नेपाली जनताले नपत्याए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको उत्तर पश्चिम सीमानामा भरतीय पक्षले बनाएको बाटोको बारेमा जानकारी गराइएन रे । तर, उक्त विषयमा नेपाल सरकारलाई सूचना प्राप्त भई अवगत समेत भएको थियो भन्ने परराष्ट्र मन्त्रीको संसद समक्षको अभिव्यक्तिले जनताले नपत्याएको प्रधानमन्त्रीको झुटो अभिव्यक्ति छर्लङ्ग नै भयो । नेकपा भित्रको शक्ति संघर्षको परिणामस्वरुप नेकपाको अध्यक्ष र प्रधानमन्त्री दुवै जिम्मेवारीबाट अलग हुनु पर्ने नेकपा सचिवलय र स्थायी कमिटीको निश्कर्ष पश्चत विकसित राजनीतिक घटनाक्रमले भारतले मिचेको नेपाली भूमि समावेश गरी नेपालको नक्सा सार्वजनिक गर्न प्रधानमन्त्री(सरकार) तयार भएको देखिन्छ । यो कदमले पार्टीभित्र प्रधानमन्त्रीलाई केही बलियो बनाएको र सत्ताको आयु लम्व्याएको अनुमान लगाउन सकिन्छ । यसमा उत्तरी छिमेकी चीनको प्रत्यक्ष संलग्नता,हस्तक्षेप तथा चासो इतिहासको अभिलेखमा रहला साथै दूरगामी प्रभावका परिणमहरु क्रमशः देखिदै जाला । सिधै सिंहदरवारमा पुगेर नेपाली सुरक्षाकर्मीहरु माथि हातपात गर्ने चिनिया नागरिकको शैली शासकीय प्रवन्धहरुमा पनि नदेखिएला भन्न सकिन्न । आचरण, व्यवहार,शैली र स्वभावका दृष्टिले दक्षिणी छिमेकीभन्दा उत्तरी छिमेकी बढी कठोर तथा निर्दयी देखिन्छन । एउटा छिमेकीबाट वाक्क दिक्क भएको नेपाल र नेपाली अर्को छिमेकीको आशीरवाद र शरणमा जान खोजेको अवस्थाले कस्तो परिणाम आउछ त्यो हेर्न र महशुस गर्न केही समय कुर्नु पर्ला ।
नेपालले आफ्नो भूमि समावेश गरेर नक्सा जारी गरेपछिको भारतीय प्रतिक्रिया मिश्रित देखिन्छ । भारतीय सञ्चार माध्यमले धेरै उक्साउन खोजे पनि त्यहाँको सरकार कूटनीतिक जगत र बुद्धिजिवीहरु सन्तुलित रुपमा प्रस्तुत भएका छन । सेना प्रमुख किन बोले भन्ने एउटा विषयभन्दा बाहेक भारतको समग्र प्रतिक्रिया अस्वभाविक छैन । कूटनीतिक माध्यमबाट समाधान खोज्नु पर्छ भन्ने कुरामा सहमति देखिन्छ । भारतीय पक्षबाट भएका गल्ती कमजोरीहरुको समिक्षा आवस्यक छ भन्ने मत बलियो भएर आएको छ । नाकावन्दी,नोटबन्दी, सीमा विवादजस्ता घटनाले नेपाललाई ठेस पुगेको छ ।
तत्कालिन नेकपा माओवादीलाई भारतमा आश्रय दिएर ठूलो गल्ती भएको र त्यसकै परिणाम भोग्न भारत बाध्य भएको भन्ने सुरक्षाविद् एवं भारतीय सेनाका निवृत्त जनरल वकसीको अभिव्यक्तिले केवल भारतीय संस्थापनको नेपाल सम्वन्धी नीतिको मात्र पर्दाफास गरेको नभइ नेपालका नेताहरुको चरित्र पनि उदागो भएको छ । तत्कालिन नेकपा माओवादीले भारतको इच्छा,इसारा,सहयोग र स्वार्थमा नेपालमा हमाला गरेको प्रमाणित भएको छ । केही समय पहिले नै वृत्तमन्त्रि तथा राष्ट्रपति प्रणव मुखर्जीले खुलासा गरेको विषय नक्सा प्रकरण पश्चात पुनः चर्चामा भएको छ । पूर्ववर्ती भारतीय कांग्रेसको सरकारको गलत नीति र व्यवहारका कारण नेपालका माओवादीलाई नेपालको राजसंस्था,हिन्दु राज्य समाप्त गर्न प्रयोग गरिएको भन्ने भनाइले तत्कालिन माओवादी र यसको नेतृत्वमाथि गम्भीर प्रश्न चिन्ह लागेको छ । १७ हजार नेपाली मारिएको र भौतिक संरचनाहरुको क्षति भएको,नेपालीहरु विस्थापित भएको,हत्या हिंसा आधार भारत नै भएको भन्ने वास्तविकता छर्लगं हुदा समेत हिजोका माओवादी र आजका नेकपाका नेताहरु एक शब्द पनि बोलेका छैनन । भारतका विरुद्ध सुरुग युद्ध गर्ने नारा जनताका बीचमा पस्केर भारतीय इसारा र योजनामा नेपाली जनता र नेपालको अस्थित्वमाथि प्रहार गर्ने तत्कालिन नेकपा माओवादीका नेताहरुको राष्ट्रघाती कदमका विरुद्ध नेपाली नेपालको सार्वभाैमसत्ता, राष्ट्रिय अखण्डता,आन्तरिक एकताको अभियानलाई अगाडी बडाउन नेकपाले नसक्ने निश्चित छ । त्यही प्रवृत्तिका कारण भारत साथै नेपालमाथि हानी भएको छ । त्यस्तो दोहोरो चरित्र र भूमिका विकाउ मानिसहरुलाई नेपाली राजनीतिबाट विस्थापित नगरी स्वाभिमानी नेपालीहरुको लक्ष्य र उद्देश्य अनुरुपको नेपाल निर्माण संभव छैन ।
आफ्नो स्वार्थका लागि देशको महत्व र पहिचान विक्रि गर्ने राजनीतिकर्मीहरु बाट नेपाली राजनीति मुक्त गर्ने अभियान चलाउनु अतिआवस्यक छ । भारतीय स्वर्थ र चाहनालाई नेपाली जनताले कहिल्यौं स्थान दिएनन र दिने छैनन । जनताको तहबाट सधै सवक सिकाइएको छ । तर यसलाई आफ्नो राजनीतिक स्वार्थ सिद्धको साधन बनाएर पद हत्याउने नेपाली शासकहरुको कारण नेपालले आफ्नो स्पष्ट अडान र दृष्टिकोण प्रस्तुत गर्न नसकेको देखिन्छ । सत्ता स्वार्थबाट प्रेरित राजनीतिक समुहको कब्जाबाट नेपाली राजनीतिलाई अलग गर्ने अभियानको नेतृत्व नेपाली युवाहरुले गर्न आवस्यक छ । नेपालको समस्या नेपालमा नै समाधान खोज्छौ भन्ने भावनाको विकास गराउने राजनीतिक शिक्ष र चेतनाको आवस्यकता तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ । भारत र चीनसंगको सम्वन्धलाई समदूरीमा राखेर राष्ट्रिय स्वार्थ हासिल गर्न सकिन्छ भन्ने सोच र चिन्तन आवस्यक छ । प्रतिक्रियात्मक राजनीतिले दीगो समाधान दिदैन । कहिले भारत परस्त त कहिले चीन परस्त हुने नीति नेपालको हितमा छैन । प्रधानमन्त्री ओलीको अभिव्यक्ति भारतलाई चिड्याउने र चीनलाई खुशी बनाउने किसिमको छ । यो सन्तुलित परराष्ट्र नीति विरोधी स्वार्थी कुरा हो । आफ्नो सत्ता सुरक्षित गरिदिएको गुन यसरी तिर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले समस्याको समाधान खोज्न सहयोग पुग्दैन । नक्सा जारी गरेर सर्षोल्लास गरिएको अर्थ यो होइन कि हडपिएको नेपाली भूमि फिर्ता गर्न नसकियोस । चिढ्याउने अभिव्यक्तिले\प्रस्तुतिले समाधान दिदैन भन्ने सुझबुझ र दीर्घ दृष्टिकोण नेपालले राख्नु पर्छ । त्यसमा नेपालका प्रधानमन्त्री चुकेका छन । भूमि विवादको विषयमा भारतको भाइरस कडा तर चीनको नरम, सत्यमेव जयते वा सिंहमेव जयते जस्ता शब्दावाली प्रयोग गर्ने काम परिपक्क होइन,प्रतिक्रियात्मक हो । समाधान होइन समस्या हो । नेपाली जनता दुवै छिमेकसंग सन्तुलित र सुमधुर सम्वन्ध चाहान्छन ।
नेपाली भूमि मिचिएको सम्वन्धमा नेपाली कांग्रेसका नेता माननीय मिनेन्द्र रिजालको अभिव्यक्तिलाई सिंगो राष्ट्रले स्वागत स्वीकार गरेको छ । भारतीय मिडियालाई शसक्त जवाफ दिने र सत्ता र प्रतिपक्षबीच खेल्ने विषयलाई आफूहरु तमाम असहमती र असन्तुष्टिका बावजुत सीमा सम्वन्धी विवाद र विषयमा प्रधानमन्त्रीसंगै भएको भनाईले भारतीय पक्षलाई झस्काएको छ । फूटाउ र राज गर भन्ने सिद्धान्त प्रतिकुलको रिजालको अभिव्यक्तिले जसरी राष्टिय मान्यता र स्वीकार्यता पाएको छ । त्यस्तै अभिव्यक्ति अन्य नेताहरुसंग पनि अपेक्षित छ । आफ्नो क्यारियर भारतमा बनाएकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले सामाजिक सञ्जालमा व्यक्त धारणालाई भारतीय मिडिया र समाजले आलोचना गर्यो । वीपी कोइरालाकी नातिनी मनिषाले आफ्नो अडान छाड्ने कुरा नै भएन । उनीप्रति लक्षित अभिव्यक्तिको जवाफमा मनिषाले आफूले आफ्नो कला,सीप भारतीय फिल्म क्षेत्रमा बेचेको हो,नेपालको स्वाभिमान र आफ्नो मातृभूमिलाई होइन भन्ने अभिव्यक्ति दिएर नेपाल र नेपालीको उत्साह बढाएकी छन। यस्तै उत्साह,आत्मस्वाभिमान र स्वाभिमानी भावना भएको राजनीतिक नेता आवस्यक छ । त्यही भावना र अभिव्यक्तिका आधारमा प्रस्तुत हुदामात्र नेपालले आफ्ना छिमेकीसंग आँखामा आखा जुधाएर कुरा गर्न सक्छ र आफ्नो लक्ष्य र उद्देश्य हासिल गर्न सक्छ । न की भारतको इसारामा नेपालका माओवादीले कथित जनयुद्ध गरेको र राजसंस्था तथा हिन्दू राज्य समाप्त गरेको आरोप र यथार्थता सार्वजनिक हुँदा समेत एक शब्द बोल्न नसक्ने र नबोल्ने राजनीतिक व्यक्तिहरुबाट नेपालको स्वाधीनता र स्वाभिमानिता कायम राख्न सकिन्छ ।
कोरोना भाइरसबाट विश्वव्यवस्था शंकटमा परेको छ । नेपालीहरु ठूलो संकटमा छन । आफ्नो घर आउन पाएका छैनन । उचित उपचारको व्यवस्था छैन । विश्व वजारमा गएका नेपालीहरु राज्यको उपयुक्त व्यवहारको अपेक्षा गरिरहेका छन । सरकार लकडाउनमात्रै समाधान हो भन्ने ढंगले प्रस्तुत भएको छ । आन्तरिक कलहको अवस्थाले गर्दापनि सरकारको प्रभावकारीता छैन । कम्युनिष्ट नाउको सरकार चीनतर्फ ढल्किएको आरोप लागेको छ । यस्तो अवस्थामा वजेट आउदै छ । अर्थतन्त्र संकटग्रस्त भएको बेला अन्य दातृसंस्था तथा राष्टहरुले सहयोग गर्न हिचकिचाउने किसिमको कम्युनिष्ट लसपस नेपालको हितमा छैन । जनताले प्रतिश्पर्धात्मक राजनीतिक स्थान दिएर नेकपाको पक्षमा मतदान गरेका छन । यो मतादेश आवधिक हो। देशको हितमा काम गर्ने समय प्राप्त भएको अर्थमा लिई देशको अहित हुने संलग्नता देखाउने छुट सरकारलाई छैन । आफूलाई अनुकुल हुँदा भारतीय दूतावस छिर्ने,प्रतिकुल हुदा चिनीय दुतावास धाउने राम्रो काम होइन । एम्बुसमा परे भन्ने व्यक्ति अहिले नेकपाका अध्यक्ष छन । उनलाई भारतले सहयोग पुर्याएर गल्ती गरेको टिप्पणी आएका छन । यस्ता गम्भीर र संवेदनशील विषयमा स्पष्ट भएरमात्र नेपालले आफ्नो अस्थित्व जोगाउन सक्छ । साथसाथै आफ्नो तटस्थता प्रस्तुत गरेर विग्रिएको अर्थतन्त्रलाई सुधार गरी नेपालको विकास यात्रालाई अघि बढाउन सकिन्छ । यस्तो अत्यावस्यक सजकता प्रति उदसिन भएर संमृद्धिको यात्रा तय गर्न सकिदैन । एउटा देशसंगको सम्वन्धलाई अर्को देशसंग भिडाएर स्वतन्त्रता र सफलता पनि हासिल हुदैन न त विश्वव्यापी महामारीको विरुद्ध लड्न नै सकिन्छ । सामुहिकता र आपसी सहयोगमा संक्रमण घटाउन सकिन्छ साथसाथै शालिनता र संयमतपूर्वक प्रस्तुत हुँदा कुटनीतिक सफलता हासिल हुन सक्छ ।




