ताजा समाचार

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेलबीच खटपट शुरु

काठमाडौं । सरकारले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिने निर्णय गरेसँगै सेना विवादमा तानिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्रीबीच खटपट भएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिटुजी खरिद प्रक्रियासँगै नेपाली सेना पनि विवादमा तानिन थालेपछि प्रधानमन्त्री ओली उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्रीसँग असन्तुष्ट हुँदा उनीहरुबीच खटपट शुरु भएको हो । उच्च सैनिक स्रोतकाअनुसार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फसाएको भन्दै प्रधानमन्त्रीसँग सेनाले असन्तुष्टी जाहेर गरेसँगै ओली र पोखरेलको पनि खटपट भएको बताइन्छ ।
सेनामार्फत खरिद गर्दा अख्तियारबाट पनि छानबिन पनि नहुने र मुद्दा पनि नचल्ने कानुनी प्रावधान दुरुपयोग गर्दै सरकारले सेनालाई खरिदको जिम्मा दिएको थियो । तर सामग्री खरिदमा एक अर्बभन्दा बढी अनियमितता भएको भनी प्रश्न उठेपछि सेनाले प्रधानमन्त्रीसँग गुनासो गरेको हो । ओम्नीमार्फत् स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री पोखरेलको अगुवाइमा खरिदको जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य पनि प्रचलित दरभन्दा उच्च भएको सार्वजनिक भएपछि सेनालाई फसाइएको निष्कर्षमा सैनिक नेतृत्व पुगेको हो । मन्त्रिपरिषद्‍बाट जिम्मा पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री पोखरेलको बोलवाला चलेको थियो । पोखरेलको निर्देशनअनुसार खरिद सम्झौता गरेर भित्र्याएको मेडिकल सामग्री यस अगाडि ओम्नीमार्फत किनिएका र विभागले खरिद गरेको सामग्रीको मूल्यभन्दा तीन गुणासम्म बढी भएको खुल्न थालेको छ ।
राष्ट्रिय सेना ठेक्कापट्टा र मन्त्रीहरूको स्वार्थ बमोजिमका सामग्री खरिदमा लागेको भन्दै आलोचना भएपछि सरकारले जिम्मेवारी दिए पनि मेडिकल सामग्री खरिद नगर्ने भन्दै सैनिक नेतृत्वले प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेको तर ओलीले अहिले नै त्यसरी हात झिकिहाल्न नहुने भन्दै केही समय पर्खन आग्रह गरेका छन् । सेनाले चीनबाट जिटुजीमार्फत् करिव ७० प्रकारका मेडिकल सामग्री खरिद गरी नेपाल ल्याएको थियो । सेनाले जेठ ३ गते पहिलोपटक स्थलमार्ग हुँदै मेडिकल सामग्री नेपाल भित्र्याएको थियो । साथै नेपाल एयरलाइन्सको जहाजमार्फत् पनि दुई पटक मेडिकल सामग्री नेपाल ल्याइसकेको छ । खरिद गरिएका सामग्री तथा उपकरणमा प्रचलित बजार मूल्यभन्दा एक अर्बभन्दा बढी भुक्तानी गरेको आरोप लागेको छ ।
नेपाली सेनाले कुल एक करोड ८४ लाख ४१ हजार डलर खर्च गरेको थियो । प्रधानमन्त्री ओलीले सेनाको गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेललाई के के विषयमा असमझदारी भएको हो त्यसबारेमा सबै जानकारी गराउनु भन्दै निर्दैशन दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओली र रक्षामन्त्री पोखरेलवीच खटपट शुरु भैसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *