ताजा समाचार

प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको रूकुम हत्याकाण्डका दोषीहरुलाई दण्डित गर्न कांग्रेसकाे माग 

काठमाडौँ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर नयाँ संविधानपछिको नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद भएको उल्लेख गर्दै काँग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको जनाएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न काँग्रेसले माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद त्यस्तो अप्रिय घटना हुन सक्ने थिएन, आक्रमणको घटना हुँदै गर्दा पनि राज्यको उपस्थिति नदेखिएको तथ्यलाई गम्भीरतापूर्वक लिँदै काँग्रेसले केन्द्रीय सरकारको धारणा माग गरेको छ । “केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने सङ्केत हामीले पाएका छौँ । जातीय विभेदको सङ्कुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनतः अधिकतम दण्ड दिन काँग्रेस माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

घटनामा जीवन गुमाएका नवराज विक, टीकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै प्रवक्ता शर्माले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न सरकारसमक्ष आग्रह र माग गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन ।

यस्ताे छ कांग्रेसकाे विज्ञप्ती     

जेठ १३, २०७७

रुकुम हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बनौं,
कानून हातमा लिनेहरुलाई अविलम्ब कार्वाही गरियोस् !

रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे छ । घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ । देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।

घटनाले उब्जाएको ३ प्रश्न

(१) सामाजिक विभेद र बिसंगतिको प्रश्न
कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ । नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ ।

(२) राज्य प्रशासनको भूमिकामा प्रश्न
लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।

(३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न
केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।

घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ । साथै घाइते युवाहरूको सिघ्र स्वास्थलाभको कामना गर्दछ ।
जय नेपाल !

विश्वप्रकाश शर्मा,प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग,नेपाली कांग्रेस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *