चितवन।माडी नगरपालिकाको क्वारेन्टिनमा रहेका व्यक्तिलाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिइएको छ । माडीका चारवटा क्वारेन्टिनमा रहेका १५३ जनालाई तनाव व्यवस्थापनका लागि प्रशिक्षण दिइएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले माडीको सोमेश्वर मावि, माडी क्याम्पस, दिवाकर स्मृति विद्यालय र आधारभूत विद्यालय गोविन्दबस्तीको क्वारेन्टिनमा रहेका उनीहरुलाई तालिम दिइएको हो । जिल्ला बाहिरबाट आएका र विदेशबाट आएर सार्वजनिक क्वारेन्टिनमा रहेका उनीहरुलाई योग प्रशिक्षण दिइएको नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा रहेकालाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधिसमेत वितरण गरिएको बताए ।
माडी आयुर्वेद औषधालय र नगरपालिकाको समन्वय एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा तनाव व्यवस्थापनका लागि तालिम र योग प्रशिक्षण दिइएको हो । औषधालयका प्रमुख रविशङ्कर शाहका अनुसार उनीहरुलाई रोग प्रतिरोधात्मक जडीबुटी औषधि निःशुल्क वितरण गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा कोपिला अधिकारीले हरेक दिन क्वारेन्टिनमा रहेकालाई योग प्रशिक्षण दिन शुरु गरिएको बताए। उनीहरुलाई हरेक दिन बिहान १ घण्टा सुधा कोइरालाले प्रशिक्षण दिनेछन । यस नगरपालिकामा १२ स्थानमा क्वारेन्टिन रहेका छन् । यसमध्ये हाल चारवटा क्वारेन्टिनमा विदेशबाट आएकालाई राखिएको छ ।
क्वारेन्टिनमा बस्दा मानसिक र शारिरिक रुपमा सन्तुलन कायम गर्नका लागि निःशुल्क रुपमा योग प्रशिक्षण गराउन थालेको उहाँले बताउनुभयो । क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणाले रोगबिरुद्ध लड्ने क्षमता बढाउन मद्दत पुग्ने उजको भनाइ छ । “क्वारेन्टिनमा बस्दा मानिसहरु एक्लै हुने र मानसिक रुपमा समेत विचलन आउन सक्छ” अधिकारीले भने “योगाभ्यासले उनीहरुमा सकारात्मक सोच तथा दिनचर्या राम्रोसँग बिताउन मद्दत पुग्नेछ ।”
कोरोना कहरसँगै बन्दाबन्दी थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनावबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ । क्वारेन्टिनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको बढाई सकारात्मक सोचको विकास गर्न योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
माडीको सोमेश्वर माविको क्वारेन्टिनमा बसेका ७० जना, माडी क्याम्पसका बसेका १० जना, दिवाकर स्मृति विद्यालयमा बसेका ४९ जना र आधारभूत विद्यालय गोविन्द बस्तीमा बसेका २४ जना गरी १५३ जनालाई प्रशिक्षण तथा औषधि वितरण गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका–१ घर भएकी एक महिलामा कोरोना सङ्क्रमण देखिए पनि उनी भरतपुरमा भाडामा बस्दै आएको घरपरिवारको पिसिआर नतिजा नेगेटिभ आएको छ । उनीहरुको स्वाब सङ्कलन गरी यही जेठ १५ गते भरतपुर कोभिड–१९ प्रयोगशाला पठाइएको थियो ।
भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख दीपक सुवेदीका अनुसार यही जेठ ९ गते उनी भरतपुरबाट हेटाँैडा घरमा गएकी महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनी बस्दै आएका घरका घरधनीसहित तीनजनाको नमूना सङ्कलन गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको हो । उनीहरु भरतपुर महानगरपालिका–१२ मा बस्दै आएका थिए ।




