काठमाडौं । स्थायी कमिटीको बैठक नजिकिदै गर्दा मंगलबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । पार्टीको स्थायी समिति बैठकको एजेण्डा तय गर्नेबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच भेटवार्ता भएको वालुवाटार निकट स्रोतले जनाएको छ ।
बुधबारका लागि स्थायी कमिटी बैठक डाकेपनि एजेण्डा तय भएको छैन । यसअघि दुईपटक स्थायी समिति बैठक बोलाएर बस्दैनबसी स्थगित भएको हुँदा यसपटक पनि हुन्छ हुँदैन भन्ने टुंगो नभएको पार्टी नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक टार्न खोजेको नेताहरुले आरोप लगाउँदै आएका बेला दुई अध्यक्षबीच छलफल भएको हो ।
बैशाखको सुरुमा २० जना स्थायी समिति सदस्यले लिखित रुपमै बैठक माग गरेपछि बैशाख २५गतेका लागि बोलाइएको थियो । त्यसपछि वैशाख ३१ गतेका लागि तोकिएको बैठक पनि बस्न सकेको थिएन ।




