ताजा समाचार

ओलीको विकल्प होइन व्यवस्थाकै विकल्प खोजिने खतरा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको खेल तिब्र रुपमा अघि बढेको चर्चालाई प्रधानमन्त्री केपी शर्मा ओली आँफैले पुष्टि गरेका छन् । मदन भण्डारीको ६२ औं जन्मनयन्तीका अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनका लागि आफ्नो पार्टीभित्र चलखेल भएको कुरा स्पष्ट भाषामा पुष्टि गरे ।
उनले भने–‘ मैले आफ्नो देशको पक्षमा केही अडान लिँए , त्यसलाई सहन नसकेर भारतले सत्ता परिवर्तनको खेल अघि बढाएको छ , तर यस्तो खेल सफल हुनेछैन ।’ लिम्पियाधुरासमेत समेटेर नेपालको नयाँ नक्शा जारी गरे लगत्तै भारतीय दूतावासले राजधानी काठमाडौंको एक होटलमा मधेसीदलका नेता र राजपरिवारका सदस्यहरुलाई बोलाएर रात्री भोज दिएको समाचार सार्वजनिक भएको थियो । उक्त भोजमा आँफू पनिसमेल भएको भन्दै मधेसीदलका नेता लक्ष्मणलाल कर्णले समाचारलाई पुष्टि गरेका थिए । त्यसैले प्रधानमन्त्री ओलीले असत्य बोलेका होइनन् । पहिलो कुरा त प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्ने प्रयास अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गत वर्षदेखि नै आरम्भ गरेका हुन् । उनीहरुले यो प्रयास स्वविवेकमा गरेका हुन् या कसैको इशारामा गरेका हुन् ? भन्ने प्रश्न अनुत्तरित रहेको थियो,तर प्रधानमन्त्री ओलीले भारतको सक्रीयतामा यो प्रयास भएको बताएपछि रहस्यको पटाक्षेप भएको छ ।
भारतले साँचि नै यस्तो सक्रीयता देखाएको हो या प्रधानमन्त्री ओलीले आँफू पानि माथिको ओभानो बन्न आरोप मात्रै लगाएका हुन् ? भन्ने प्रश्नको उत्तर पनि ज्यादै महत्वपूर्ण हुन्छ । पहिलो कुरा त मलुकको प्रधानमन्त्रीसँग सूचनाका भरपर्दा च्यानलहरु ३–४ वटा हुन्छन् । जुन च्यानलले प्रधानमन्त्रीलाई मात्रै सूचना दिन्छन् । हरेक दिन बिहान र बेलुका यस्ता सुचना प्रधानमन्त्रीलाई अवगत गराउने प्रचलन छ । मिडियाकर्मीले थाह पाएको सूचना प्रधानमन्त्रीले थाह पाउँदैनन् भन्न सकिन्न । केही सूचना पाएरै प्रधानमन्त्री ओलीले यो अभिव्याक्ति दिएका हुन सक्छन् । दोस्रो कुरा सुरुमा आग्रह गर्ने, त्यस पछि निर्देशन दिने आग्रह र निर्देशन नामाने सरकार ढाल्नका लागि चलखेल सुरु गर्ने भारतीय प्रचलन नेपालको सन्दर्भमा कत्ति पनि नयाँ होइन । यस्ता भारतले गर्ने यस्ता चलखेलको श्रृंखला निकै लामो छ । अंग्रेजकालिन भारतले नेपालको सत्तालाई कसरी आफ्नो अनुकुल प्रयोग गथ्र्यो ? र प्रयोग गर्न नसक्दा के के रवैया अपनाउँथ्यो ? भन्ने कुरा बाबुराम आचार्यको ऐतिहासिक कृति ‘फेरी यस्तो कहिल्यै नहोस्’ मा स्पष्टसँग उल्लेख गरिएको छ । कुनै बेला पाँडेहरुलाई उचालेर थापाहरुको कत्लेआम गर्ने , कुनै बेला थापाहरुलाई उचालेर पँडेहरुको कत्लेआम गर्ने क्रम कोतपर्वसम्म जारी रह्यो । कोतपर्वपछि शासन सत्तामा आएका जंगबहादुर राणाले अंग्रेजको जी हजुरी गरेर आफ्नो जहानियाँ राणाशासनलाई लामो सयम टिक्ने वातावरण बनायो । यो शासन १ सय ४ वर्ष सम्म टिक्यो।
राणा शासनको समाप्तिपछि भारतले नेपालको शासन सत्तामा के कसरी हस्ताक्षेप गथ्र्यो ? भन्ने कुरा वीपी कोइरालाले आफ्नो आत्मावृतान्तमा स्पष्ट उल्ल्ेख गरेका छन् । कोइरालाको आत्मा वृतान्तमा उल्लेख भए अनुसार त्यसबेला राजा त्रिभुवनका निजी सचिवका रुपमा भारतले दिल्लीबाटै आफ्ना कर्मचारी पठाउँथ्यो । मन्त्रिपरिषदको बैठकमा भारतीय राज दूत चप्पल लगाएरै उपस्थित हुन्थे । राष्ट्रवादको आवरण दिइएको पञ्चायतकालिन सत्तमा भारतीय हस्तक्षेप कुन रुपमा थियो ? भन्ने कुरा तत्कालिन राजा महेन्द्रले कालापानी क्षेत्रमा भारतीय सैनिक क्याम्प राख्न दिएको घटनाले नै पुष्टि गर्छ । जुन घटनाबारे पञ्चायतका ३० वर्षसम्म जनतालाई गुमाराहमा राखियो ।
पन्चायती व्यवस्थाको समाप्ती पछि नेपालको सत्तामा भारतीय हस्तक्षेप के कस्तो रह्यो ? भन्ने सन्दर्भमा केही वर्ष अघि प्रदीप गिरिले एक दैनिकको शिनबारको अंकमा दुई पेज लामो आर्टिकल लेखेका थिए । २०४८ सालको आम निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रतिनिधिसभाको निर्वाचन किन र कसरी हारे ? भन्ने प्रश्नको सन्दर्भमा लेखिएको उक्त आर्टिकलमा भनिएको छ –‘ किशुनजी प्रधानमन्त्री हुना साथ भारतले तत्कालिन राजदूत बिन्देश्वरी शाहलाई हटाएर सेफ ल्याण्डिङको वातावारण बनाउन भारतले आग्रह ग¥यो , केही समय किसुनजीले टार्दे जानु भयो , त्यसपछि निर्देशन दियो , निर्देशन पछि किसुनजीले भारतका प्रधानमन्त्रीलाई सिधै भन्नु भयो यति योग्य राजदूत म हटाउँदिन , खराव पञ्चायतको पक्षमा त वकालत गर्न सक्ने खुवी भएकी राजदूतले असल बहुलीय व्यवस्थाको अझ राम्रो प्रचार गर्न सक्छिन् भन्ने मेरो ठहर छ । ’ उक्त लेखको निश्कर्षमा प्रदीप गिरिले भनेका छन् – किसुनजीले किन चुनाव हार्नुभयो ? भन्ने सन्दर्भमा लम्बे चौडे तर्क गर्नु जरुरी नै छैन , भारतले आफ्नो स्वार्थ सिद्ध हुने संभावना नदेखेरै हराई दिएको हो ।’ विपि कोइरालाले पनि २०१७ सालको कु मा भारतको हात रहेको कुरा आफ्नो अन्तवार्तामा परोक्ष रुपमा प्रस्तुत गरेका छन् ।
यसैगरी संविधान निर्माणका सन्दर्भमा भारतद्धारा भएको हस्तक्षेप तथा चmखेल जगजाहेरै छ । संविधान जारी गर्ने अभियानमा सरिक भएकै कारण तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २ वर्षे कार्यकालमा एक पटक पनि भारत भ्रमणको अवशर पाएनन् , जबकी नेपालमा प्रधानमन्त्रीले सफथ ग्रहण गरे लगत्तै आफ्नो देशको भ्रमणमा बोलाउने भारतीय प्रचलन हो ।
यतिबेला प्रधानमन्त्री ओलीका केही निर्णयबाट भारत असन्तुष्ट भएको सत्य हो । खासगरी लिम्पियाधुरालाई समेटेर नेपालको नक्शा जारी गरिएको प्रकरणबाट भारत प्रधानमन्त्री ओलीसँग चिढिएको छ । यही बेला चीन सँग सीमा बिवाद नचर्केको भए भारतले नाकाबन्दी लगाई सकेको हुने थियो । नेपाल माथि नाकावन्दी लगाउने तयारीमा भारत जुटेकै बेला लद्दाखको गलवान उपत्याकामा संघर्ष भएको थियो । जहाँ २० भारतीय सैनिकलाई चिनियाँ सेनाले कुटीकुटी मारेको थियो । यो घटनाले यतिबेला भारत थिलोथिलो बनेको छ । विगतमा जस्तो नेपाल माथि खुलेआम चलखेल गर्नसक्ने अवस्थामा भारत छैन । भित्रभित्रै भारतीय दूतावासले आफ्नो कोर्ष अघि बढाउँदै जानुलाई नौलो रुपमा लिन मिल्दैन ।
प्रधानमन्त्री ओलीले झुठो बोलेका होइनन् , तर बोल्ने समय गलत भयो । बोलीमा प्रयोग गरिएका भाषा गलत भए । ओलीको आफ्नै परफरमेन्स पनि गलत भयो । यस्ता प्रयासको जवाफ मुखले दिने होइन । कार्यशैलीले दिने हो । ओलीले थुप्रै जनविरोधी काम गरेका छन् । आफ्नै कार्यशैलीका कारण ओलीको जनप्रियता खस्कँदै गएको छ । कोरोनाको महामारीका कारण जनता छटपटीमा पर्दा समेत भ्रष्टाचार गरियो । अरबौं रुपैंया खर्च गरेरे नक्कली स्वास्थ्य सामाग्री आयत गरियो , अनि प्रधानमन्त्री ओलीले भन्ने थाले –‘ बेसार खाउ , अदुवा खाउ , कागती खाउ , गुर्जे खाउ ।’ जनतालाई हेप्नुको पनि हद हुन्छ नि । हदै नाघेर हेपेपछि जनता सडकमा उत्रनु निश्चित हुन्छ । भारतीय इशारामा सत्ता समिकिरण परिवर्तनमा लागेको भन्दै ओलीले प्रचण्ड र माधव नेपालका गतिविधिलाई पार्टीभित्रै निस्तेज पार्न सक्लान , तर भ्रष्टाचार र बेथितिका कारण उम्लेको जनआक्रोसलाई निस्तेज पार्न उनले सक्ने छैनन् , यदी ओली सरकारको विकल्प सडकबाटै खोज्ने गरी जनता आन्दोलनमा उत्रे भने संसदीय प्रणाली मार्फत अर्को विकल्प दिने समय रहँदैन , अर्थात भ्याँइदैन । यस्तो अवस्थामा राजनीतिक प्रणाली नै संकटमा पर्न सक्छ । यर्थाथमा भन्ने हो भने भारत अहिले सरकारको विकल्पको खोजीमा मात्रै छैन , राजनीतिक दलको विकल्पको खोजीमा छ । सबैलाई थाहै छकि , राजनीतिक दलको विकल्प भनेको राजतन्त्र हो । नयाँ नक्शा जारी प्रकरण पछि पूर्वराजा ज्ञानेन्द्र शाह सँग भारतले आफ्नो संवन्ध मजवुत बनाउँदै लगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *