ताजा समाचार

कार्यविधि बनाएर आन्तरिक उडान खुलाउने तयारी

 काठमाडौं । लकडाउनको समय लम्बिदा मुलुकको सबै क्षेत्र ठप्प रहँदा त्यसले अर्थतन्त्रमा नकरात्मक असर पारेको जनाउदै आन्तरिक उडानलाई खुकुलो बनाउने तयारी भएको छ । कोरोना संक्रमण बढिरहने र यसको असर दीर्घकालसम्म पर्ने भएकाले आन्तरिक उडानलाई खुकुलो बनाउन लागिएको हो ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार असारदेखि हवाई उडान सुचारु गर्न लागिएको हो ।संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । भारतमा पनि सोमबारदेखि उडान सुचारु गरिएको थियो । आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो । प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिका समेत पठाइसकेको छ । अन्तर्राष्ट्रिय उडानको पनि निर्देशिका तयारी प्राधिकरणले सुरु गरेको छ । विमानस्थलमा यात्रुहरूबीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचना तयार पार्न थालिएको छ ।

नेपालमा जेठ मसान्तसम्म सबै व्यवसायिक उडान बन्द गरिएको छ । लकडाउन २० जेठसम्म छ । २० जेठपछि लकडाउन पनि खुुकुलो बनाउन लागिएको छ । कोरोना संक्रमण महिनौंसम्म जारी रहने देखिएपछि स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड लागू गरेर २० गतेपछि थप केही क्षेत्रलाई खुला गर्न लागिएको छ ।

यसअघि सरकारले ४२ प्रकारका उद्योगलाई सञ्चालन गर्ने अनुमति दिएको थियो । खाद्यान्न लगायतका साना ठूला केही पसलहरु सञ्चालन गर्न दिएको थियो भने मनोरञ्जन लगायतका अन्य क्षेत्रलाई अझै पनि प्रतिबन्ध लगाउदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *