ताजा समाचार

सरकार विरोधि आन्दोलन रोक्न संक्रामक ऐन २०२० को डण्डा

 काठमाडौं । सरकार विरोधी आन्दोलनहरु हुन थालेपछि गृह मन्त्रालयले संक्रामक रोग ऐन २०२० लाई देखाएर सार्वजनिक नाराजुलुश गर्न रोक लगाएको छ । मन्त्रालयले विहिबार साँझ विज्ञप्ति जारी गरी सार्वजनिक स्थलमा भेला हुन र विरोधका कार्यक्र नगर्न रोक लगाएको हो ।

गृहमन्त्रालयले आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको छ । बिगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दे सो निर्दैशन दिएको हो ।

गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा धेरैको सहभागिता बढ्न थालेपछि गृहले यस्तो चेतावनी दिएको हो । गृहका सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने जनाइएको छ । ‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिने मन्त्रालयका प्रवक्ता शर्माले भने । बुधबार काठमाडौमा र बिहीबार देशका विभिन्न भागमा सरकार विरोधि प्रर्दशनहरु भएका थिए । कोरोना संक्रमण रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बुधबार र विहिबार बालुवाटार घेराउ गर्न ठूलै समूह नारा जुलुशसति पुगेको थियो । सो समूहलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रयोग गर्नु परेको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *