काठमाडौं । सरकारले आठ देशमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । कोरोना संकटका बेला कतिपय नेपाली दूतावासहरु निमित्तका भरमा चलेको र कतिपय देशका राजदूतहरुको समय अवधि पूरा भएका कारण सरकारले नयाँ राजदूत पठाउने गृहकार्य थालेको हो । धेरै नेपाली रहेको दक्षिण कोरियामा करिब दुई वर्षदेखि राजदूत पद रिक्त छ । त्यस्तै, श्रीलंका तथा दक्षिण अफ्रिकामा पनि रिक्त भएको लामो समय भइसकेको छ । भागबन्डा नमिल्दा सरकारले नियुक्ति गर्न सकेको छैन । अमेरिकामा करिब एक वर्षदेखि अर्जुन कार्कीलाई नै म्याद थप गरेर राखिएको छ ।
अबको चार महिनामा थप चार देशका राजदूतको कार्यकाल पुरा हुँदैछ । पाकिस्तानकी सेवा लम्साल, बेलायतका दुर्गा बहादुर सुवेदीको असोज , जर्मनीका रमेश प्रसाद खनालको भाद्र तथा बेल्जियमका लोकबहादुर थापाको असोजमा कार्यकाल सकिदैन । राजदूत नियुक्तिसम्बन्धि मापदण्डमा रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ । आठ देशमा राजदूत नियुक्तिका लागि परराष्ट्रले यससम्बन्धि तयारी थालिसकेको छ स्रोतले जनाएको छ । समयमा राजदूत नियुक्ति एकातर्फ सम्बन्धित देशमा नेपालको सेवा प्रभावित भएको छ भने अर्कोतर्फ राजदूतको पालो कुरेर परराष्ट्रका कर्मचारीको करिअर समेत प्रभावित बनेको छ । राजदूत नियुक्तिमा ५० प्रतिशत बाहिरबाट तथा ५० प्रतिशत परराष्ट्रका करिअर डिप्लोम्याटलाई पठाउने गरिएको छ । परराष्ट्रभित्र समेत नयाँ राजदूत बनेर जानका लागि कर्मचारीहरुबीच प्रतिस्पर्धा चलिरहेको छ ।




