काठमाडौं । सत्तारुढ नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विवादलाई लिएर जेठ महिनामा तीन पटक सचिवालय बैठक स्थगित भएको छ । पार्टीभित्रको विवादलाई मत्थर पार्ने गरी सचिवालय बैठक बोलाउन लागिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू व्यस्त भएको भन्दै आइतबारको बैठक स्थगित गरिदिए ।
नेकपाभित्रै देखिएको एमसीसी विवाद लामो समयसम्म रहेको र त्यसलाई संसदबाट पास गर्न नहुने मत बलियो बन्दै गएपछि शीर्ष नेताहरुले भने विवाद मत्थर पार्न सचिवालय बैठक बोलाउन केपी शर्मा ओलीलाई आग्रह गर्दै आएका थिए । शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीसग भेट गरेपछि आइतबार बैठब बोलाउन सहमत भएका थिए । एमसीसी र संसदमा प्रस्तुत भएको बजेट पास गराउने विषयमा सत्तारुढ दलको सचिवायल बैठक आइतबार चार बजेलाई बोलाइएको भएपनि त्यसअघि नै शीर्ष नेताहरुबीच न्यूनतमा सहमति गर्दै एमसीसीको विवाद सुल्झाउने तयारी लागेकै बेला बैठक स्थगित भएको थियो । शीर्ष नेताहरु एमसीसीको विवाद मिलाउन खोजिरहेका बेला ओली भने बैठक टार्न थालेको नेकपा एक नेताको दावी छ ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले यसलाई कसरी टुङ्गो लगाउने भन्ने बारेमा निरन्तर छलफल गरिरहेका छन् । ‘तीन नेताहरुले यो विषयमा सघन रुपले छलफल गरिरहनुभएको छ उहाँहरुले नै निकास निकाल्नु हुन्छ भन्ने हामीलाई विश्वास छ’, सचिवालयका एक सदस्यले भने । उनका अनुसार एमसीसी अमेरिकी सैन्य रणनीति अर्न्तगत आएको सहयोग हो कि होइन भन्ने बारेमा अमेरिकी सरकारसँग एक पटक सोधेर मात्रै संसदबाट पास गर्ने भनेर छलफल अघि बढिरहेको छ । स्रोतका अनुसार लकडाउनकै समयमा पनि वरिष्ठ नेपाललाई स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र भीम रावलले भेटेर आफ्ना राय दिइरहेका छन् । उनीहरुले एमसीसी पास गर्ने हो भने पनि मुलुकको हितमा नभएका बुँदा सच्याएर मात्रै पास गर्न सुझाव दिएका छन् ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि दुवै अध्यक्षले एमसीसीबारे छलफल गरेका छन् । सचिवालयमा एमसीसीबारे अध्यक्ष ओली अल्पमत रहेपनि सरकारलाई अप्ठ्यरो पार्नु हुँदैन भन्ने बारेमा भने सबै नेताहरु एकमत भएका बेला एक पटक अमेरिकी सरकारसँग एमसीसी परियोजनाबारे जानकारी माग्ने बारेमा ओलीबाहेक सबै नेताहरु सहमत हुने देखिएको छ । ओलीले भने अघिल्लो सरकारले ल्याएको राम्रो कार्यक्रमलाई यो सरकारले निरन्तरता दिन लागेको भन्दै यसलाई संसदबाट पास गराउनु पर्ने पक्षमा उभिएका छन् । संसदमा एकैपटक लैजाँदा पार्टीभित्रको विवाद झन छताछुल्ल हुने र पार्टीकै सांसदहरु पक्ष र विपक्षमा उभिने हुँदा त्यसको असर पार्टीलाई पर्ने भएकाले शीर्ष नेताहरुले पार्टीभित्रै विवाद मिलाएर संसदमा लैजाने सुझाव दिइरहेका छन् ।
एमसीसी पास नगर्दा पार्टीका शीर्ष नेताहरुलाई अमेरिका विरोधि भएको आरोप लाग्ने र जर्वजस्ती परियोजनालाई अमेरिकी सैन्य रणनीतिसँग जोडेर हेर्ने काम भएको भन्दै नेताहरुले यसलाई पार्टीभित्रै विवाद मिलाउन खोजिरहेको नेकपा स्रोतले जनाएको छ । केही समय अघि बसेको सचिवालय बैठकमा एमसीसी विरोधि स्थायी कमिटीका केही सदस्यलाई पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो । बैठकमा आमन्त्रित सदस्यहरुले पनि यथास्थितिमा एमसिसी पास नगराउन नेतृत्वलाई सुझाव दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एमसिसी जस्ताको तस्तै पास गराउने पक्षमा भएपनि अहिले थप छलफल गर्न राजी भएको नेकपा स्रोतले जनाएको छ ।
सचिवालय सदस्य झलनाथ खनाललगायत स्थायी कमिटीका केही सदस्य यथास्थितिमा एमसिसी पास गराउन नहुने पक्षमा छन् । यसले गर्दा विवाद चुलिदै गएको छ । अघिल्ला दुई बैठकमा सचिवालयका सदस्यहरुले स्थायी कमिटीका सदस्य भीमबहादुर रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, देवप्रसाद गुरुङ, अर्थमन्त्री युवराज खतिवडा, एमसिसी नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टसँग सो परियोजनाबारे छलफल गरेका थिए । पार्टीले एमसिसी अध्ययन गर्न बनाएको कार्यदलका संयोजकसमेत रहेका खनाल र सदस्य रावलले अमेरिकी सैन्य रणनीति अन्तर्गतको परियोजना भएकाले यसलाई जस्ताका तस्तै संसद्बाट पास गर्न नहुने धारणा राखिरहेका छन् ।
माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समिति बैठकमा धेरैजसो सदस्य एमसिसीको विपक्षमा उभिएपछि पार्टीले त्यसबारे स्पष्ट हुन तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलको संयोजक वरिष्ठ नेता खनाल तथा सदस्य स्थायी कमिटी सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए । नेकपाभित्र एमसिसीको चर्को विरोध भइरहे पनि सरकार संसद्बाट पारित गर्ने रणनीतिमा लागेपछि शीर्ष नेताहरुले सहजीकरणको माध्यम खोजिरहेका छन ।




