काठमाडौं । नेपाली सेनाका उच्च अधिकारीलाई नै कोरोना भाइरस देखिएपछि अन्य सुरक्षा निकायमा उच्च सर्तकता अपनाउन थालिएको छ । सेनाले अहिले दैनिक ८ सयदेखि ९ सय पेट्रोलिङ गरिरहेको अवस्थामा ३० बेड आईसीयू र एक सय बेड आइसोलेसन तयार छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि तयारी अवस्थामा राखेका छन् ।
नेपाली सेनका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कोरोना संक्रमणमा काम गर्ने १५ हजार बढी जनशक्ति तयार रहेको र हरेक व्यारेकलाई सेफ जोनका रुपमा विस्तार गरिएको छ । उनका अनुसार नेपाली सेना अहिले हाइ अलर्टमा रहेको छ । सशस्त्र प्रहरी बलले ७७ जिल्लामै कोरोनाविरुद्ध तयारी गरिरहेको छ । हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ । सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ ।
सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ । स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ । कार्यालयहरुमा बिशेष सतर्कता अपनाइएको प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए । कार्यालयहरुमा थर्मल गनबाट ज्वरो नाप्न थालिएको छ भने सचेतना बढाइएको छ ।
त्यसैगरी नेपाल प्रहरी फ्रण्टलाइनको सुरक्षा संयन्त्र भएकाले झनै सजकता अपनाउनु परेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजकुमार शाहीले बताए । उनका अनुसार प्रहरीमा रहेका हरेक प्रहरी कार्यालयमा क्वारेन्टाइन बनाइएको छ । नेपाल प्रहरीको अस्पतालमा आसियू र आइसोलेशन कक्ष पनि तयारी अवस्थामा राखिएको छ । त्यसबाहेक सशस्त्र प्रहरीको अस्पताल नै कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा आएकाले संक्रमित सुरक्षाकर्मीहरुको उपचार पनि त्यहीबाट भैरहेको छ । फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी कोरोना संक्रमित भएपछि सुरक्षा संयन्त्रहरु हाइअलर्टमा रहेका हुन् । कोभिड-१९को संक्रमणले नेपालमा कसैलाई पनि छाडेको छैन । संक्रमणको संख्या बढ्दै गएपछि फ्रन्टलाइन ९अग्रमोर्चा०मा खटिएर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु संक्रमित हुन थालेका छन् । अहिलेसम्मको तथ्यांकअनुसार ९जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण पुष्टी भइसकेको छ । पुष्टी हुनेहरुमा सुरक्षाकर्मीतर्फ २ जना नेपाली सेना, सशस्त्र प्रहरीका १ जना सई र २ जवान, नेपाल प्रहरीका १ सई, २ जवान र राष्ट्रिय अनुसन्धानतर्फका १ असई कोभिड-१९ बाट संक्रमित भएका छन् ।
लकडाउनलाई छिचोलर भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि नेपालमा कोरोनाभाइरस संक्रमणको संख्या बढ्दै गएको छ । लुकेर नेपाल प्रवेश गर्ने अनि क्वारेन्टाइनमा नबस्ने कारण कोरोना संक्रमणको जोखिम झनै बढेको छ ।शुरूका दिनहरुमा फाट्टफुट्ट मात्र संक्रमित देखिएकामा केही दिनयता नेपालमा संक्रमणको दर निकै बढेको छ । यसबाट महामारीले अझै विकराल रूप लिन सक्ने संकेत देखिन्छ । बारामा सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि त्यहाँको सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा समेत त्रास उत्पन्न भएको थियो भने । महोत्तरीस्थित मध्य पृतनामा रहेका नेपाली सेनामा सेमत त्रास उत्पन्न भएको छ ।




