहरूलाई तत्काल उद्धार गरेर सार्वजनिक भवन र सामुदायिक विद्यालयहरूमा राख्न सकिने विषयमा छलफल भएको थियो । ‘प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को छलफलमा वर्षा सुरू भएसँगै बाढी र पहिरोका घटनाहरू बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालहरूसँग छलफल भएको थियो,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘कोभिड–१९ को बढेसँगै बाढी र पहिरो पीडिहरूलाई तत्काल उद्धार गरी सामुदायिक विद्यालय र सार्वजनिक भवनहरूमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको थियो ।’ कोरोना भाइरस महामारीबीच पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालमा मनसुन सक्रिय भई अविरल वर्षा भइरहेको छ ।
वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रबिसे, म्याग्दी, जाजरकोट र तनहुँलगायत जिल्लामा जनधन तथा मानवीय क्षति पुगेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म सो प्रणालीको असर रहने भएको हो । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । परिषद्ले मुख्यतः सूचना प्रवाह, उद्धार र राहतमा केन्द्रित गर्ने भएको छ । जोखिम क्षेत्रमा खोज तथा उद्धारका सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिनेछ । ‘विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि तालिमप्राप्त सुरक्षाकर्मी देशभर परिचालन भएका छन्,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले थपे, ‘त्यसबाहेक पीडितहरूको उद्धार तथा पुर्नस्थापनाको लागि हेलिकोप्टर र खाद्यान्य सामग्रीहरू तयारी अवस्थामा राखिएको छ ।’




