मुख्य समाचार

यातायात व्यवसायीले सार्वजनिक सवारी साधन नचलाउने

काठमाडौँ । यातायात व्यवसायीले तत्काल सार्वजनिक सवारी साधन नचलाउने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले अनुमति दिए पनि अहिले सञ्चालन गर्ने अवस्था नभएको निर्णय गरेको हो ।

तीन महिनादेखि थन्किएको गाडी ग्यारेजबाट निकाल्ने अवस्था नभएको महासचिव सरोज सिटौलाले बताए। सवारी साधन मर्मत गर्नुपर्ने अवस्था भएको र यसका लागि व्यवसायीसित आर्थिक समस्या भएको उनले बताए । सरकारले पुनरकर्जा उपलब्ध गराउनुपर्ने सिटौलाको माग छ । सरकारले सरोकारवाला यातायात व्यवसायीसँग सल्लाह नगरेको महासंघको आरोप छ । मजदुरको स्वास्थ्य बीमा गर्नुपर्ने, स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउनुपर्ने, कोरोना भाइरसबाट संक्रमित भएको अवस्थामा के गर्ने भन्नेलगायत व्यवसायीका समस्या छन् ।

सरकारले बैंकको किस्ता सार्ने, पुनरकर्जाको व्यवस्था मिलाउने, गाडी र चालकको कागजपत्र नवीकरण गर्न सहजीकरण गरिदिनेलगायत काम नगरे यातायात व्यवसायी र मजदुर पलायन हुने अवस्था रहेको सिटौलाले बताए । बिहीबार सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने गरेको थियो । भाडादरको ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको थियो । व्यवसायीको माग सरकारले सम्बाधेन नगर्दासम्म यातायात सञ्चालन नगर्ने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले हचुवाका भरमा यातायात सञ्चालन गर्न नसक्ने र सवारी साधनको साँचो सरकारलाई बुझाउने चेतावनी दिए । सरकार एकपछि अर्को गरी निजी क्षेत्रलाई समाप्त पार्न लागेको उनको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *