ताजा समाचार

कोरोनाको कहर र बिदेशमा अलपत्र नेपाली

यतिखेर कोभिड १९ कोरोना भाइरसको प्रकोप नभएको मुलुक विश्वमा नै रहेन । केही दिन अगाडिसम्म हाम्रो मुलुकमा सङ्क्रमितको सङ्ख्या न्यून भएकोमा हामी निश्चिन्त निदाएका थियौ । तर पछिल्ला दिनहरुमा भने यस्तो सङ्ख्या वृद्दि दर तीब्र हुन थालेको र केही व्यक्तिहरु यही कोरोनाको कारणबाट दिवंगत भएको बिषयले हामीलाई  थप चिन्तित तुल्याएको छ । बिश्वब्यापी सङ्कटको यश घडिमा बिश्वका अधिकांश मुलुकहरुले अन्य मुलुकमा भएका आफ्ना नागरिकहरुलाई  आफ्नै मुलुकमा ओसारेर क्वारेन्टाइनमा राखि स्वास्थ्योपचार सम्बद्ध जाच पड्ताल गरिरहेका छन । फर्कन बाँकी ईच्छुक नागरिकहरु पनि आफ्नो जन्मभूमी तथा कर्मभूमी फर्कनका लागि लामबद्ध भएका छन । तर हाम्रा नेपाली नागरिकहरु भने यतिखेर बिश्वका विभिन्न मुलुकहरुमा यति दुखद स्थितिमा जीवन गुजार्न बाध्य छन कि ! यसको लेखाजोखा गरिसाध्य छैन ।

कोरोनाको बिपत्तिबाट सिर्जित समस्याका कारणबाट भारत  लगायतका खाडी मुलुकरुले आफ्ना उद्याेगधन्दा बन्द हुन थालेपछी कामदारहरुलाई  धमाधम निकाल्न थालेका छन । कोरोना भाइरस कै  सङ्क्रमणमा परी वैदेशिक भूमिमा थुप्रै नेपालीहरु दिबंगत भैसके भने केही छट्पटाइ रहेका छन । त्यस्तो  छटपटाहटमा परेका र रोजगारी गुमाएर विहान वेलुकाको छाक टार्न धौधौको अवस्थामा पुगेका ब्यक्तिहरु आफ्नो मातृभूमी आउन चाहनु एकदम स्वभाबिक हो । हुनपनि केही मानिसहरु आ-आफ्नु काममा ब्यस्त नै भए पनि कतिपय मानिसहरु रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न नसक्ने अबस्थामा पुगिसकेका छन । पीडाकै  क्षणवाट आआफ्नो घर परिवार इष्टमित्र समाज अनि राष्ट्रलाई  गहिरो रुपमा सम्झेर स्वदेश फर्कने इच्छा जाहेर गरेको बेलामा  अन्य मुलुकका  नागरिकहरु लाई  धमाधम ओसार्दै गर्दा हाम्रा नेपालीहरु टुलु टुलु हेरेर छटपटाइ रहनु पर्ने अबस्था कति हृदय बिदारक होला ? स्वभाबिक रुपमा अनुमान गर्न सकिन्छ ।

यसरी नेपाल आउन चाहनेहरु मध्ये पनि एकथरी मानिसहरु आफ्नै खर्च लगानी गरि आउन सक्ने अबस्थामा होलान भने अर्काथरी गासबासको समस्यामा छटपटिएका मानिसहरु आफुले जहाज भाडा तिरेर आउन सक्ने अबस्थामा छैनन होला । जे जस्तो अबस्थामा भए पनि  स्वदेश फर्कन चाहने यस्ता सबै नेपालीहरु केवल नेपाल सरकारले बोलाओस वा लीनका लागि प्लेन पठाओस भन्ने  प्रतिक्षामा छन । त्यस्ता नेपालीहरुलाई  ल्याउनेतर्फ लामो समय  सम्म वास्तै नगरी बसेको  सरकारलाई धेरै तिरबाट चर्को दबाब पर्यो । सरकारको यस्तो गैर जिम्मेवारीपन प्रती दबाब पर्नु पनि स्वभाविक थियो । यसको फलस्वरुप सम्बन्धित मुलुकमा सजाय तोकिएर पनि आम माफी पाएका ब्यक्तिहरु, विभिन्न कारणले नेपाल आउन अनुमती पाएकाहरु, आफ्नु मानिसको मृत्यु भएकाले काजकृया बस्नु पर्ने अवस्थाका ब्यक्तिहरु, रोजगारी गुमाएकाहरु, कोभिड १९ कोरोना भाइरसको सङ्क्रमितमा परेका ब्यक्तिहरु, सुत्केरी महिलाहरु, तालिममा गएका र फर्कनु पर्ने भएकाहरु, अध्ययन समाप्त भएका ब्यक्तिहरु, अध्ययनमा गएर पनि अनिवार्य बिदामा भएकाहरु, अन्तराष्ट्रिय संस्थामा रोजगारीमा गएका तर आउनै पर्ने अबस्थामा भएकाहरुलाई ल्याउने निर्णय हालै कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको छ । यस्तै गरि भारतबाट यसरी आउन चाहनेहरुका लागि २० वटा नाका तोकिएको छ । आफ्ना नागरिकहरु लाई स्वदेशमा ल्याउने हिसाबले ढिलै भए पनि सोचाइ अगाडि बढ्नुबाट नेपाल फर्कन चाहने नेपालीहरु खुशी भएका छन । समितिको निर्णय अनुसार यदि ती नेपालीहरुले फर्कने अबसर पाए भने नेपाल फर्किए पछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाएर क्वारेन्टाइन वा आइसाेलेशन मा राख्ने व्यवस्था सरकार वा स्थानीय सरकारले मिलाओस । अन्यथा समस्या विकराल बन्नेछ ।  यसरी आउनेहरु पनि सरकार वा स्थानीय सरकारले निर्धारण गरेको अवधि क्वारेन्टाइनमा वसेर स्वास्थ्योपचार सम्बद्ध कार्यबाट आफू स्वस्थ्य भएको प्रमाणित भएपछी मात्र आफ्नो घर परिवारमा सामेल हुन जान अबश्य आनाकानी गर्ने छैनन । बास्तबमा सरकार कुनै पनि आफ्ना नागरिकको अविभाबक हो । आफ्ना सन्तानलाई उसको समस्याग्रस्त अवस्थाको रोदन र बिलौना सुनेर त्यसबाट उद्धार गर्नु कुनै पनि अविभावकको कर्तब्य हो ।  आफ्नो कर्तब्य र उत्तरदायित्वबाट सरकार कुनै पनि हालतमा पन्छिन मिल्दैनथ्यो । ढिलै भए पनि प्रकृया अगाडि बढाएको छ र पनि उनीहरुलाई अबको ब्यबस्थापन राम्रो गरिएन भने अबस्था झन बिकराल हुनेछ । तसर्थ सरकार वा स्थानीय सरकारले अब थुप्रै क्वारेन्टाइनहरुको ब्यबस्थापन गर्नु जरुरी छ ।

नेपालमा भएका अन्य मुलुकका बिदेशि नागरिकहरु जो आफ्नो मुलुक फर्कन चाहन्छन, तिनीहरुलाई पनि सम्बन्धित मुलुकले फिर्ता लैजाने क्रम निरन्तर चलिरहेको छ । धेरै जसो फिर्ता गई सके पनि । वाँकि रहेका पनि फिर्ता जाने क्रममा छन । कोरोना भाइरसको सङ्क्रमणको जोखिम मोलेर आफ्नो नागरिकलाई बिदेशको भूमिमा छाड्नु हुदैन भन्ने अबधारणाले उत्प्रेरित भै केही दिन अगाडि भुटानले नेपालमा रहेका केबल दुई जना मात्र भुटानी नागरिकका लागि पनि सिङ्गै जहाज चार्टर गरेर आफ्नो मुलुक लग्यो । दुई जना ब्यक्ति मात्रका लागि पनि एउटा सार्बभौम मुलुकले त्यत्रो मूल्य चुकाएर उद्धार गर्यो । नेपाल सरकार भने विदेशमा रहेका आफ्ना नागरिकको उद्धारका लागि ब्यबस्था गर्ने कार्यतर्फ भन्दा अध्यादेश ल्याएर भए पनि विपक्षी फुटाउने तथा संवैधानिक अङ्गहरुलाई निर्विकल्प रुपमा एकपक्षीय वनाउने लगायत के कसरी सत्ता लम्ब्याउन सकिन्छ ? भनेर तानाबाना बुन्न ब्यस्त थियो । गत बैशाख २५ गते अष्ट्रेलिया र न्युजिल्याण्डका २८१ जना नागरिकहरु लाई लिएर गएको जहाज पनि नेपाल आउन तम्तयार भएर बसेका नागरिकहरुलाई ल्याउनुको बदला रित्तै फर्किएको थियो । आखिर ल्याउने निर्णय त गर्नै पर्ने रहेछ । त्यतिखेरै निर्णय भएको भए त उक्त जहाज रित्तै फर्कनु पर्ने थिएन । सरकारको पैसा दुरुपयोग हुने थिएन । सरकारमा बस्नेहरुलाई नै सरकारी बजेटको माया नहुनु बास्तवमा बिडम्बनाको बिषय हो ।

 भारतमा रोजगारी गुमाएका नेपालीहरुलाई आफ्नै मुलुक फर्किनका लागि परेको दबाबका कारणले गर्दा होला थुप्रै नेपालीहरु सीमा क्षेत्रमा लामो समयसम्म विचल्लीमा परे । यतिखेर कामवाट निस्कनु परेर पनि कार्यरत क्षेत्रमा नै असुरक्षित जीवन विताउन वाध्य भएका व्यक्तिहरु सायद थुप्रै होलान । भारतले “तिमीहरु आफ्नो मुलुक जाउ” भनेर भन्ने तर नेपालले आउन नदिने हो भने ती नेपालीहरु कहाँ जाने ? ती हाम्रो रगत सम्बन्धका मानिसहरु होइनन र ? यस्तो अबस्थामा हामीले हाम्रो आफ्नो सार्बभौमिक राष्ट्रको गरिमा र भावना बिर्षन मिल्छ र ? हाम्रो स्वाभिमान र राष्ट्रीयतालाई यसरी अबमूल्यन गर्न सुहाउने बिषय हो र ? बास्तबमा बिषय संवेदनशील थियो । तसर्थ भारतले जाउ भनेर पठाएका नेपालीहरुलाई ल्याउन नसक्नु हाम्रो देसको सरकारको अकरमण्यता र  निकृष्टतापुर्ण गैर जिम्मेबारीपन थियो । तर अब भने भारतमा भएका त्यस्ता नेपालीहरु र खाडी मुलुकहरुले पनि रोजगारदाताबाट हटाईएकाहरुलाई नेपाल फर्काएर क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउनु जरुरी छ ।

 कुबेत लगायतका कतिपय खाडी मुलुकहरुले त भिसा एबम पासपोर्ट नै नभएकाहरु र त्यहाँको कानून अनुसार दन्डनीय ब्यक्तिहरुलाई समेत सजाय माफी दिएर पनि आबश्यक डकुमेन्ट बनाउन लगाइ आफ्नै खर्चमा नेपाल ल्याइदिने सम्मको ब्यबस्था मिलाएकोमा पनि नेपाल सरकारले अनुमती नदिदा बिचल्लीको अबस्थामा  रोकिनु परेका व्यक्तिहरुको बिषय सार्बजनिक भएको थियो । त्यस्ता ब्यक्तिहरु र विभिन्न मुलुकहरुमा  रहेका हाम्रा अलपत्र नेपाली नागरिकहरुलाई त्यहाँको दुतावाससँग समन्वय गरि ल्याउने ब्यबस्था मिलाउनु आबश्यक देखिएको छ ।  अहिलेको संबेदनशीलतालाई मध्यनजर गरी उनीहरुलाई नेपाल झर्ना साथ क्वारेन्टाइमा राखी स्वास्थ्य परीक्षण गराउनु जरुरि विषय हो । फेरि यो ब्यबस्थापन गारो छ भनेर यतिखेर स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल भित्र छिर्न नदिने रणनीती सरकारले बनाउन मिल्दैन ।  एक दिन त नेपाल आउन चाहने सबै नेपालीलाई नल्याइकन हामीलाई सुखै छैन ।

तसर्थ समग्र मुलुकमा भएका स्कुल, कलेज, होटेल, पार्टिप्यालेश, सामुदायीक भवनहरु लगायत सार्बजनिक चौरलाई समेत सरकार वा सम्बन्धित स्थानीय तहले ब्यबस्थित क्वारेन्टाइनको रुपमा अबिलम्ब बिकसित गर्ने र नेपाल फर्कन चाहने वा तयार भएर बसेका नेपालीहरुलाई नेपालमा ल्याएर क्वारेन्टाइनमा राखि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नितान्त आबश्यक छ भने आगामी दिनमा विदेशमा रोजगारी गुमाएका यस्ता नागरिकहरुका लागि रोजगारिता उपलब्ध गराउनेतर्फ पनि सरकारले सोच्नु जरुरी छ ।

  [email protected]

 ९८४१९३००४१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *