काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । आज अपराह्न ४ बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ । सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको प्रवक्ता पाण्डेले बताए। प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यो वर्ष सरकारले स्वास्थ्य पूर्वाधार, शिक्षा, व्यावसायिक कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।




