ताजा समाचार

भोलीदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

 काठमाडौं।सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न भन्दै लागू गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी मोडालिटी परिवर्तन गर्न लागेको हो ।

मूख्यसचिव लोकदर्शन रेग्मीले तयार पारेको कार्ययोजनाबारे कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले त्यसलाई अनुमोदन गर्ने भएको छ । लामो समयसम्म लकडाउन लागू हुँदा अर्थतन्त्रमा असर पर्नै भन्दै जोखिम कम भएको ठाउँमा खुकुलो बनाउनुपर्ने सर्वत्र माग भएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली तत्काल खुकुलो बनाउन नहुने पक्षमा उभिएपछि मन्त्रिपरिषद्ले जेठ २० मा सकिने लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याएको हो ।

सरकारले तीन वटा तहमा विभाजन गरेर लकडाउनलाई केही खुकुलो बनाउन लागेको हो । कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ । समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् ।

वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योगरकलकारखाना तथा ढुवानीलाई सुचारु अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् । ७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ ।

देशमा संक्रमणको दोस्रो केस देखिँदा चैत ११ गतेबाट लकडाउन थालिएको थियो । यसअघि पनि समितिले लकडाउनलाई खुकुलो पार्ने योजना बनाएपनि प्रधानमन्त्रीले अस्वीकार गरेपछि मोडालिटी परिवर्तन भएको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *