काठमाडौं । सत्तारुढ दलभित्र एमसीसी परियोजनाको बारेमा विवाद भएपछि नेताहरु छुट्टा छुट्टै छलफलमा जुटेका छन् । बालुवाटारमा बसेको सचिवालय बैठकपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुुमार नेपाल तथा प्रचण्ड र वामदेव गौतमबीच छुट्टा छुट्टै छलफल भएको थियो ।
शनिवार दिउसो चार बजेदेखि ६ बजेसम्म प्रचण्ड र नेपालबीच छलफल भएको थियो । नेपाल खुमलटारबाट निस्केलगत्तै वामदेव गौतम खुमलटार पुगेका थिए । अध्यक्ष प्रचण्डसहित नेपाल र गौतम एमसीसीका बुँदा संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा रहँदै आएका छन् । शनिबारको बैठकमा त गौतमले अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले संसदबाट अनुमोदन नभइ बजेटमा एमसीसीका योजना राखेर पार्टीकै अपमान गरेको भन्दै रिसाएका थिए।
नेकपा स्रोतका अनुसार प्रचण्ड निवास खुमलटारमा नेता नेपाल र गौतमले पार्टीको अब बस्ने बैठकमा बनाउने धराणाका बारेमा छलफल भएको थियो। त्यसमा हाललाई एमससीसी स्वीकार वा अस्वीकार भन्दा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था हेर्दै तत्काललाई गर्ने र पछि छलफल गर्न सकिने मध्यमार्गी उपायका बारेमा समेत छलफल भएको बुझिएको छ । उनीहरुले तत्काललाई एमसीसीलाई पास गर्ने गरी अगाडी बढाउने र विवाद धेरै भए वा अमेरिकाले परियोजनालाई असहयोग गर्ने भए नेपाल सरकार आफैले अघि बढाउने गरी कार्यक्रम तय गर्ने विषयमा छलफल भएको स्रोतको दावी छ ।




