काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालयका सदस्यहरु र स्थायी कमिटी सदस्यहरुबीच आगामी आर्थिक वर्षको बजेट, एमसीसी परियोजना, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार नेताहरूबीच छलफल भएको हो । सचिवालय बैठक अघि बालुवाटारमा नै नेताहरूबीच सरकारले ल्याउने बजेट, एमसीसी र संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो।
सचिवालय बैठक बस्नुअघि भएको छलफलमा स्थायी समिति सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी थिए। थापाका अनुसार छलफलमा आवश्यक परामर्श गर्नका लागि रावल, ज्ञवाली र खतिवडालाई बेलाइएको थियो। नेकपाले एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न यसअघि नै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। रावल र ज्ञवाली उक्त कार्यदलका सदस्य हुन्। कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन यसअघि नै बुझाइसकेको छ। छलफल लगत्तै बालुवाटारमा नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।
सचिवालयको बैठकमा पनि नेताहरूबीच बजेट, एमसीसी र संविधान संशोधनका बारेमा नै छलफल भएको छ। सचिवालयको बैठक र छलफल दुबैमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्। आफूलाई बिसन्चो भएको भन्दै ओली बैठकमा सहभागी नभएपछि कुनै पनि निर्णय भएन । वर्तमान सरकार एमसीसी परियोजना पास गर्ने मुडमा पुगेपछि पार्टीका शीर्ष नेताहरुले असन्तुष्ट नेताहरुलाई बोलाएर छलफल गरेको स्रोतको दावी छ ।




