काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओलीको पक्षमा छैन भन्नुपर्ने अवस्थामा पुगेका छन् । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सहित पार्टी सञ्चालनसम्बन्धी मुख्य मुद्दाहरूमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको भन्दै सचिवालयका सदस्य मार्फत खुलसा गरेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले उनलाई अविश्वास गर्न थालेपछि सचिवालयको तर्फबाट प्रेस नोटनै जारी गर्नुपरेको अवस्था हो । स्वकीय सचिवालयबाट बिहीबार ३ बुँदे प्रस्टीकरणसहितको प्रेस नोट जारी गर्न लगाएर गौतमले पार्टीभित्रको पछिल्ला अन्तरविरोध र मुख्य मुद्दाहरूमा आफ्नो ‘पोजिसन’ बारे प्रष्ट पार्ने कोसिस गरेका छन् । ‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउनेछन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ सचिवालयका तर्फबाट गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदै छ । वामदेवलाई पनि त्यहीँ भेटिँदै छ ।’
गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार भएको भन्दै उनको सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरूका पक्षधरका रूपमा उनलाई चित्रित गर्ने क्रम बन्द होस् ।’ गौतम अझै केही समय सार्वजनिक प्रतिक्रियामा नआउने पनि प्रेस नोटमार्फत प्रस्ट्याइएको छ । अघिल्लो साता प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमा भेट गरेका गौतमले एमसिसी संशोधनसहित पारित हुनुपर्ने आफ्नो अडान रहेको भन्दै यथास्थितिमै पारित गर्ने कुरामा आफ्नो साथ नरहने प्रस्ट पारेका थिए । लामो समयदेखि प्रधानमन्त्री ओलीले आफूलाई धोका दिँदै आएको भन्दै गौतम उनीसँग रिसाएका छन् ।
डेढ महिनाअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधकुमार नेपाललगायतका नेताले केन्द्रीय सचिवालयमै ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा असफल भएको भन्दै छाड्न आग्रह गरेका थिए । तर, ओलीले आफूले पद छाड्नुपरेको अवस्थामा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेकपाभित्रको पछिल्लो समीकरण तरंगित बनेको थियो । त्यसक्रममा वामदेव गौतम ओलीतिरै ढल्केपछि प्रचण्ड र माधव नेपालले उनलाई अविश्वास गर्दै आएका छन् ।




