ताजा समाचार

प्रहरीलाई पीपीई पञ्जा छैन, प्रधानमन्त्रीको सुरक्षाका सर्भिलेन्स उपकरणसहितको गाडी खरिद गरिदै

 काठमाडौं । नेपाल प्रहरीलाई आवश्यक नै नभएको एलटिइ र्यापिट कम्युनिकेशन सिष्टम उपकरण खरिद गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आइटी विज्ञ अस्गर अलीको योजनामा नेताल प्रहरीलाई तत्काल आवश्यक नभएको सो कम्युनिकेशन सिष्टम भएको उपकरण खरिद गर्न लागिएको हो । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नयाँ गाडी खरिद गरी सो उपकरण त्यसका जडान गर्न लागिएको हो ।

फिल्डमा खटिने प्रहरीलाई पिपई, पञ्जा, मास्क लगायतका अत्यावश्यक सामान खरिदमा बजेट अभाव देखाएको नेपाल प्रहरीले ५ करोड बराबरको सो उपकरण तत्काल कुन प्रयोजनका लागि हो भन्ने नखुलाई खरिदको अन्तिम तयारी गरेको छ । प्रहरी प्रधानकार्यालयमा भएको एउटा सो उपकरण समेत प्रयोगमा आउन नसकेको अवस्थामा पुन अर्को के प्रयोजनका लागि भन्ने नखुलाई खरिद गर्न लागिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट नेपाल प्रहरीले पाएको सो उपकरण अहिले प्रहरी प्रधानकार्यालयमा थन्किएर बसेको अवस्थामा अर्को खरिद गर्नुपर्ने औचित्य र आधार नखुलाई टेण्डर आह्वान गरिएको छ ।

प्रहरी महानीरिक्षक ठाकुर ज्ञावालीको ठाडो आदेशमा सो उपकरण खरिद गर्न टेण्डर आह्वान गरिएको हो । खरिद गर्न लागेको सो उपकरणबारे प्रहरी प्रधानकार्यालयमा रहेका अधिकृतहरुलाई सामान्य जानकारी पनि नभएपछि खरिद प्राब्धानमा समेटिनु पर्ने मापदण्ड निर्धारण समेत प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले गरिदिएका थिए । नेपाल प्रहरीका सञ्चार अधिकृत एसपी गणेश रेग्मीले यो विषयमा जानकारी नभएको भन्ने रिपोटिंग गरेपछि आइजीपी ज्ञावालीले प्रधानमन्त्रीका आइटी विज्ञलाई भेट्न निर्देशन दिएका थिए । सोही अनुसार फागुन १९मा टेण्डर आह्वान गरेका थिए । ‘ प्रस्ताव नै वालुवाटारबाट आएको हो यसको बारेमा जानकारी राख्न र कुन कुन प्राब्धान अनुसार खरिद हुन्छ भन्ने बारेमा जानकारी लिन पनि आइटी विज्ञलाई भेट्नु आवश्यक भएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । नेपाल प्रहरीको सञ्चार शाखालाई समेत सो विषयमा जानकारी छैन । शाखाले सो विषयमा जानकारी नभएको जनाएको छ ।

प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार टेण्डर आह्वान गरिएको बोलपत्रमा एउटा मात्रै कम्पनीले आपूर्ति गर्न मिल्नेगरी त्यसको प्राब्धानहरु उल्लेख गरिएका छन् । प्रधानमन्त्रीको आइटी सल्लाहकार अस्गर अलीको खास सम्बन्ध रहेको चिनिया कम्पनी हुवावेले मात्रै आपूर्ति गर्न मिल्नेगरी बोलपत्र आह्वान गरिएको छ । प्रहरी महानीरिक्षक ज्ञावाली नियुक्ति भएपछि उनकै आदेशमा १९ फागुनमा सो बोलपत्र आह्वान गरिएको थियो । कोरोना महामारी फैलिएपछि आफूर्ति गर्ने कम्पनीहरुलाई पूर्व तयारी बैठक (प्रि बिडिङ)का लागि १८ चैतमा बोलाइएको भएपनि त्यतिबेला रोकिएको थियो । त्यसपछि बैशाख २० र २१ जेठ हुदै तीन पटक रोकेर अहिले २७ जेठमा सो बैठक राखी ३ असारमा दुई वटा कम्पनी छनौट गरिएको छ । जसमा हुवावे कम्पनीले मात्रै आपूर्ति गर्न सक्नेगरी टेण्डरमा मापदण्ड निर्धारण गरेपछि अर्को आपूर्तिकर्ता कम्पनी जेटइले ३ जुनमा प्रहरी महानीरिक्षक ज्ञावालीलाई पत्रचार गर्दै हुवावे मात्रै आपूर्तिकर्ता कम्पनी नभएको जानकारी गराएको थियो । तर प्रहरी महानीरिक्षक ज्ञावालीले सो विषयमा चासो दिएनन ।

५ करोडको ठेक्का भएकाले उनी आफ्नै कार्यकालभित्र खरिद गरी भुक्तानी गर्न चाहेका कारण पनि प्रहरी महानीरिक्षक ज्ञावालीले हुवावेलाई चाडै ठेक्का दिन दबाब दिइरहेका छन् । एकातर्फ प्रहरी महानीरिक्षक ज्ञावालीले खरिद लागि दबाब दिइरहेका छन् भने अर्कोतर्फ प्रधानमन्त्रीका आइटी सल्लाहकारको सम्बन्ध रहेको कम्पनीले मात्रै ठेक्का हात पार्नु र त्यसकालागि मापदण्ड पनि उनले निर्धारण गर्नुमा आर्थिक अनियमितताको आशंक गरिएको छ । ‘हामीलाई यो सामानको व्यवहारिक ज्ञानपनि छैन तैपनि खरिद प्रकृया अघि बढिसक्यो आइजीपीले चाडै गर्नुस भनेर दबाब दिइरहनु भएको छ यसको खास कारण थाह छैन’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । खासगरी यो उपकरण विपद व्यवस्थापनका लागि प्रयोग हुने गर्छ । त्यहाँको जानकारी भिडियो मार्फत माथिल्लो तहसम्म पुर्याउन यो उपकरण सहयोगी हुने विज्ञहरुको दावी छ । तर भएकै अर्को उपकरण नेपाल प्रहरीले प्रयोग गर्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *