काठमाडौं । देशमा जारी लकडाउन जेठ महिनाभरी हुने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन थप्न निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
साथै बैठकले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।
असार १६ गतेसम्म हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन बन्द हुनेछ । कोरोना भाइरस संक्रमण बढेसँगै सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो ।
अहिले नेपालमा काेराेना संक्रमित दिनानुदिन बढिरहेकाे छ । शनिबारसम्ममा १४ सय १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।




