कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्य मन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न कांग्रेसको चेतावनी
काठमाडौं।कोरोनामा असफल सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ ।
नेपाली कांग्रसका प्रवक्ता एवं केन्द्रीय प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले प्रत्रकारसम्मलेन मार्फत सरकार कोरोना नियन्त्रण र राष्ट्रियताको मुद्दामा गम्भीर नभएको आरोप लगाएका छन । नेपाली कांग्रेसले दुवै प्रश्नमा संयम र जिम्मेवारी साथ कार्य गरिरहेको तर सरकारले परिपक्व र जिम्मेवार पहलकदमी नगरेको प्रवक्ता शर्माको आरोप छ ।
बितेको डेढ साताको अवधिमा सरकारको कमजोर तयारीका कारण कोरोनाको संक्रमण तीब्र विस्तार भएको कांग्रेसको ठहर छ । सीमा सम्बन्धी प्रश्नमा अनुचित राजनैतिक प्रोपोगन्डाको बाटोमा सत्ता पक्ष संलग्न रहनु दुःखद भएको कांग्रेसले जनाएको छ ।
प्र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन् ,अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट धारणा प्रवक्ता शर्माले प्रत्रकारसम्मेलनमार्फत स्पष्ट पारेका छन । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिई सकिएको छ । यसबारे पार्टीले केन्द्रीय समितिको बैठकबाटै संस्थागत निर्णय गर्ने सार्वजनिक उद्घोष अनुरुप केन्द्रीय समितिको बैठक १७ जेठको अपरान्ह १ बजेलाई बोलाइएको जानकारी दिए ।
महत्वपूर्ण राष्ट्रिय बिषयमा साझा स्वामित्वबोध साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहंदा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण थिएन प्रवक्ता शर्माले भनेका छन तर एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुठको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलिको प्रोपोगन्डा प्रति हाम्रो गम्भीर आपत्ति छ । यस्तो गतिविधिमा सामेल कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्य मन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न हामी चेतावनी दिन चाहन्छौं ।
आजको राष्ट्रिय एकताको भावनालाई दलहरूको संस्थागत निर्णय एवं आपसी एकता र विश्वासको भावनाले मजबुत तुल्याउन सकिन्छ र राष्ट्रिय एकताको बलमा नै सिमा सम्बन्धि प्रश्नको हल गर्न हाम्रो कुटनैतिक र राजनैतिक पहलकदमिलाई सबल बनाउन सकिन्छ भन्ने नेपाली कांग्रेसको प्रष्ट धारणा प्रवक्ता शर्माले बताए ।
कोरोनाबाट सिंगो मुलुक प्रताडित भएको समयमा सांसद विकास कोष खारेज गरेर कोरोना कोषमा रकम बढाउन कांग्रेस प्रवक्ता शर्माले माग गरेका छन ।




