काठमाडौं । सरकारले आज अपरान्ह चार बजे प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने भएका छन् । कोभिड–१९ (कोरोना) भाइरस परीक्षण नगरेका कारण उनीहरुले संघीय संसदमा प्रवेश गर्न नपाउने भएपछि सहभागी नहुने भएका हुन् ।
प्रतिनीधि सभाका ७ सांसद र राष्ट्रिय सभाका २ सांसदको कोरोना परीक्षण नभएपछि उनीहरुलाई संसद भवनमा प्रवेश निषेध गरिएको छ । । प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी को कोरोना परीक्षण गर्न बाँकी छ । त्यस्तै, राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवानको पनि कोरोना परीक्षण गरिएको छैन । उनीहरुले संसदको संयुक्त अधिवेशनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा सहभागीता जनाउन पाउदैनन् ।
सरकारले संघीय संसदका सांसदहरुलाई अनिवार्य पिसिआर प्रविधिवाट कोरोना परिक्षण गराएको र परिक्षण नेगेटिभ देखिएकालाई मात्र प्रवेश गर्न दिने नीति बनाएको छ । प्रतिनिधिसभामै विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार भने विभिन्न फौजदारी र भ्रष्टाचारको आरोपमा निलम्बनमा छन् । राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ । सरकारले आज अपरान्ह नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।




