काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा पार्टीभित्र सहमति जुटाउन नसक्दा परियोजना अलपत्र परेको छ ।
पार्टीभित्र मध्यमार्गी बाटोबाट एमसीसी पास गराउन खोज्दा नेकपाका अध्यक्ष समेत रहेका ओलीले मंगलबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित गरेपछि परियोजना नै अलपत्र परेको हो । सचिवालय बैठक रोकिएपछि मंगलबार तीन नेताहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निवासमा भेला भएका थिए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतमले सचिवालय बैठक रोकेर ओलीले एमसीसीलाई झन अन्यौलमा पार्न खोजेका निष्कर्ष निकालेका थिए । ‘सचिवालय बैठक बस्नुअघि पार्टी उपाध्यक्ष रहेका वामदेव गौतमलाई बोलाएर ओलीले भेटेका थिए । ओलीले सचिवालय बैठकमा मलाई साथ दिनुस भन्नु भएको थियो तर बैठकमा अन्य साथीहरुको मत बलियो छ यसमाचाहि म साथ दिन सक्दिन भनेपछि ओलीले बैठक रोकेका हुन्’, मंगलबारको छलफलमा गौतमले भनेका थिए । उनीहरुले ओली किन बैठक छल्दैछन भन्नेबारेमा पनि समीक्षा गरेका थिए ।
खुमलटार निकट स्रोतका अनुसार नेताहरु दुई घण्टा बसेर निस्केका थिए । गत शुक्रबार र आइतबार दुई अध्यक्षको भेटघाटपछि मंगलबार ४ बजेका लागि राखिएको सचिवालय बैठक प्रधानमन्त्री ओलीको व्यस्तता देखाएर स्थगित गरिएको थियो । वैठक स्थगित भए लगत्तै तीन नेताहरु खुमलटारमा भेटघाट भएको थियो । मंगलबारको भेटमा नारायणकाजी श्रेष्ठ झलनाथ खनाल भने उपस्थित भएका थिएनन । एमसीसीबारे तीन नेताहरुले मध्यमार्गी बाटो खोजिरहेका बेला सचिवालय बैठक नै स्थगित भएपछि थप के गर्ने भन्ने बारेमा उनीहरुबीच छलफल भएको थियो । पार्टीको सचिवालय बैठक र स्थायी कमिटी बैठक पनि बोलाउने विषयमा ओलीले ध्यान नदिएको र उनी जसरी पनि आफू अनुकुल पारेर मात्रै बैठक बोलाउने दाउमा रहेको तीन नेताको निष्कर्ष रहेको थियो ।
स्थायी कमिटीका २० जना सदस्यहरुले बैठकको माग गरेको महिनौ वितिसक्दा पनि ओलीले टारिरहेका छन् । ‘अनुकुलता परेपछि मात्रै बैठक बोलाउने उहाँका बानी छ आइतबारको भेटमा म साथ दिन सक्दिन भनेपछि सचिवालय बैठक नै स्थगित गरिदिनु भयो’, गौतमले मंगलबार दाहाल नेपालसँग भनेका थिए । तर वालुवाटार निकट स्रोतले भने प्रतिनिधि सभाको बैठक दिनभरी नै चलिरहेको र सचिवालय सदस्यहरु समेत मन्त्रि रहेकाले त्यहाँ जवाफ दिनुपर्ने हुँदा उपस्थित हुन कारण देखाउदै बैठक स्थगित भएको जिकिर गरेको छ । प्रधानमन्त्री ओली यही संसदबाट जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको पनि उनी निकट नेताहरुले बताएका छन् ।
प्रतिपक्षीको समेत साथ रहेको अवस्थामा सरकारले संसदमा एमसीसीको प्रस्ताव पेश गरिसकेको छ । बजेट अधिवेशनमै संसदबाट पास गराएर परियोजना सञ्चलन गर्ने सरकारको तयारी रहेको छ । गत जेठ १७ गते बसेको सचिवालय बैठकले एमसीसी परियोजनाका कामकारवाही तत्काल रोक्न सरकारलाई निर्देशन दिएको थियो । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने अनुदान रकम बजेटमै समावेश गरिएको र यसले पार्टीलाई झन चिढ्याउन खोजेको भन्दै सचिवालय बैठकले परियोनाको कार्य रोक्न सरकारलाई निर्दैशन दिएको थियो ।
अर्थमन्त्रीले बजेट भाषणमा नपढेको तर अनूसुचिमा अनुदान रकम समावेश गरेपछि सत्तारुढ दलभित्र खैलाबैला मच्चिएको थियो । बजेट किताबको अनुदान तथा ऋण सारांश अनुसूची १० मा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी युएसएबाट पाँच अर्ब ७२ करोड ७२ लाख रुपैयाँ प्राप्त हुने वैदेशिक अनुदानका रूपमा राखिएको थियो ।
बजेटमै उल्लेख भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच त्यतिबेलै छलफल भएर सचिवालय बैठक डाकिएको थियो । अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गर्ने भन्दै प्रधानमन्त्री ओली एमसीसी परियाजना जसरी पनि पास गर्ने पक्षमा रहेका छन् ।




