काठमाडौं । माइत जान लागेकी सांसद सरिता गिरीलाई नेपाल भारत सीमा क्षेत्रबाट नेपाल प्रहरीले फर्काइदिएको छ । सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीका अनुसार भारतले तोकेका नाकाबाट मात्रै जान मिल्ने भएकाले रोकिएको हो । ‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर रोकेका हौं, उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ’एसपी चतुर्वेदीले भने ।
भारतले बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर, उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको हो। सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।
भारत माइती भएकी गिरीले नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी थिइन्। उनले आफ्नै पार्टी निर्देशन विपरीत सरकारको संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन्।




