काठमाडौं । नेपाल पर्यटन बोर्डले जुममार्फत् गरिएको भर्चुअल कार्यक्रममा अश्लिल भिडियो देखिएपछि कार्यक्रम नै स्थगित भएको छ । कार्यक्रमको क्रममा पर्यटनमन्त्री योगेश भट्टराईले सम्बोधन गर्दा गर्दै अश्लिल भिडियो देखिएपछि कार्यक्रम स्थगित भएको थियो ।
नेपाल पर्यटन बोर्डले कार्यक्रममा भएको घट्नाप्रति क्षमा माग्दै सो प्रकरणबारे छानबिन सुरु गरिएको जानकारी दिएको छ । आज सोमबार पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो (अश्लिल भिडियो) बजेको थियो । पर्यटन बोर्डले उक्त जुम मिटिङ गर्न प्रयोग गरिएको कम्प्युटर र रेकर्ड गरिएको सामग्री महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई बुझाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले घटना लगत्तै अनुसन्धानका लागि कम्प्युटर र रेकर्ड गरिएको सामग्री प्रहरीलाई दिएको बताए । उनले घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालय र बोर्डले समिति गठन गरेको पनि जानकारी दिए । “हामीले राम्रो काम गर्दा गर्दै यस्तो घटना घट्यो । छानबिन गर्न मन्त्रालयले पनि समिति गठन गरेको छ र बोर्डले पनि तीन सदस्यीय समिति गठन गरेको छ” उनले भने । उक्त जुम मिटिङ पे गरेरै सञ्चालन गरिएकाले अनुसन्धानका क्रममा नेपाल भित्रैबाट ह्याक गरिएको भए प्रहरीले पत्ता लगाउन सक्ने बताएको उनले बताए ।




