ताजा समाचार

मगर जातिकाे मानवशास्त्रीय अध्ययन

नेपालमा सूचीकृत जनजातिमध्ये मगर जाति पनि एक हो । आधुनिक नेपाल निर्माणमा मगर जातिको उल्लेखनीय योगदान रहेको छ । नेपालमा मगर जातिको आगमन अर्थात् उत्पत्ति कसरी भयो भन्ने सन्दर्भमा विभिन्न भनाइहरू रहेका पाइन्छन् ।
मगर जातिको उद्गम थलो तिब्बत रहेको र त्यहीँबाट मुस्ताङ हुँदै नेपालमा मगर जाति प्रवेश गरेको इतिहास पाइन्छ । मगरहरू मुस्ताङ, रुकुम, रोल्पा, म्याग्दी, पर्वत, बाङलुङ तथा रसुवा जिल्लाबाट मगर जाति धादिङ, नुवाकोट र गोरखामा प्रवेश गरिएको अनुमान छ । तिब्बतका हुण जातिसँग मगर जाति नेपाल आएका हुन् सक्ने अनुमान गरिएको छ । अझ कसैले त मगर नै हुण भनेका छन् । यसरी प्राचीन कालदेखि नै मगर जाति छरिएर साना–साना राज्य खडा गरेर बसेका थिए । मगर जातिको पहिलो हस्तलिखित ग्रन्थ इ.सं.१०५० को ‘अष्टसहश्रिका प्रज्ञापारमिता’ हो । जुन ग्रन्थ मगर जातिको बारेमा लेखिएको हुँदा यो नै प्रमाणित प्रमाण हुन् । त्यस्तै मगर भाषामा लेखिएको वंशावली समेत आफूहरूसँग सुरक्षित रहेको दाबी गर्छन् मगरहरू ।

नेपालको लिपिबद्ध सामग्रीमा मगरहरूको पहिलो उल्लेख इ.१०५६ को एक हस्तलिखित ग्रन्थ अष्ट सह स्राका प्रज्ञा पारमितामा परेको छ । यो ग्रन्थ सार्ने व्यक्ति मगर थिए भनिन्छ । इस्वी ११०० तिरको एक ताम्रपत्रमा मग्वर विषय (मगर जिल्ला) कै उल्लेख पाइन्छ । पाल्पाको सेन राजा गोरखाको शाह राज्य र काठमाडौँको मल्ल राज्यमा समेत मगरहरू महŒवपूर्ण पदमा रहेको प्रमाण पाइन्छ । बाबुराम आचार्यका विचारमा क्षत्रियहरूबाट सनातन धर्मको शिक्षा पाई उन्नत भएका केही मगरहरूलाई गोरखाली राजाले भारदारमा नियुक्ति गरी उच्च अफिसर पदमा नियुक्ति पाउन तागाधारी हुनुपर्ने बाध्यताले गर्दा कतिपय मगर सैनिकहरूले उच्च पद हासिल गर्ने जनै लगाए । बुडा (बुढाथोकी), राना, थापा, घर्ती भन्ने थर (surname) मगर र क्षत्री दुवै जातिमा पाइन्छ ।

केही इतिहासकारहरूले मगरहरूलाई भारतको सिन्धु नदीको आसपासको उर्वरा भूमिमा बसोबास गर्ने जाति हुन् र कालान्तरमा राजनीतिक तथा आर्थिक कारणले लगभग ३५०० इ.पू.मा नै नेपाल पसेका हुन् भन्ने अनुमान लगाएका छन् । तर यस अनुमानलाई खिलध्वज थापाले निराधार मानेका छन् । किनभने आज भारतमा मङ्गोलियन जातिका मानिसहरू नगण्य सङ्ख्यामा छन् । जो छन् ती पनि नेपाल अथवा भोटबाट गएका हुन् । यसका विपरीत, छिमेकी देश चीनका चिनियाँ जनता शतप्रतिशत मङ्गोलियन हुन् । तिनीहरू भारतबाट चीन गएका हैनन् । यसैले कहिल्यै पनि भारत मङ्गोलियनहरूको निवासस्थान भएन । भारतको इतिहासले भारतलाई प्राचीन आर्यभूमि स्विकारेको छ । तर मङ्गोलियन इतिहासले कहिल्यै पनि आर्य धर्मलाई स्विकारेन । नेपालमा मगर, गुरुङ, जातिहरू खास गरेर मगरहरू तान्त्रिक मतका विश्वासी थिए । यद्यपि तान्त्रिक मत, कुनै क्रमिक दर्शन नभएर एक विश्वास मात्र थियो तापनि त्यस बेला नेपाल, भोटमा यस मतको आस्था कति बलियो थियो भने पछि आएर यसले बौद्ध र हिन्दूधर्ममाथि ठूलो प्रभाव पार्यो । तान्त्रिक मत कुनै धर्मको उपज थिएन न कुनै धर्मालवम्बीहरूको देन नै थियो । वास्तवमा यी मगर जातिको विशुद्ध परम्परा थियो । यस परम्पराले बौद्ध धर्मलाई मात्र प्रभावित तुल्याएको होइन अपितु बौद्ध धर्मले पनि यस मतका विश्वासी, मगरहरूको विचारधारामा केही परिवर्तन ल्याइदियो । त्यसैले यस जातिमा बौद्ध धर्मको केही परिलक्षणहरू पाइन्छन् । यसबाट के स्पष्ट हुन्छ भने यी मगरहरू नेपालमा बौद्धहरूको आगमनभन्दा पहिले अथवा काठमाडौँ उपत्यका बसोबासयोग्य भूमि हुनुभन्दा अगावै उत्तरतिरबाट नेपाल आई बसेका थिए भनेर खिलध्वज थापाको तर्क छ ।२ ‘हङ्गेरीको जनश्रुतिअनुसार उनीहरूको जनधारणा के छ भने उनीहरूको उद्गमस्थल मध्य–एसिया हो र कालान्तरमा युरोपमा प्रवेश गरी Hun भन्ने दाजु तथा Magyar भन्ने भाइको संयुक्त नामबाट Hungary देशको नामकरण भएको थियो । हूणका सन्तान खैवरघाटीबाट भारत पसेका थिए भने मग्यारको सन्तान चीन र तिब्बत हुँदै नेपालमा पसेका थिए । मगरहरू पनि मध्य–एसियादेखि नेपाल पसेका हुँदा मगर र मग्यार दुवैको पुख्र्यौली एउटै हुनुपर्दछ भन्ने तथ्य पहिल्याउने उद्देश्यले अध्ययन–भ्रमणमा हामी नेपाल आएका छौँ ।’ यो अभिव्यक्ति हो श्रीमती वोडा सरोल्टाको । प्रमाणका रूपमा के पनि लिन सकिन्छ भने विश्वप्रसिद्ध भाषाविद् मोरिस स्वेडेशद्वारा निर्धारित मापदण्डअन्तर्गत गत अक्टुबर १९९५ इ. मा गरिएको एक सर्वेक्षणमा मगर र मग्यार भाषाका शब्दहरूमा २०५ (बीस प्रतिशत) समानता ठहर हुन आएको छ ।

अघि पाल्पा जिल्ला विशाल मगरातको एक मुख्य भाग थियो । यहाँ मगरहरूको ठूलो बस्ती भएको कुरा ह्यामिल्टनले पनि आफ्नो एक पुस्तक ‘एन एकाउन्ट अफ द किङ्गडम अफ नेपाल’ मा लेखेको पाइन्छ । उनको भनाइअनुसार यस क्षेत्रमा सेनहरूको प्रभुत्व हुनुअगाडि यहाँका हर्ताकर्ता मगरहरू नै थिए । त्यस बेला यहाँ मगरहरू सबभन्दा ठूलो सङ्ख्यामा रहे तापनि सेनवंशको अन्त्य भएपछि अरू जनजातिहरूको तुलनामा यिनीहरूको सङ्ख्या तेस्रो स्थानमा पर्न आयो ।
यस दृष्टिकोणले पाल्पा जिल्लालाई मगरहरूको मुख्य थलो मान्नु अनुपयुक्त हुने छैन । हूणहरू हङ्गेरी र रोमलाई थर्काउनुका साथै पूर्वमा बेजिङसम्म पुगेका थिए । मङ्गोलियाको मगर सेनाले भोट तिब्बतदेखि लिएर मध्य–नेपालसमेत कब्जा गरेका थिए । नेपालको यस भू–भागलाई मगरात भनिन्थ्यो भने प्रो. टुचीको भनाइ छ ।
उपर्युक्त प्रसङ्गहरूबाट के कुरा स्पष्ट हुन्छ भने ऐतिहासिक कालमा समेत मगरातको भौगोलिक आकार ज्यादै विशाल थियो । तर विडम्बना के भइदियो भने तत्कालीन मगरातका गौरवशाली ऐतिहासिक चिह्नहरूले स्थापित गरेका डोब पहिल्याउनका लागि अनुसन्धान गर्ने काम अझै बाँकी नै रह्यो । मगर जाति प्राचीन कालमा किराती र नागा किरातीमा विभाजित थिए । यी दुवै मङ्गोलियन मूलका हुन् भनी अड्कल गरिएको छ । मगर जाति भारत, भुटान र बर्मामा पनि छन् । पाल्पाका शासक मुकुन्द सेनले आफ्नो शासनकालमा मगरलाई सेना प्रमुख बनाएका थिए । पाल्पाका सेन राज्यले काठमाडाँैँ आक्रमण गर्दा पनि मगरको जमातलाई लड्न पठाइएको थियो । त्यसताका काठमाडाँैमा मल्लराज्य थियो । मल्लराज्य हँुदा नै उमरा जस्तो महत्वपूर्ण पदमा मगरलाई नै नियुक्ति गरिएको पाइन्छ ।

मगरको पुख्र्यौली इतिहास ठकुरीबाट जन्म भएको हो । ठकुरी जातिले सुँगुरलाई पहिलेदेखि नै नछुने र नल्याउने गर्दथे । त्यही परम्पराले गर्दा ठकुरी राजाले आफ्नो मुलुकमा सुँगुरको नामनिसाना नरहोस् भन्ने हुकुम दिए । राजाको आज्ञालाई शिरोपर गरेर सबैले सुँगुरलाई छिःछिः दुरदुर गर्न थाले । यस परम्पराले गर्दा सुँगुर देशबाट मासिन थाल्यो । आठदस वर्षपछि गोरखा राज्यमा यौटा सुँगुर पनि पाइन छाड्यो । यसरी सुँगुर मासिएको देखेर गोरखा राज्यमा यौटा आपत्तिको बीज टुसाउन थाल्यो । परम्परागत धार्मिक विश्वासले जग हालेको गोरखा राज्यमा दैवी सङ्कटले राजदरबारमा र देशमा पिर्ने काम सुरु भयो । गोरखाको भैरवीको पूजा सुँगुरको बलि दिएपछि मात्र सुरु हुने परम्परा थियो त्यस बेला । पछि बल्ल कालिका र गोरखानाथको पूजा सुरु हुन पुग्छ । त्यो परम्परा अहिलेसम्म पनि ज्यूँका त्यूँ नै रूपले चलिरहेको छ र त्यसअनुरूप गोरखामा रहेको असली भैरवीले सुँगुरको भोग नखाई रहनै सक्तिनन् । तर सुँगुरै मासिएर भोग खान नपाएका भैरवीले रिसको झोकमा दरबारभित्र उपद्र मच्चाउन थालिन् । यसरी उठेको उपद्रको मुख्य कारण थाहा पाउन राजाबाट आफ्ना जोतिषीलाई यो के भएको र किन पिरिन थालेको भनेर सोधनी भयो । जोतिषीले मूल कारण थाहा पाएर पनि राजाको आज्ञालाई अवहेलना गरेको भन्ने दोष लाग्ला भन्ने डरले वास्तविक कुरा बताउन सकेनन् । उनले राज्यका सबै ज्योतिषीहरू र जान्नेबुझ्ने सबैको राय लिन थाले । पछि जोतिषी र अरू सबैको मतले भैरवीले सुँगुर भोग खान नपाएकाले यस्तो गडबडी भएको भन्ने ठहर गरेपछि सबैले राजाको अगाडि वास्तविक तथ्य बिन्ती चढाए । पछि राजाबाट सुँगुर खोजेर भैरवीलाई भोग दिनू भन्ने हुकुम भयो । सुँगुर खोज्ने काम सुरु गरे तापनि सुँगुर कतै पाइएन । बल्लतल्ल यौटी आइमाईले माटोमुनि खनेर खोर बनाएर पालेकी छे भन्ने कुराको खबर थाहा हुन्छ । खोजी गर्ने व्यक्तिले लुकीकन सुँगुर पालेकी त्यस आइमाईलाई फेला पारे । गाउँको मुखियाको साथमा त्यस आइमाईलाई झिकाइयो । सोधपुछ र केरकार गर्दा साबित भयो । आइमाई राजाबाट सजाय पाइएला भनेर डराउन थाली । पछि सजाय पाउनुका सट्टा त्यसलाई प्रशस्त इनाम दिएर त्यस सुँगुरलाई भैरवीको स्थानमा ल्याइयो । सुँगुर ल्याएपछि देशमा उपद्र हुने काम रोकियो । त्यसपछि भैरवीको पूजा अब कसले गर्ने भन्ने प्रश्न उठ्न थाल्यो । राजा त ठकुरी थिए । फेरि ठकुरीले सुँगुर छुन हुँदैन भन्ने चलनले गर्दा कसैले पनि छुँदैनथे । राजाका तीन चार भाइ छोरा थिए । त्यत्तिकैमा कोही पनि अघि नसरेको देखेर कान्छोचाहिँ म पूजा गर्छु भनेर अघि सरे । अनि कान्छा भाइको नाम मगर भयो । ठकुरीबाट मगर भए । त्यसैले मगरको पुख्र्यौली ठकुरीसित सुरक्षित छ भन्ने विश्वास मगर जातिले लिएका छन् । पुख्र्यौली इतिहास उही भए तापनि मगर र ठकुरी अलग हुन् ।

डा.प्रपन्नाचार्यले, कतैकतै बौद्धमार्गी भए पनि मगरहरू शुद्ध किरात क्षत्रिय नै हुन् । यिनीहरूले सुँगुर तथा जाँड, रक्सी खान सुरु गरेको छ– सात सय वर्षभन्दा धेरै भएको छैन । काठमाडौँदेखि पश्चिमका मगरहरू धेरै पछि पनि जनैधारी नै थिए । लगभग गुरुङहरू आफ्नो बोलीलाई ‘तमु–माई’ अनि आफ्नो मुलुकलाई ‘तुम–माई ह्युला’ भन्दछन् । ह्युला शब्दको तिब्बती युल् (देश) सँग तिब्बती ग्रन्थ ‘जाम लिङ्ग ग्येशे’मा नेपालको विवरण दिँदा यो देशमा ‘मोन’ जातिका ‘ग्युरिङ’ पनि छन् जो बोन धर्म मान्दछन् भनी भनेका छन् ।

एस्.के.चटर्जीका अनुसार इस्वी साताँै शताब्दीमा बोड (Bod) भनी चिनिने भोटका बासिन्दाहरू एउटा सङ्गठित एवम् शक्तिशाली जनजातिमा गनिन्थे । तिनीहरूले आफ्नो विशिष्ट संस्कृतिको विकास तिब्बतको भूमिमा गरेका थिए । बोन धर्मलाई तिनीहरूले नै स्थापित गरेका थिए । त्यस बेलासम्म बौद्ध धर्मले त्यहाँ प्रवेश पाएको थिएन । सातौँ शताब्दी (इ.) का मध्यतिर तिब्बतीहरूका राजा स्रोङ चोङ गम्पोले बौद्ध धर्म अँगालेका थिए ।

माइकल ओपिजद्वारा सम्पादित उत्तरी मगरहरूको उद्गम कथाहरूमा (Origin Stories of The Northern Magar) हुकामका बुढामगरहरूको लिखित वंशावली, टकका घर्तीमगरको अलिखित वंशावली तथा पुनमगरको उक्त दुई थरहरू मगर र घर्तीमगरसँगको वैवाहिक सम्बन्ध आदि रोचक ढङ्गले विस्तृत रूपमा उल्लेख भएको छ, जसमा लेखकले रणप्रसाद घर्तीमगरप्रति आवश्यक सामग्री जुटाइदिने काममा गरेको ठूलो योगदानका निम्ति कृतज्ञता व्यक्त गरेका छन् । प्रस्तुत कार्यपत्रमा यी सामग्रीहरू समेट्न आसामभव भएको हुँदा यहाँ रेकर्डको निम्ति त्यसबारे जानकारीसम्म गराएको छु । (नेपाली बृहत् शब्दकोशमा, वि.सं. २०४०ः २०४०-३७१) ‘घर्तीको अर्थ : नेपालमा दासत्वबाट मुक्त भएपछि बनेको एक वर्ग, क्षत्रीको एक थर’ भनी उल्लेख भएकोमा नेपालको उत्तरी मागमा रोल्पा, रुकुम आदिका मगरहरूको पनि ‘घर्ती’ थर भएको हुँदा घर्ती शीर्षकअन्तर्गत ‘मगरको पनि एक थर’ भनी शब्दकोशमा संशोधन गरिनुपर्ने आवश्यकता औँल्याउनु यहाँ सान्दर्भिक नै हुनेछ ।

यसबाहेक थापा, राना, आले, रोका आदि मगर थरहरूका व्यक्तिहरूसित पनि लेख्य तथा कथ्य रूपमा आआफ्ना वंशावलीहरू निश्चित रूपले हुनुपर्दछ । अतः सम्बन्धित व्यक्तिहरूको सक्रियतामा यस्ता वंशावली कहाँ र कोसित छ पत्तो लगाई ती ऐतिहासिक सम्पत्ति सङ्कलन गर्न सकिएमा हङ्गेरीका मग्यार जातिको संस्कृतिसित तुलनात्मक अध्ययन र अनुसन्धान गर्ने भन्ने भर्खरै मात्र स्थापित नेपाल–हङ्गेरी मैत्री सङ्घको जुन पावन उद्देश्य छ, त्यसको परिपूर्तिमा ठूलो टेवा पुग्ने थियो भन्न अत्युक्ति नहोला ।६ नेपाल एकीकरण हुनुअगाडि बाइसे राज्य थियो । ती राज्यमध्ये १२ मगर राज्य थिए । मगर राज्यलाई पछि मगरात भनिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । मगर जातिको इतिहास नेपालको शाहवंशसँग जोडिएको छ । गोरखाका राजाहरूले नेपाल एकीकरणताका मगरहरूकै सहायता लिएका थिए । अन्ततः लडाइँमा विजय प्राप्त गरेको पनि देखिन्छ । नुवाकोट आक्रमण गर्दा गोरखाका राजा नरभूपाल शाहले जयन्त रानालाई काजी र पृथ्वीनारायण शाहले विजय थापालाई सेनापतिको पद दिएका थिए । यी दुवै व्यक्ति मगर थिए । बलिया, इमानदार र निडर भएका कारणले नै पृथ्वीनारायण शाहले मगरहरूलाई बढी विश्वास गर्थे । त्यसैले मगरहरूलाई क्षत्रीको स्थान दिइएको थियो । एकीकरणको सिलसिलामा गोरखाका राजा पृथ्वीले जहाँजहाँ जित्दै गए त्यहाँत्यहाँ मगरहरूको बसोबास रहँदै गएको देखिन्छ । वि.सं. १८०१ असोज १५ गते शनिबारका दिन नुवाकोट जितेपश्चात् नुवाकोटको भैरुमकोट, सामरी र खानीगाउ‘मा मगरहरू बसेको इतिहासमा पाइन्छ । त्यस्तै काठमाडॉै उपत्यकामा शासन चलाउनका लागि पृथ्वीनारायणले मगर युवाहरूको समूहलाई सैन्य तालिम दिएका थिए । मगरहरूकै जिम्मामा सैन्य दस्ताको रूपमा काला पल्टन र गोरा पल्टन स्थापना गरिएको थियो । सो पल्टन अहिले कालीबहादुर गण र गोरा पल्टन गोरखा गण नामले चिनिन्छ ।

नालापानीमा अङ्ग्रेजसँगको युद्घमा पनि मगरहरू नै संलग्न भई लडेका थिए । नेपालको प्रथम सहिद लखन थापा हुन् । उनी मगर नै हुन् । गोरखास्थित बुङकोटबासीले प्रत्येक वर्षको पुस महिनाको पहिलो हप्ता लखन थापालाई भयरी देउताको रूपमा पुजी पञ्च बलिसमेत दिने गर्दछन् । त्यस्तै नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा पनि मगर नै रहेको बताइन्छ ।

बेलायतको तर्फबाट प्रथम र दोस्रो विश्वयुद्धमा लडेका थिए नेपालका मगर जातिले । युद्धमा आफ्नो ज्यानलाई नै आहुति दिएर लडेका हुनाले नै बेलायत सरकारले सम्मानपूर्वक मगर सेनालाई भिक्टोरिया क्रस पदक दिएको थियो । विश्वको परिवेशमा जुन सम्मान उच्च मानिन्छ । तसर्थ नेपालको इतिहासमा मगरहरूको योगदान अतुलनीय रहेको पाइन्छ ।

मगर नाम (थर) कसरी रहन गयो भन्ने सन्दर्भमा विभिन्न तर्कवितर्कहरू रहेका छन् । मगरलाई पाँचथर, इलामतिर मङ्गर, रोल्पा, रुकुम, प्युठान, पाल्पातिर परै, सिक्किमतिर प्वाङ, जुम्ला, डोटी, कुमाउतिर ‘महर’ भनिन्छ । विदेशी विद्वान् लेखक कर्कटप्याट्रिकले नेपाल घुम्न आएका बेला मगरलाई ‘मुग्गर’ भनेर लेखेका छन् । स्थानीय बूढापाकाहरू यस जातिका व्यक्तिले जुनसुकै काम गर्न तम्सने र म गर्छु भनेकाले मगर रहन गएको तर्क गर्छन् । यिनीहरू मङ्गोलियन भएकाले मङ्गोल भनियो । बोलीचालीको क्रममा मङ्गोलबाट मगर रहन गएको भन्ने अर्को तर्क छ ।
मगरहरू नेपालको गोरखा, पाल्पा, नवलपरासी, रुकुम, रोल्पा, सुर्खेत, दैलेख, दाङ, अर्घाखाची, वाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, जाजरकोट, नुवाकोट आदि जिल्लाहरूका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । वि.सं. २०५८ को राष्ट्रिय जनगणनाले मगरको जनसङ्ख्या १६,२२,४२१ देखाएको थियो भने २०६८ ले १०,१३,३१७ महिला र ८,७४,४१६ पुरुष गरी जम्मा १८,८७,७३३ देखाएको छ ।

पहाडमा बस्ने मगरहरूको घर बाटुलो अण्डाकारको र पाखे हुन्छ । घर प्रायजसो दुईतले हुन्छ । घर ढुङ्गा, माटो र काठले बनेको हुन्छ भने छाना खर तथा ढुङ्गाको सिलोटले छाएको हुन्छ । त्यस्तै घरको बाहिरी भाग र गारोमा रातो र सेतो (कमेरो) माटोले पोतिएको हुन्छ । भुइँतलामा अगेना (चुलो) र माथिल्लो तलामा अन्नपात राख्ने र सुत्ने कोठा हुन्छ । प्रायजसो घरअगाडि बरन्डा निकालिएको हुन्छ । मगर गाउँ झुरुप्प रहेको हुन्छ । समाजमा आइपरेका समस्याहरूलाई सामूहिक रूपमा समाधान गर्ने गर्दछन् । गाउँमा सामान्य झैझगडा भएको बेलामा पनि सबै गाउँले एकत्रित भई मेलमिलाप गराउँछन् ।

हिमालमा बस्ने मगरका घर ढुङ्गा र बढी मात्रामा काठ प्रयोग गरेर बनाइएका हुन्छन् । अहिले अलि आर्थिक रूपमा सम्पन्न हुनेहरूले रड, सिमेन्ट, ढुङ्गा, इँटा आदि जडान गर्नुका साथै ढलान गरी घर बनाउन पनि थालेका छन् । पहाडी जनजीवन कष्टकर हुने हुँदा अहिले पहाडी क्षेत्रमा बसोबास गर्ने मगरहरू तराईतिर बसाइँ सर्न थालेको देखिन्छ । तराईको माटो उर्बर हुने हुँदा खेतीपाती गर्नका लागि नै बसाइँ सर्नाको मुख्य कारण देखिन्छ ।

थेप्चो नाक, सानो टाउको, चेप्टो ढाड, बटारिएका पिँडौला र दारीजँुगा थोरै देखिने यस जातिले पहिरनको हकमा पुरुषहरूले भोटो, कछाड, लगौटी, इस्टकोट र टोपी लगउँछन् भने कम्मरमा पटुका कसेर खुकुरी भिर्छन् । त्यस्तै महिलाहरू गुन्यूचोली, पुटुका, भाङ्ग्रा लगाउँछन् भने गहनाको हकमा सुन र चाँदीबाट निर्मित वस्तुहरू लगाउँछन् । नेपालमा अन्य जातिका महिलाहरूले भन्दा यस जातिका महिलाहरूले गरगहना धेरै लगाउँछन् । तर अहिलेको युवापुस्ताको पहिरन आधुनिकतातर्फ ढल्किसकेको छ ।

हिमाली क्षेत्रमा बसोबास गर्नेहरू बौद्ध धर्म र पहाडी क्षेत्रमा बसोबास गर्ने मगरहरू हिन्दूधर्म मान्छन् । यी दुवै धर्मको रीतअनुसार नै जीवन चलाउँदै आएका छन् । दसैँ–तिहार, माघे सङ्क्रान्ति, शिवरात्रि, फागुपूर्णिमा, कृष्णअष्टमी, चैतेदसैँ, नयाँ वर्ष, बुद्धजयन्ती, रक्षाबन्धन जस्ता चाडपर्व मान्ने मगरहरू साउने सङ्क्रान्ति विशेष सर्तकतासाथ मान्छन् । यस महिनामा पशुहरूको रक्षाको लागि गोठपूजा गर्नका साथै लुतो फाल्ने कार्य गरिन्छ । साउन महिनालाई अँध्यारो महिनाको रूपमा लिने यस जातिले सुख र रमाइलोको अनुभव गर्दैन । साउन महिनाको सुरुवातीका दिनमा धामीझॉव्रmी घरमा डाकी बाढीपहिरो, अनिकाल, रोगव्याधि नआओस् भनी देवीदेवताहरूसँग पुकार गर्ने चलन छ । यी सबै कार्य रातको समयमा गरिन्छ ।

माघे सङ्क्रान्ति पर्वलाई मगरहरू पितृ चाडको रूपमा लिन्छन् । मृत भएकाहरूलाई पिण्ड दिएको खण्डमा मृतकको आत्माले शान्ति पाउँछ भन्ने विश्वास गर्छन् मगरहरू । सङ्क्रान्तिको बिहानीपख मृतकका छोराले घरनजिकै रहेको खोला वा पँधेरामा गई पिण्ड सेलाउँछन् ।

जुनसुकै भेगमा बसे तापनि मगरहरू सदियौँदेखि निरन्तर रूपमा चल्दै आएको प्राचीन धर्मतन्त्र विधालाई नै स्विर्काछन् । मगर समुदायमा जस्तोसुकै रोग लाग्दा होस् वा जीवजन्तुले टोक्दा, डस्दा धामीझॉक्री राख्ने चलन छ । उनीहरू लामागुरुले झारफुक गरेमा निको हुने विश्वास राख्छन् । अझ यी जातिमा जोखाना हेर्ने काम महŒवपूर्ण मानिन्छ । भूत, वर्तमान र भविष्यमा मानवजीवनमा हुने सकारात्मक वा नकारात्मक कुराहरूको भविष्यवाणी जोखानाको क्रममा थाहा हुनेसमेत विश्वास राख्छन् मगर जाति ।

मगरहरूका जातीय देवतादेवीहरूमा भोग खाने र धूप खाने हुन्छन् । भोग खाने देवतादेवीलाई बाजे र बज्यै भन्ने गर्दछन् र उनीहरूको सामूहिक पूजा खास गरी मङ्सिर महिनामा दुईवटा सुँगुर काटेर गरिन्छ । एक किंवदन्तीअनुसार पहिले एक ठाउँमा मगर बूढाबूढी आफ्ना छोराछोरी र नातिनातिनाहरूसित बस्दथे । छोराछोरी दिउँसो काममा गएका बेला बाजेबजैले नातिनातिनाको मुटु र कलेजा निकाली खाने गरेको कुरा चाल पाएपछि बूढाचाहिँलाई ठूलो माटोको भाँडामा र बूढीचाहिँलाई छालाको बोरामा बाँधेर नदीमा फालिदिए । तर संयोगवंश ती बूढाबूढी पुनः उत्रे र सो परिवार तथा गाउँघरका मानिसलाई दुःख दिन थाले । तिनै बूढाबूढीका आत्मालाई मगरहरू बर्सेनि पूजा गरेर शान्त राख्न खोज्दछन् ।

अर्को एक देवतालाई मगरहरू ‘मण्डले’ भन्दछन् र यी देवता माथि उल्लिखित बाजेबजैहरूका मामा हुन् भन्ने विश्वास पाइन्छ । एक दिन कुनै तान्त्रिक मगरकी स्वास्नीले सुँगुरको मासु खाने इच्छा गरिन् रे । सो तान्त्रिकले सुँगुर समात्न जानुभन्दा अगाडि स्वास्नीलाई केही चामल मन्त्र गरेर दिएर सुँगुर लिएर घर फर्कंदा बाघका रूपमा फर्कने भएकाले स्वास्नीले चामल छर्केपछि ती पुनः मानिसको रूप धारण गर्न सक्ने कुरा सिकाएका थिए । तर बाघका रूपमा आएको लोग्नेलाई नचिनी उसकी स्वास्नीले चामल छर्कन बिर्सिछ र फलस्वरूप सो तान्त्रिक बाघका रूपमै रहिरह्यो । उसै बाघरूपी ‘मण्डले’ को पूजा मङ्सिर महिनामा सामूहिक रूपले गर्दा एउटा सुँगुर चढाइन्छ र तिनलाई खुसी राख्न सकियो भने बाघले मान्छे वा गाईबाख्रा खाँदैन भन्ने धारणा कतिपय मगरहरूमा पाइन्छ ।

प्रायः सबै ठाउँमा मगरहरूले आफ्नो कुलदेवतालाई थरीय परम्पराअनुसार पूजा गर्ने गरेको पाइन्छ । एकआपसमा कुल मिलेमा आफूलाई दाजुभाइका रूपमा सम्झने गर्दछन् । यो कुलपूजाको चलन करिब सातौँ शताब्दीतिर भएको हो भन्ने गरिन्छ । वराहलाई कुलदेवताको रूपमा पूजा गर्ने मगरहरूले तीन वर्षभित्रमा वैशाख अथवा मङ्सिर महिनाको पूर्णिमामा मात्र कुलपूजा गर्ने गर्दछन् ।

मगरका घर्ती, थापा, पुन, थुमसिङ, आग्री, भस्की, आले, पुलामी, रूपाली, दुम्जाली, रेश्मी, सारू, पेमी, श्रीस, लङ्कपति, बराल, खासु, दर्माली, ठाडा, देगा, वीरपेमी, बुचा, पाटा, पुपार, ढेडे, पिर्ता, भुजेल, वेर, कोम्की, सोम, राना, छन्त्याल, सिठारी, गुरुङचन, भुरुङचन, एसमाली, रेवाली, हिस्की, बुढाथोकी, रगाल, बेङलासी आदि थरहरू रहेका छन् ।
यीबाहेक पश्चिम नेपालको वाग्लुङ जिल्लास्थित निसीभुजी क्षेत्रमा मगरहरूको ठूलो बस्ती छ । निसी खोलाको किनारमा बस्ने मगरहरूलाई निसेल र भुजी खोलाको किनारमा बस्नेहरूलाई भुजेल मगर भनिन्छ । यस्तै पूर्वी नेपालको उदयपुर जिल्लास्थित लेखानी क्षेत्रमा बसोबास गर्ने एक थरी मगरलाई खानीवाल मगर भनिन्छ । जसले मगर कुरा बिर्सिसकेकाले नेपाली नै बोल्छन्, तर राम्रो फट्कार्न नसक्ने हुनाले सुर्तीलाई सुतिर, खुर्सानीलाई खोस्रानी, तरुललाई त्रुल आदि भन्दछन् । यिनीहरू तिमीलाई ‘इंत’ भन्दछन् ।

मगरहरूलाई विभिन्न विद्वान् इतिहासकारहरूले विभिन्न थर र समूहमा विभाजन गरेको पाइन्छ । टोकिया विश्वविद्यालयका प्राध्यापक कविताले मगर जातिलाई मुख्यतया दुई थरीमा विभाजन गरेका छन्– अठार पन्थी र चौध पन्थी । उनले छत्याललाई अठार पन्थी मगरहरूमा र अरू मगरहरूलाई चौध पन्थीमा समावेश गरेका छन् । उनले चौध–पन्थीअन्र्तगत यी थरहरू समावेश गरेका छन्–तिलेजा, पूर्जा, गरबुजा, बुङजा, पाइजा, आरामजा, चउचुङ्गी, खौरौजा, फोकने, पुन, रतिजा, रोकाई, संरपूजा, सङ्जाली र धजाली ।१० छन्त्यालहरू धौलागिरि अञ्चलको म्यादी जिल्लाको कुइने, मलङ्पार, मलकवाङ, दाडाखानी, चौर, ल्यासखर्क, गुर्जा छापा, मङ्गलेखानी, नर्जाखानी, बोज, बोङदोभान, गयाखेत, कायाकिटनी, बाहुन, मुस्ताङ, जिल्लाको घास आदि गाउँमा बसोबास गरेको पाइन्छ ।११ पर्वत जिल्लामा पाइने मगरहरूलाई पनि दुई समूहमा विभाजित गरिएको छ –छत्याल र म्यार । पर्वतको छान्टुङ गाउँमा पहिले बसोबास गरेकाले छत्याल गनिएको हो । यिनीहरूले खानीमा खन्ने काम गर्नाले खनेल र तामा गाल्ने काम आफैँले गरेको हुनाले ‘आग्री’ भनिन्छ । छन्त्यालहरू १४ थरमा विभाजित भएको पाइन्छ । १, धरब्जा २, कुकुर भलेजा ३, दूध मलन्जा ४, काग मलन्जा ५, सिन्की मलन्जा ६, खड्का ७, बुढाथोकी ८, पुरानो ९, मच्छिमेल १०, घ्याप्चन ११, पलाङ्गे १२, झडामारे १३, सिगे १४, स्याङ्जली ।१२ मगर जातिमा सबैभन्दा बढी थर रहेको थापा हो । मगरहरूको आफ्नै भाषा छ । जुन भाषा दुई भागमा विभाजित छ । ती हुन् खाम र काइके भाषा । खाम भाषा रोल्पा, रुकुम, वाग्लुङ, प्युठान र डोल्पामा काइके भाषा बालिन्छ । मगर भाषा पाल्पा, तनहँु र स्याङ्जामा बोलिन्छ । रूप, रचना र भाषिक विशेषता तिब्बतीस‘ंग मेल खाने मगर भाषाका धेरैजसो शब्दहरू नेपाली भाषामिश्रित छन् । अन्य स्थानमा बसोबास गर्दै आएका मगरहरू आफ्नो भाषा बोल्दैनन् । नेपाली भाषा नै तिनको बोलीचालीको भाषा हो ।

आज पनि धेरै मगरहरू मगर कुरा नै गर्छन् तापनि प्रशस्त मात्रामा नेपाली भाषालाई नै मातृभाषा मान्ने गर्छन् तापनि नेपाली भाषा बोल्न सबैले जानेकै हुन्छ । मगरहरूले भाषालाई मात्र होइन चालचलन, रीतिरिबाज र धर्म आदिमा पनि खसहरूले जस्तै बाहुनलाई र बाहुनकै शिक्षादीक्षालाई मान्दै आएका छन् । अनि झन्डै बाहुन र खस जातिकै अधिराज्यभरि छरिएका पनि छन् । धेरै समयसम्म पहाडमा बसी पहाडी जीवनलाई सजिलो मान्दै आएका भए तापनि आजकल अरू पहाडीसरह लागेर मधेसमा पनि खेती गरी बसोबास गर्न थालेका छन् । तैपनि धेरैजसो मगरहरू आज पनि लुम्बिनी, राप्ती र धौलागिरि अञ्चलको पहाडी क्षेत्रमा नै बसेका पाइन्छ ।१३ नेपालमा बोलिने भोट–बर्मेली परिवारका भाषाहरूमध्ये आफ्ना लिपि भएका भाषा नेवारी र लिम्बू मात्र हुन् । सिरिजङ्गा लिम्बू लिपि हो रञ्जना नेवारी । मगर भाषामा ‘अक्खा’ लिपि हो भनी प्रयोगमा ल्याउने प्रयास भइरहेको छ तापनि तथाकथित ‘अक्खा’ कुन कुरामा विवादग्रस्त भएको छ भने त्यसका प्रत्येक अक्षर ‘ब्राह्मी’ लिपिका आकारसित सामान्यतः काटीकुटी (जस्ताको तस्तै) मिल्दछ । इस्वी ३५० देखि नै प्रयोगबाट हटिसकेको ‘ब्राह्मी’ लिपिलाई पुनः प्रयोग गर्नु आजदेखि १६४६ वर्षपछाडि जानु जस्तै भएन र ? ब्राह्मीको विकसित रूप नै आधुनिक देवनागरी लिपि हुँदै हो ।’’१४
मगर भाषामा लेखिएका वंशावलीहरू पनि उनीहरूसँग नै छन् भन्ने मानिसहरू विश्वास गर्छन् । आज पनि धेरै मगरहरू मगर कुरा नै गर्छन् तापनि प्रशस्त मात्रामा नेपाली भाषालाई नै मातृभाषा मान्नेहरूको सङ्ख्या दिनदिनै बढ्दै छ । भेरी नदीको माथिल्लो भागतिर बस्ने मगरहरू भोटे भाषालाई नै आफ्नो मातृभाषा भन्ने गर्छन् तापनि नेपाली भाषा बोल्न सबैले जानेकै हुन्छ । मगरहरूले भाषालाई मात्र होइन चालचलन, रीतिरिबाज र धर्म आदिमा पनि खसहरूले जस्तै बाहुनलाई र बाहुनकै शिक्षादीक्षालाई मान्दै आएका छन् । अनि झन्डै बाहुन र खसजत्तिकै अधिराज्यभरि छरिएका पनि छन् ।

धेरै समयसम्म पहाडमा बसी पहाडी जीवनलाई सजिलो मान्दै आएका भए तापनि आजकल अरू पहाडीसरह लागेर मधेसमा पनि खेती गरी बसोबास गर्न थालेका छन् । तैपनि धेरैजसो मगरहरू आज पनि लुम्बिनी, राप्ती र धौलागिरि अञ्चलको पहाडीक्षेत्रमा नै बसेका पाइन्छ । आज पनि लुम्बिनी, राप्ती र धौलागिरि अञ्चलको पहाडी क्षेत्रमा नै बसेका पाइन्छन् । दस वर्षअघिको जनगणनाअनुसार मगर भाषा बोल्नेहरूको सङ्ख्या जम्मा २,५५,००० जति भएको र तीमध्ये ४२ हजारजति पूर्व–पहाडमा र बाँकीमा ३० हजारजति मात्र यताउति भई अरू सबै नै पश्चिम–पहाडमा देखाइएको थियो । तर मगर भाषाका आधारमा मात्र भएको यो जनगणनाले नेपाली भाषा बोल्ने मगरहरूको सङ्ख्या नछुट्ट्याएको हुँदा यथार्थ सङ्ख्या थाहा पाउन बिलकुलै आसम्भव छ ।१५
मगर भाषामा कसलाई के भनिन्छ ? केही नमुनाका हेराँै ः

क) शरीरका अङ्ग बुझाउने शब्दहरू :

नेपाली भाषा                       मगर भाषा
कपाल                                छाम
टाउको                                टालु
नाक                                    मीना
ऑखा                                   मीक
कान                                     कप
मुख                                     डोर
घाटी                                  मीछाटी
खुटा                                 हील
औँला                                 मीअरूला
पाखुरा                               मीपाखूरा
तिघ्रा                              मीतीख्रा
घुँडा                                मीघूडा
मुटु                               मीटूक
पेट                               टूक
ढाड                              जाड

ख) पशुपक्षी बुझाउने शब्दहरू :   

नेपाली भाषा                मगर भाषा  
बाघ                                  राघू
बाँदर                                 बन्कर
कुकुर                                  चीऊ
गाई                                     ङ्ेट
बिरालो                                सूठू
गोरु                                     ठोर
खरायो                                खराया
बाख्रा                                    रा
सुँगुर                                   वाक्
मुसा                                    बीऊ
मृग                                    फट्के
स्याल                                  सीला
कुखुरा                                   ग्वा
सर्प                                        बूल
सुगा                                     कीरीङ
चमेरा                                  छीचीन
मौरी                                    घोस
जुम्रा                                      सीक्
लामखुट्टे                                 जीग्मा
कमिला                                     मार
पुतली                                     भीपलाप
जुरेली                                    पीट्टूलूङ
चिप्लेकीरा                                 फार्गीडू

ग) सङ्ख्या बुझाउने शब्दहरू :

नेपाली भाषा              मगर भाषा
एक                               काट
दुई                                नीस
तीन                              सोम
चार                               वूली
पॉच                            बाङ्गा
छ                                    टू
सात                                टून
आठ                                   के
नौ                                   कू
दस                                    चू

घ) खानेकुरा बुझाउने शब्दहरू :

नेपाली भाषा             मगर भाषा
भात                               छो
तरकारी                            मेट
चामल                               छरू
पानी                                डी
अन्डा                            मीर्
मासु                              स्यो
माछा                           डीस्या
कोदो                            माराम्छो
तरुल                           नामे
लसुन                          आर्याक
च्याउ                           मूगान

ङ, नातागोता बुझाउने शब्दहरू :

नेपाली भाषा         मगर भाषा
बुबा                           बोई
आमा                          मोई
दिदी                            डई
दाइ                              डाजे
भाइ                              भोई
ज्वाइँ                           जोइ
बुहारी                             खोन
ठूलो बा                       मीझाबोई
ठूली आमा                   मीझामोई

च) महिना बुझाउने शब्दहरू :

नेपाली भाषा                मगर भाषा
वैशाख                        डाक्साहाक
जेठ                             घोर्साहाक्
असार                           नस्साहाक
साउन                          मक्साहाक
भदौ                            घोईसाहाक
असोज                         मार्साहाक
कात्तिक                       क्वासाहाक
मङ्सिर                         राङ्साहाक
पुस                               मूङ्साहाक
माघ                              लाक्साहाक
फागुन                           खूरसाहाक
चैत                             फापसाहाक

छ) बार बुझाउने शब्दहरू :

नेपाली भाषा              मगर भाषा
आइतबार                        नम्याक
सोमबार                            ग्यायाक
मङ्गलबार                         ढच्याक
बुधबार                               मार्याक
बिहीबार                              कराङ्याक
शुक्रबार                                होच्याक
शनिबार                               झीर्याक

बसोबास गरेको आधारमा भाषाको प्रयोग गरिन्छ । रुकुम र रोल्पामा बस्ने मगरहरू खाम भाषा तथा हिमाली क्षेत्रमा बसोबास गर्नेहरू भोटे भाषा बोल्छन् । तर पहाडी क्षेत्रमा बसोबास गर्नेहरूचाहिँ नेपाली भाषा नै बोल्छन् ।
मगरहरू खानपिनमा सोखिन हुन्छन् । धान, मकै, गहँु, आलु, जौ, कोदो, फापर, भटमास आदिका अनेकन् परिकार बनाएर खान रुचाउने मगरहरूको जाँडरक्सी, माछामासु झनै प्रिय खाना हुन् । पशुपक्षीमा कुखुरा, हाँस, परेवा, बोका, च्याङ्ग्रा, भेडा, सुँगुर, रागाको मासु खान्छन् । छन्त्याल र पुनले भने सुँगुरको मासु खाँदैनन् । त्यस्तै राँगाको मासु पनि खाने वा नखाने मगरहरू छन् । सुँगुरको मासु खानेले जनई लगाउँदैनन् भने जनई लगाउनेले सुँगुरको मासु खाँदैनन् । सँुगुरको मासु नखाने मगरहरू आफूहरू उच्च जाति भएको बताउँछन् । जुम्ला र डोटीमा बसोबास गर्ने मगरहरू जनई लगाउँछन् ।
प्रसिद्ध सोरठी नाच मारुनी मगरहरूकै संस्कृति हो । यो नाच मगर समुदायमा कहिलेदेखि प्रचलनमा आएको हो भन्ने कुरा तथ्यपूर्ण प्रमाण आजसम्म भेटिएको छैन । सोरठी नाच धेरै पुरानो नाच मानिन्छ । १६ प्रकारका भाका र ३ प्रकारको तालमा समसमायिक विषयमा यो नाच नाचिन्छ । गीतको थालनी गर्न गुरु बाले देवीदेवताको नाम उच्चारण गरिन्छ । गीत गाउ‘दा मादल, खैँजेडी बजाइन्छ ।
गुरुङ जातिको जस्तै मगरको पनि रोदीघर हुन्छ । युवायुवतीको भेटघाट स्थल रोदीघर हो । रोदीघरमा नाचगान गर्छन् । रोदीघरको सञ्चालन तथा निर्देशन रोसी आमाबाट हुन्छ । मगर जातिका युवती महिनावारी हुँदा आमाबुवाले चार दिनसम्म मुख हेर्न नहुने हुँदा ती युवती रोदीघर बस्ने गर्दथे ।

रोदीघरमा गाइने गीतका केही अंश :
केटी : भात मीठो तरकारी सिमीले
के कामले बोलायो तिमीले
केटा : हातमा बालो कम्पनी तोलाको
छ कि माया भनेर बोलाको

केटा : टुप्पोमै घुमेको त्यो मोहरी त फेदैमा रह्यो धार
पातली नानीलाई नजर लाउन पाए मै गर्थे नमस्कार
सेरोफेरो डम्फैको घेरा दाइने हात समाल छ मेरो

केटी : अड्डामा बस्ने बहीदारी दाइको कानैमा कलम छ
ढल्केर हिँड्ने नक्कले दाईलाई दिनैको सलाम छ
दाहिने हात सलाम दिने ज्यानले लिने कि नलिने

सोरठी नाच पाल्पा, स्याङ्जा र तनहुँका मगरहरूमा मात्र सीमित नभईकन प्रायः अधिराज्यभरिका मगरहरूमा चलेको पाइन्छ । विशेष गरेर स्याङजा, तनहुँ, पाल्पा, वाग्लुङ, पर्वत, गुल्मी, दैलेख र खोटाङका मगरहरू नाचेको पाइन्छ । यो समसामयिक नाच भएकाले प्रायः कालरातमा आरम्भ गरी मङ्सिर महिनासम्म नाचेको पाइन्छ । तर तनहुँको बेनीकोट, कुल्लुङ र स्याङ्जा जिल्लाको राङभाङ गाविसको खाङ्ग्राङ, सिउडी, तल्लो र माथिल्लो खालिमा भने कालरातदेखि माघ महिनासम्म नाच्ने गर्दछन् । तर कृष्ण चरित्र नचरी नचाउनेहरू कृष्णाष्टमीको दिन आरम्भ गर्ने गर्दछन् । कालरातमा मगरहरू कोटमा कालरात जगाउन जाने गर्दछन् । कालरात पछि दशमी, तिहार, विवाह, व्रतबन्ध र जात्रामा सोरठी नाच नाच्ने गर्दछन् । सोरठीमा पुर्सुङ्गेले जेठो छोरालाई नचाउने गर्दछ । त्यस्तै नयाँ घर बनाउँदा पनि गीरिपा (गृह) दान भनेर सोरठी नचाउने गर्दछन् अर्थात् नयाँ घर बनाएको ठाउँमा पनि सोरठी नचाउने परम्परा भएको पाइन्छ ।
शुभकार्यमा नचाइने सोरठी वर्षमा ६ महिना नचाइन्छ । गीतका भाका रामायण, महाभारत र राजारानीका साथै अर्तीउपदेशका कुराहरू पनि हुन्छन् ः

राम लक्षुुमण दुन भाइ सिकार खेल्न जाऊ,
आफू नहि धनुकाँडा घैमा बोकी सिकार खेल्न जाऊ ।
(रामायणलक्षित गीत)

एकुदेशको राजा, एकु देशको रानी,
मया र पिरती भयो, रानी गरिभ रह्यो ।
(राजारानीलक्षित गीत)

औषधी ख्याई नख्याई पैदा पो भयौ,
बालक कृष्ण जन्म लियो कौवरीको (पुतली ) भेष ।
(महाभारतलक्षित गीत )

चाँडै जाउ मालीनी काशीयामा,

वाल्टो सहमत भयो ।
(अर्ती आदेशलक्षित गीत)

माथि उल्लिखित लोकनृत्यहरूबाहेक पनि मगरहरू जिवैमामा, झोरा, ओहोली र झ्याउरे नाच्ने गर्दछन् । जिवैमामा एउटा सामाजिक नाच हो । यो नाच पश्चिमी पाल्पाको बौघा गुम्वा, बौघा पोखराथोक र स्याङ्जा जिल्लाको पश्चिम–दक्षिण भाग (कालिकोट, कोटाकोट, गुरुङ्दी) मा प्रचलित भएको पाइन्छ । यो नाच वसन्त पञ्चमी अथवा माघे सक्रान्तिमा र यो नाचमा तीन दिनसम्म लगातार नचाउने गरिन्छ । यस नाचमा महिलाहरूको मात्र सहभागिता भएको पाइन्छ । नाच्ने महिलाहरू दुई समूहमा (माइती र चेली) विभाजित हुन्छन् । एक समूहका महिला पुरुषको कपडा लगाएर वर र अर्को समूहको एक जना महिला बधूको पात्र खेल्ने गर्दछन् । वरको समूहबाट बधूलाई लिन जाने गर्दछन् । बधूलाई वरको समूहमा ल्याइसकेपछि मात्र पालो–पालो गरेर दुई समूहमा गीत गाउने गर्दछन् । वर र बधूको पात्र खेल्ने महिलाहरूले नाटकीय ढङ्गबाट अभिनय गर्दछन् ।

गीतलाई मगरहरू ‘झोरा’ भन्ने गर्दछन् । ब्राह्मण र क्षत्री जातिमा प्रचलित तीजका गीतबाहेक पनि मगर महिलाहरू तीजमा आफ्नै मौलिक संस्कृतिमा आधारित झोरा नाच्ने गर्दछन् । यो झोरा स्वच्छन्द तालको हुँदैन । एउटा कथावस्तुमा आधारित हुन्छ । घाटुको जस्तै यो लोकनृत्यको पनि गुरुमा हुन्छ तर आजभोलि यस्तो लोकनृत्य मगर जातिमा लोप भइसकेको छ । स्याङ्जा जिल्लाको गहुङ इलाकाको गराङ्दी, तनहुँ जिल्लाको घिरिङ, इलाकाको काठेकोटमा यस्ता प्रकारका मगरनी झोरा प्रचलित थियो भनेर त्यहाँका मानिसहरूले भन्ने गर्दछन् । तर गुरु आमाको मृत्युपछि कोरा पनि गुरु आमाको साथ लागी गएकाले आज ती ठाउँमा यो लोकनृत्य लोप भइसकेको छ ।
मगरहरू कोदो रोप्दा, धान रोप्दा, मकै गोड्दा पनि बडो रमाइलो गर्ने गर्दछन् । खेतीपाती पनि लोकगीतको तालमा बडो रमाइलोसाथ गर्ने गर्दछन् । कोदो रोप्दा, मकै छर्दा, सालैजोको तालमा रोप्ने गर्दछन् भने धान रोप्दा बाली र नौमती बाजाको तालमा रोप्ने गर्दछन् । यो पर्माकल्चरको रूप हो । बाली गीत धान रोपाइँ गर्दा बूढाबूढी महिलाहरू मिलेर गाउने गर्दछन् । दिनभरि खेतमा रोपाई गरेपछि बाली गीत गाएर रोपाहारहरू घर फर्कने गर्दछन् ।

यसरी मगर जातिमा विभिन्न प्रकारको सामयिक, धार्मिक, नाचहरूको अलावा बाह्र महिना मेलापात, घाँस, दाउरा, जात्रा, चाडपर्व आदिमा पनि विभिन्न प्रकारका लोकगीतका लयहरू गुन्जिएका हुन्छन् । यी मुख्य लोकगीतहरू सालैजो यानीमाया, सुनीमाया, नीरमाया, घुम्छवरै गौठली आदि प्रचलित थियो तर सालैजो भने यद्यपि मगर जातिमा प्रचलित नै भएको पाइन्छ । सालैजो पनि विभिन्न भाकाको पाइन्छ । जस्तै ः ठाडो, तेर्सो भाका । त्यस्तै युवायुवतीहरू चाडपर्वमा एक ठाउँमा जम्मा भएर रोइला गाउने, दोहोरी खेल्ने गर्दछन् । यसरी मगर जातिका महिला, पुरुष, युवायुवती वयस्क सबै यामअनुसारको लोकनृत्यमा झुमेका र रमेका पाइन्छन् ।

यस जातिको प्रमुख पेसा भनेको नै कृषि हो । जसमा खेतीपाती र पशुपालन दुवै पर्दछन् । नेपालमा सर्वप्रथम आलु उत्पादन गर्ने श्रेय मगर जातिलाई नै जान्छ । यिनीहरूले सिक्किमबाट आलुको बीउ ल्याएर आलुको उत्पादन गरेको हो भन्ने भनाइ छ । कृषि पेसाका अलावा जङ्गली जनावरहरूको सिकार गरेर मासु र छाला विक्री गरी आम्दानीको जोहो गर्थे मगरहरू ।

नेपाली सेना, नेपाल प्रहरी, ब्रिटिस गोरखा सैनिक, भारतीय सेना, निजामती सेवा, वैदेशिक रोजगारका साथै आर्थिक स्थिति कमजोर रहेका मगरहरू ज्याला मजदुरी काममा पनि संलग्न छन् । घर निर्माण र ढुङ्गा काट्ने काममा निपूर्ण मगरहरू पहिलेपहिले चलेका तामाखानी कलकारखानामा काम गर्थे । विशेषतः मगरहरूको प्रमुख आम्दानीको स्रोत वैदेशिक मुद्रा आर्जन नै हो ।

मगर जातिमा जब महिलामा गर्भ रहन जान्छ, तब हेरविचारमा ख्याल राखिन्छ । गर्भिणीले पूजाआजा गर्दैनन् । घरमा नै सुत्केरी गराउँदा राम्रो मान्छन् । सुत्केरी गराउन सुँडेनीले सहयोग गर्छन् । घरमा सुत्केरी गराउन गारो परेमा धामीझॉक्रीलाई देवीदेउरालीलाई पूजाआजा गर्नुका साथै भाकल गर्ने चलन पनि छ । बच्चा जन्मेपछि नाल स्थानीय हँसियाले काट्ने गरिन्छ । यसो गर्दा धनुषटङ्कार रोग लाग्छ भन्ने चेतना कमी भएको देखिन्छ । जनचेतनाका कारणले अहिले सुत्केरी सामाग्री प्रयोग गर्न थालेको छ । सुत्केरी र बच्चालाई आगो तपाउने र तेल लगाउने काम गरिन्छ । सुत्केरीलाई पर्याप्त मात्रामा दूध, घ्यू, मासु खान दिइन्छ । २० देखि २५ दिनसम्म सुतक बार्ने चलन छ । शिशुको न्वारान ६ दिनमा गरिन्छ । त्यस्तै बच्चाको उमेर छ महिनामा अन्न (भात ) खुवाउने र पॉच वर्षमा छेवर गर्ने र घाँघर लगाइदिने गर्दछन् । व्रतबन्धमा आफन्त घरगाउ‘लेहरूलाई डाकी जाँडरक्सी र मासुका साथमा भोज खान दिइन्छ ।

तामाङ जातिमा जस्तै मगर जातिमा पनि फुपूचेला र मामा चेलाबीच बिहेबारी चल्छ । आपसी समझदारी भएको खण्डमा उक्त बिहेबारी नहुन पनि सक्छ । आफ्नो मामाकी छोरीलाई बाटोको साली भनिन्छ । बाटोको साली हकाधिकार लाग्ने मान्यता छ । मामा चेला र फुपूचेलाबीच विवाहयोग्य छोराछोरी हँुदाहँुदै थाहा नदिई अन्तै गरेमा जसले गरेको हो, उसले दण्डस्वरूप रकम भराउनुपर्ने चलन अहिले पनि जुम्लामा रहेको छ । आफ्नै एउटै थरभित्र विवाह गर्दैनन् । विवाहका लागि मगर जातिमा केटा र केटीको उमेर १६ देखि १८ वर्षको उपर्युक्त मानिन्छ । मागी विवाह नै यस जातिमा सर्वोपरि मान्दछन् । यस विवाहमा अनौठो चलन छ । जब दुलाहाले दुलही लिएर घर आउने क्रममा ढोकामा तत्काल एउटा कुखुरा काटिन्छ र आलो रगतलाई कुल्चेर दुलाहादुलही घरभित्र छिर्छन् । यसो गरेमा भूतप्रेत पिचासले दुःख दिँदैन भन्ने विश्वास छ । अन्ततः दुलाहाको आमाले दुवैलाई टीका लगाइन्छ । दुलाहाले दुलहीलाई सिन्दूर हालेपछि विवाहको काम सिद्धिन्छ । यद्यपि अहिले प्रेमविवाह, बहुविवाह, जबरजस्ती (केटी छोप्ने) विवाह, विधवा विवाहका साथै अन्तरजातीय विवाह पनि हुन थालेको छ । विवाहको कार्य आफ्नै पुरोहितद्वारा गरिन्छ । पुरोहितलाई भुषाल भन्दछन् ।

अन्य जातिको भन्दा मगर जातिमा गरिने जबरजस्ती (केटी छोप्ने) विवाह अलि पृथक् किसिमको छ । जब केटाको उमेर १६ वर्ष पूरा हुन्छ, विवाहका लागि घरगाउँमा आफूलाई उपर्युक्त लागेको केटीलाई जबरजस्ती रूपमा तान्ने र घिच्याउँदै घरमा लगेर गरिने विवाहलाई जबरजस्ती (केटी छोप्ने) विवाह भनिन्छ । ससुराली खलकबाट निम्ता आएपछि नवदम्पती दुलाहादुलही ससुरालीमाइत जान्छन् । दुलाहाले दुलहीलाई बुबामुमाको काखबाट छुटाएबापत जरिवानास्वरूप केही रकम दिनुपर्छ । त्यसपछि पूर्णरूपमा विवाहले मान्यता पाउँछ र अन्तमा दुलहीलाई माइती गाउँलेहरूले दाइजोपेवा दिनुका साथै भोजभतेर खुवाई दुलाहादुलहीलाई बिदाइ गरिन्छ । जबरजस्ती विवाह अहिले खासै भएको देखिँदैन । यस जातिमा विधवा पुनर्विवाह पनि हुने गर्दछ । विधवा भाउजूलाई देवरले स्वीकार गरी विवाह गरेको खण्डमा समाजले मान्यता दिन्छ । विधवाले आफ्नो स्वेच्छाले अन्य पुरुषसँग विवाह गर्न पनि मगर समुदायमा छुट छ ।

यस जातिको मृतकको अन्त्येष्टि गर्दा जलाउने र गाड्ने दुवै गरिन्छ । हिन्दूधर्म मान्नेले जलाउँछन् भने बौद्ध तथा क्रिस्चियन धर्म मान्नेले गाड्छन् । यहाँ हिन्दूधर्म मान्ने मगरले गर्ने अन्तिम संस्कारको बारेमा प्रस्ट्याइएको छ ।
मगर समुदायमा परिवारका कुनै सदस्यको मृत्यु भएमा गाउ‘का सबै मानिस मृतकका घरमा जम्मा हुन्छन् । मृतकको घरअगाडि लामो सेतो कपडा फिँजाई राख्छन् । पशुपन्छीले लासलाई नछोओस् भनेर कपडा फिँजाइएको हो । लासलाई जलाउनका लागि नजिकको खोलातर्फ लगिन्छ । मलामीको रूपमा महिला पुरुष दुवै सराबरी जान्छन् । मलामीहरूले लास जलाउनका लागि आआफ्नो घरबाट काठका टुक्राहरू बोकी लान्छन् । लास जलाउनुअघि घरका सबै सदस्यले दागबत्ती दिन्छन् । लास जलिसकेपछि नदीमा गई किरिया बस्नेले १६० पटक र मलामीहरूले ६० पटक अँजुलीभरि पानी लिई मृतकको नाममा चढाउ‘छन् । मृतकको छोराले केशमुण्डन गर्दा शरीरका कुनै पनि भागमा रौँ राख्न नहुने मान्यता छ ।
बरखी बस्नेलाई सेतो धोतीका साथै शिरमा सेतो टालोले बाँधिन्छ । फर्कने क्रममा मृतकका चेलीबेटीद्वारा आधा बाटोमा मलामीहरूलाई खाजा खुवाइन्छ । मलामी घर पुगेपछि धूप छुन्छन् । यसो गरेको खण्डमा चोखिन्छ भन्ने मान्यता रहेको छ । किरियापुत्रीलाई प्रत्येक दिन नदी र पँधेरामा ल्याउने तथा ख्याउने काम चेलीबेटीले गर्दछन् । मृत्यु भएको ३ दिनपछि मृतकको परिवारले रोटीपुरी पकाउँछन् । एक जनालाई ६ वटा रोटीपुरी बाँडिन्छ । १२ दिनसम्म नुन, माछा, मासु केही खाँदैनन् । बरखी १ वर्षसम्म र कसैले ४५ दिनमा फुकाउँछन् । वर्षान्त गर्ने दिन भोज भतेर खुवाइन्छ ।

पादटिप्पणी
१, श्रेष्ठ, हरिप्रसाद, नेपालको इतिहास र संस्कृति एक झलक, २०४६, पृष्ठ–१८६, १८७ ।
२, थापा, खिलध्वज, मगर जाति एक ऐतिहासिक रूपरेखा, सेरोफेरो, वर्ष १, अङ्क १, २०३७ पृष्ठ–७, ८ ।
३, शर्मा, नगेन्द्र नेपाली जनजीवन, साझा प्रकाशन, काठमाडौँ, २०६३, पृष्ठ–८५ ।
४, बुढामगर, डा.हर्षबहादुर, नेपालको जातीय संस्कार, प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, २०७० पृष्ठ–२३१ ।
५, लोहनी, पुष्कर, कोङपी, सांस्कृतिक तथा विचार प्रधान मासिक, काठमाडौँ, पृष्ठ–२९ ।
६, बुढामगर, पूवर्वत, पृष्ठ–२५२ ।
७, शर्मा, नगेन्द्र, नेपाली जनजीवन, साझा प्रकाशन, काठमाडौँ, २०६३ पृष्ठ–८६–८७ ।
८, श्रीश, मगर, धर्मप्रसाद, मगराती संस्कृति, बिराटनगर, २०३८, पृष्ठ–१०३ ।
९, शर्मा पूवर्वत पृष्ठ –८७ ।
१०, जिरो, द हिल मगर्स एण्ड देयर नेबर्स, पृष्ठ–६३ ।
११, सुबेदी, होम, छन्त्याल जातिको परिचय धवलागिरी, वर्ष १, अङ्क १, २०३८, वैशाख, पृष्ठ–५ ।
१२, जिरो, पूर्ववत, पृष्ठ–६३ ।
१३, बिष्ट, डोरबहादुर, सबै जातका फुलबारी, साझा प्रकाशन, काठमाडौ, २०७१, पृष्ठ–५२ ।
१४, बुढामगर, पुवर्वत, पृष्ठ –२४३ ।
१५, बिष्ट, पूवर्वत पृष्ठ–५२ ।
१६, बुढामगर पूवर्वत पृष्ठ–२४३ ।
१७, बराल मगर, केशरजङ्ग, पाल्पा तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति, अस्मिता बुक्स काठमाडौँ, २०६८, पृष्ठ–१२०, १२१ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *