काठमाडौं । २६ वर्ष अघिदेखि जेठ ३ गते एउटै विषय सम्झिने गरिन्छ । त्यो विषयले नेपाली राजनीतिमा एक प्रकारको तरंग नै ल्याएको छ । तत्कालिन एमाले र हालको नेकपाका नेताहरुले तत्कालिन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु प्रकरणलाई हत्या भएको बताइरहँदा त्यसको अनुसन्धान प्रकृया अहिलेसम्म नबन्नु र एकहोरो हत्या मात्रै भयो भन्नुले यो विषय टुंगो लाग्न सकेको छैन ।
वर्तमान राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै भण्डारीकै पत्नी विद्यादेवी भण्डारी रहेकी छिन भने मुलुकको कार्यकारी प्रमुख भण्डारीकै राजनीतिक सहकर्मी केपी शर्मा ओली रहँदापनि दासढुंगा दुघर्टनाबारे यथोचित अनुसन्धान हुन सकेको छैन । प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन् । ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु । आज ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा छिन् । प्रश्न उठ्नु स्वभाविक छ– के मदनआश्रितको हत्या भएको हो दुघर्टनामा मृत्यु भएको हो त्यसबारे कसैले थप अनुसन्धानको प्रकृया अघि बढेको छैन । मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने यीनै राष्ट्रपति विद्यादेवीलाई परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन। तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ?मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत नेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए। प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए । एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको अहिले २६ बर्ष भईसक्यो।
वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किन सफल भए । उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन । विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह गरेकी थिइन् । मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन् । विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन् । भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको तथ्य सार्वजनिक भयो । अमर लामा जेल परे जेलबाट छुटेपछि पनि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य खोलेनन् । पछि लामाको पनि हत्या भयो । उनको हत्या माओवादी लडाकुहरुले गरेको सार्वजनिक भयो । तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन । न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो, न कसैले यसमा चासो नै दियो ।
भण्डारी तथा जीवराज आश्रित चढेको जीप दुर्घटना भएपछि नेताद्वयको हत्या भएको भन्दै एमालेले आन्दोलन चर्कायो । आन्दोलन चर्किंदै गएपछि सरकारले पूर्व न्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग गठन गर्यो । अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त वुझाएन र आन्दोलन झन चर्कियो । त्यसपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग बनाइयो । तर यो आयोगले पनि मदन आश्रितको जीप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन । त्यहीविचमा एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरियो । जनस्तरबाट पनि पद्मरत्न तुलाधर आयोग गठन भयो । पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर गर्यो । भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो। नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए। त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सो सम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले स्पष्टिकरण दियो। पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे । उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा गरेको आन्दोलनपछि बनेको एमालेको सरकारले कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो । न त त्यसले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो ।
अहिले सरकार प्रमुख केपी ओली रहेका छन् । शनिवार पार्टी अध्यक्षको हैसियतले ओली र पुष्पकमल दाहालले जारी गरेको विज्ञप्ति हेर्ने हो भने मदन आश्रितको मृत्यु प्रकरणलाई पुन अन्वेषण गर्ने शब्द राखेर औपचारिकता निभाएको देखिन्छ । नेकपाकै दुई तिहाई नजिक रहेको सरकारले पनि यसलाई किन अनुसन्धान गर्न हिच्किचाएको भन्ने प्रश्न उब्जेका बेला अध्यक्षद्धय थप भ्रम छर्ने गरी अनुसन्धानलाई अन्वेषण गर्ने भनेर विज्ञप्ति जारी गरे । ओली र दाहालले नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्युको यथार्थ गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । ‘यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जिप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन, तर आमनेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैन, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन,’ ओली र प्रचण्डले वक्तव्यमा प्रतिबद्धता जनाउँदै भनेका छन, ‘२७औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।
उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ संकल्प गर्दछ ।’ भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता भएको स्मरण गर्दै उनीहरूले अन्र्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको वेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न उनको प्रतिपादित विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । तर उनीहरुले अन्वेषणको प्रकृया कसरी हुन्छ भनेर कतै उल्लेख गरेका छैनन ।




