ताजा समाचार

सिडियोको चालकलाई कोरोना संक्रमण, बर्दिया जिल्ला प्रशासन कार्यालयमा उच्च सर्तकता

 काठमाडौं।बर्दियाबाट काठमाडौ सरुवा भएका सिडियोलाई लिएर आएका सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ । कोरोनाको महामारीको बेलामा जिल्लाको जनतासंग प्रत्यक्ष सरोकार राख्ने प्रमुख जिल्ला अधिकारीकै ड्राइभरलाई कोरोनाको संक्रमण देखिएको हो ।
भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उनलाई संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय र वरपर उच्च सर्तकता अपनाइएको छ । उनी दुई दिनअघि सरुवा हुनुभएका सिडियो प्रेमलाल लामिछानेलाई काठमाडौंँ ल्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट बर्दिया लगेका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको गृहमन्त्रालयले जनाएको छ । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ । बर्दियामा यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने गृहमन्त्रालयले जनाएको छ । सबै कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिइसकिएको र कार्यालय बन्द नगरी जिल्ला प्रशासनबाट हुने कामलाई सूचारु गर्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *