काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । आईतवार अपरान्नह दल दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका थिए । जनता समाजवादी पार्टीको निर्वाचन आयोगमा दर्ता नम्बर १३९२ कायम भएको छ । दल दर्तापछि नेताहरुले आपसमा बधाई र खुसी आदान प्रदान गरेका थिए ।
दुई दलबीच वैशाख १० एकीकरण गर्ने सहमति भएपछि ११ गते दुई दलका नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिन भित्र पार्टी दर्ता हुनुपर्ने कानूनी प्रावधान अनुरुप आज आइतबार दल दर्ता गरिएको हो ।
एकीकरणको सहमतिपछि आन्तरिक नेतृत्वको विवादमा फसेको जसपाले ४५ औं दिनमा केन्द्रीय नेतृत्व र पदाधिकारीसम्मको जिम्मेवारी टुंगो लगाएर दल दर्ता गरेको हो ।
आज भएको सहमाति अनुसार केन्द्रीय समितिको अध्यक्षको जिम्मेवारी महन्त ठाकुर र उपेन्द्र यादवले पाएका छन । पार्टीको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई रहने छन । राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेता रहने सहमति भएको जसपाका नेता रामदरेश यादवले बताए । उनका अनुसरा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ ।
पार्टी एकता हुँदा ५१ जना केन्द्रीय पदाधिकारी रहने सहमति भएपनि आज भने ५३ जना पदाधिकारी रहने गरि सहमाति भएको छ । अध्यक्ष र वरिष्ठ नेताको जिम्मेवारी नपाएका राजाप मण्डलका अध्यक्ष र सामाजवादी पार्टीका वरिष्ठ नेताहरुलाई महत्वपूर्ण विभागको जिम्मेवारी दिने सहमाति भएको छ ।
केन्द्रीय समतिको आकार, नामावली र जिल्ला,क्षेत्र, नगर र गउँ अध्यक्षको भने अझै टुंगो लाग्न सकेको छैन ।




