काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएसँगै त्यहाँको ब्यारेक सिल गरिएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएपछि सेनाको ब्यारेक सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलन भैरहेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार उनीहरुलाई सशस्त्र प्रहरीको आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार शनिवार साँझ ६ बजे दुवैलाई सेनाको गाडीमा राखेर काठमाडौं ल्याइएको थियो । पृतनापति र चिकित्सकमै कोरोना देखिएपछि अवस्थित मध्यपूर्वी पृतनाको ब्यारेक सिल गरिएको छ, ब्यारेकभित्रका कुनै पनि सेनालाई बाहिर आउन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने । सो ब्यारेकभित्र करिब दुई हजार सैनिक कर्मचारी रहेका छन् । तर नेपाली सेनाले भने यो विषयमा कुनै आकिारिक धारणा सार्वजनिक गरेको छैन ।
ब्यारेकमा रहेका एक सैनिकका अनुसार ब्यारेकभित्रका सबै सेनाहरू त्रसित भएका छन्। पृतनापति र उक्त चिकित्सकको सम्पर्कमा ब्यारेकभित्र नै धेरै सैनिकहरु आएको कारण पनि ब्यारेकभित्र त्रासको अवस्था सिर्जना भएको हो । ब्यारेकभित्र अस्पताल, विद्यालय समेतका संरचनाहरू निर्माणाधिन रहेको छ । उक्त ब्यारेकभित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गणसहित पृतनाका समेत रहेका कारण अहिले ब्यारेक वरिपरि सशस्त्र प्रहरी र नेपाल प्रहरीले कसैलाई पनि जान दिएको छैन ।




