ताजा समाचार

पचास हजार प्रहरी प्रदेशमा परिचालन गर्ने गरी समायोजन खाका तयार

काठमाडौं ।गृहमन्त्रालयले प्रदेश प्रहरीको समायोजनका लागि प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रस्ताव अन्तिम चरणमा पुर्याएको छ । गत चैतमै समायोजन गरिसक्ने योजना बनिाएको मन्त्रालयले कोरोना भाइरस संक्रमणको कारण ढिलाई भएको जनाउदै समायोजनका लागि प्रकृया अन्तिम चरणमा पुर्याएको हो ।
गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा प्रदेशमा प्रहरी समायोजनको विषयमा ओएनएम सर्वेक्षण खाका बनाइएको छ । एक हजार पेज भन्दा माथिको सर्वेक्षण खाका तयार भएपनि मन्त्रीलाई भने बुझाइएको छैन । ओ एण्ड एमको स्पष्ट खाका नआएसम्म प्रहरी प्रधानकार्यालयले समायोजन गर्न नसक्ने जनाएको छ । ऐनमा पनि ओएनएम गरेर मात्रै समायोजन गर्ने भनिएका कारण गृहमन्त्रालयले सहसचिव आचार्यको संयोजकत्वमा सर्वेक्षण गरिरहेको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रहरी समायोजनका लागि ओएण्डएम सर्वेक्षण भैरहेको बताए । ‘सहसचिवको संयोजकवमा काम भैरहेको छ अब केही दिनमा टुंगिएला, त्यसपछि प्रदेशमा प्रहरीको समायोजन प्रकृया शुरु हुनेछ’, प्रवक्ता शर्माले भने । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरणका भएपछि मन्त्रालयले ओएनएम सर्वेक्षण थालेको थियो । अब यसको कार्य अन्तिम चरणका पुगेको मन्त्रालय स्रोतले जनाएको छ । कूल ७७ हजार ९ सय २७ स्वीकृत दरबन्दी रहेको नेपाल प्रहरीमा केन्द्र मातहत २५ देखि ३० हजार प्रहरी राख्ने तयारी भएको छ ।
प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म मात्रै रहने गरी गत चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी भएपनि कोरोना संक्रमणका कारण रोकिएको थियो । सर्वेक्षण अनुसार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्रमातहत नै रहने गरी पुल दरबन्दीमा राखेर प्रदेशमा पठाइनेछ । प्रदेशमा खटिएका प्रहरी कर्मचारीहरु प्रदेश सरकारले तोकेअनुसार नै सेवा–सुविधा पाउने उनीहरू प्रदेशकै निर्देशनअनुसार खटिनुपर्नेछ । प्रदेश र स्थानीय तहमा निजामती कर्मचारीको समायोजन भने दुई वर्षअघि नै भइसकेपनि प्रहरीको भने समायोजन हुन सकेको छैन । प्रदेश सरकारले लामो समयदेखि प्रहरी समयोजनको माग गर्दै आएका छन् । प्रहरीले पनि मन्त्रालयलबाट प्रकृया पूरा भएपछि प्रदेश सरकार मातहत प्रहरी खटाउने जनाउदै आएको छ । मन्त्रालयका अनुसार ओएनएम खाका पूरा भएपछि प्रदेशमा समायोजन हुन चाहने प्रहरीका लागि आवेदन माग गर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *