ताजा समाचार

लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जारी लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न क्षेत्रका विषय विज्ञहरुको छलफलका क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई जारी लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका हुन् । उनीहरुले परीक्षणको दायरा बढाउने र जनस्वास्थ्यप्रति सरकार गम्भीर रहेको अनुभूति दिलाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरिएको थियो । बुधबार राती अबेर पाँचघण्टासम्म भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले विज्ञहरुको धारणा बुझेका थिए । बैठकमा प्रधानमन्त्रीले सबै क्षेत्रका विज्ञबाट रायसुझाव माग गरेपछि विज्ञहरूले आफ्नो क्षेत्रका धारणा राखेका थिए । लकडाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । यसका साथै विज्ञ टोली बनाउनसमेत उनीहरूले सुझाव दिएका थिए । विज्ञले दिएको सुझावलाई प्रमले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउन प्रधानमन्त्री सहमत भएका थिए ।

बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बैठक फलदायी भएको जनाएका थिए । ‘आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो । बैठकमा सहभागी विज्ञहरूले दिनुभएका सुझावहरूप्रति धन्यवाद भन्न चाहन्छु । यस किसिमको बैठक आवश्कता अनुसार फेरि पनि हुने जानकारी गराउन चाहन्छु ’, उनले सामाजिक सन्जालमार्फत भनेका छन् । प्रधानमन्त्री ओलीले यस्तो बैठक पुन आयोजना गर्ने र विषय विज्ञहरुको एउटा विज्ञ टोली बनाउने आश्वासन समेत दिएका थिए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य उपकरण र स्वास्थ्य सुरक्षा सामाग्रीको भरपुर प्रयोग गर्दै समय अनुसार लकडाउनको मोडालिटी पनि परिवर्तन गरेर जनजीवनलाई सामान्यीकरण गर्दै लैजाने पनि बताएका थिए । छलफलमा डा. भगवान कोइराला, डा. समीरमणी दीक्षित, डा.लोचन कार्की, डा. स्वर्णीम वाग्ले लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *