काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन । नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे।
उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन। “सञ्चारमाध्यमले आँैंल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ”, पूर्वप्रधानमन्त्री देउवाले भने ।
उनले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिए । उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।
नेपाल प्रेस युनियनको स्थापना दिवस समारोहमा, सभापति शेरबहादुर देउवाको सम्बोधन ।
नेपाल प्रेस युनियनको केन्द्रीय समितिले देश-बिदेशमा रहेका साथीहरूलाई यो zoom प्रविधिमा जोडेर कार्यक्रम गरेकोमा बधाई छ ।
आज प्रेस युनियनको स्थापना दिवस, यो संस्थाको जन्मदिनको अवसरमा तपाईंहरु सबैलाई हार्दिक शुभकामना ।
कोरोनाको महामारीका बेला मैले शुरु देखिनै नेपालको मिडिया र पत्रकारहरु बारे ४ वटा धारणा र आग्रह राख्दै आएको छु । आज फेरि त्यही दोहोर्याउन चाहन्छु ।
१, पत्रकारका लागि सुरक्षा सामग्री ब्यवस्था गर
– कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो छैन, अतः देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य थियो । सरकार यसमा गम्भीर भएन ।
– बिरगंज, उदयपुर लगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको छ ।
– देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु ।
२, पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउ
– श्रमजीवी पत्रकार यो बिचमा कयौं बेरोजगार भएका छन् ।
– बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेका छन् ।
– देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएका छन् ।
पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन नेपाली कांग्रेसले यस अघिनै माग गरिसकेको छ । सरकारलाई म पुनः माग गर्न चाहन्छु ।
३, भ्रष्टाचारको प्रश्न उठाउंदा किन अस्थिरता फैलाएको आरोप ?
– स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए ।
तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो । प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो ।
-म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।
४, निडर भएर लेख्नोस्, तपाइहरुका साथमा म छु
– लक डाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परिक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ ? शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ ।
– लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन् । यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी छ ।
-म निडर भएर आफ्नो कलम चलाउन तपाईंहरुलाई आग्रह गर्दछु । मेरो सदैव साथ तपाईंहरुलाई रहनेछ ।
अन्त्यमा फेरि पनि नेपाल प्रेस युनियनलाई स्थापना दिवसको हार्दिक शुभकामना छ ।




