आपूर्ति सम्वद्ध कार्यहरुमा अवराेध नगर्ने र वैंक तथा वित्तीय संस्थाहरु खुला गरेर जनजीवनलाई केही सहज तुल्याउने गरि सरकारले वैशाख २५ देखि पुन जेठ ५ गतेसम्मका लागि लकडाउनकाे अवधि थप गर्याे । काेराेना भाईरसकाे सङ्क्रमित सँख्या घट्नुकाे वदला विगतदेखि हालसम्म नै क्रमश वढ्दै आउनुले गर्दा याे अवधि थप गर्नु सायद सरकारलाई वाध्यता पनि थियाे । किनकि आम जनताहरुकाे जीवन रक्षाका लागि अधिकतम प्रयास गर्नु सरकारकाे गहनतम दायित्व हाे ।
हामी जीवनकाे यात्रा अगाडि वढाउने क्रममा निरन्तर दाैडधुप गर्दा रहेछाैं । हाम्रा दाैडादाैडकाे यस्ता कार्यहरुलाई लगाम लगाउने कार्य यस्तै विपत्तिहरुले सिर्जना गर्दाे रहेछ । यस्ताे विपत्तिकाे समयमा हाम्रा दैनन्दिनका यात्राहरु विपरित दिशातर्फ माेडिदा रहेछन । २०७३/७४ सालतिर करीव एकवर्ष खाेटाङमा वस्दा जगदीश घिमिरेद्वारा लिखित “अन्तर्मनकाे यात्रा” पढ्ने अवसर प्राप्त भएकाे थियाे भने अहिले काेभिड-१९ काेराेना भाइरसकाे सन्त्रासद्वारा सिर्जित लकडाउनले भने म स्वयं आँफैलाई पनि अन्तरमनकाे यात्रा गर्ने अवसर जुराई दियाे । दिनभर घरकाे चार दिवाल भित्रकाे वन्दी जीवनमा भाैतिक यात्रा सम्भव नहुँदा स्वभाविक रुपमा अन्तरमनकाे यात्रामा निस्कन कर लाग्दाे रहेछ । यतिखेर भने मैले प्रत्यक्ष अनुभूत गरेकाे छु अन्तरमनकाे यात्रालाई । आशा गराैं नमरिकन अलिक वर्ष वाँचिएछ भने मेराे जीवन यात्रामा याे यात्रा पनि अनुभव र अनुभूतिकाे तराजुमा काेशेढुङ्गा सावित हुनेछ । सायद म अनुमान गर्छु-“यतिखेर सम्पूर्ण विश्वका मानिसहरु अन्तरमनकाे यात्रामा निस्किएका छन” ।
सँधैेभरी घरभित्रै वस्नु पर्ने वाध्यताकाे कठिन क्षणमा हरेक दिनकाे प्रात: कालिन आधा घण्टाकाे समयलाई एकान्त स्थलकाे भाैतिक यात्राका लागि छुट्याउने गर्दा पनि म भित्र सिर्जित अन्तरमनकाे यात्रा भने सँगसँगै हिडिरह्याे । मर्निङ वाकका पछिल्ला दिनहरुमा मैले देखिरहेकाे छु – ससाना चिया पसलहरु लगायत विभिन्न खालका ससाना पसलहरुले समेत आफ्नाे पसल अगाडि तरकारी फिंजाएर वस्न थालेका छन । वाध्यताले मान्छेलाई आफ्नाे व्यवसाय परिवर्तन गर्न अभिप्रेरित गर्दाे रहेछ । किनकि जतिसुकै कठिन क्षणमा पनि मान्छेलाई नभई नहुने चिजवस्तु भनेकाे खाद्यान्न र तरकारीहरु नै रहेछ ।
२०७२ सालमा गएकाे भूकम्पमा महशुस गरिएकाे संकट र अहिलेकाे काेराेना भाइरसकाे सन्त्रासले सिर्जना गरेकाे विपत्ति करीव उस्तै छ र पनि हामीले अपनाउनु पर्ने सुरक्षा कवच पूर्णत विपरित खालकाे हुँदाेरहेछ । ०७२ सालमा भूकम्प जाँदा हामी घरभित्र वस्न सकेनाै । रात काे समयमा पनि मन भित्रकाे त्रासै त्रासमा खुला आकाशकाे छादनमा वस्न वाध्य भयाैं भने अहिलेकाे काेराेना सन्त्रासकाे विपत्तिमा घर बाहिर वस्न तथा घुमफिर गर्न सकेनाै । त्यतिखेर यातायातका साधन अधिकतम परिचालन भए तर अहिले भने राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान मात्र हाेईन सम्पूर्ण यातायातका साधनहरु लगायत सम्पूर्ण मुलुकलाइ सरकारले नै लकडाउन घाेषणा गर्याे । भूकम्प एउटा निश्चित क्षेत्र वा मुलुक विशेषकाे कभरेजमा थियाे भने अहिलेकाे भाईरसकाे प्रकाेप विश्वव्यापि महाविपत्तिकाे रुपमा फैलदै छ । मानव सन्त्रास सम्वद्ध यस्ता महाविपत्तिहरुकाे रुप, रङ्ग र व्यवस्थापन पक्ष वीच पनि कति धेरै भिन्नता हुँदाे रहेछ । म आफै चकित पर्छु ।
यतिखेरका पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा वेलायतका प्रधानमन्त्री वाेरिस जाेनसाेनकाे छाेटाे भिडियाे भाईरल वनेकाे छ । उनी अहिले कै महामारीकाे रुप लिंदै गरेकाे समस्यावाट उपचार गराएर स्वस्थ्य भै घर फर्किए पछि उनलाई भेट्न केही पत्रकारहरु उनकाे निजी निवास गए । घरमा ती सवै पत्रकारलाई वस्न पुग्ने खालकाे वैठक कक्ष नभएकाे हुँदा पत्रकार भेट्न उनी बाहिर चाैरमा नै आए र फरक फरक साईज र रङका कपमा आफैले कफि वनाएर वितरण गरे । यसवाट थाह लाग्याे वेलायतजस्ताे समृद्ध र विकसित मुलुकका प्रधानमन्त्रीकाे वसाई कति सामान्य रहेछ भन्ने कुरा । नेतृत्वमा रहनेहरुकाे जीवनशैली कस्ताे हुनुपर्दाे रहेछ ? भन्ने यथार्थ चित्रण यसले गरेकाे छ भने प्रधानमन्त्री स्वयं नै पनि आफ्नाे निजी जीवनलाई भन्दा मुलुककाे सुशासन र समृद्धिका लागि कसरी खटिदा रहेछन भन्ने कुराकाे संकेत गरेकाे छ । तब न विकास हुन्छ मुलुक । तर हाम्राे मुलुकमा सर्वहारा वर्गकाे शासनसत्ता ल्याएर आर्थिक समानता कायम गर्ने नारा घन्काएर सत्तामा पुगेका नेता प्रधानमन्त्री हुनासाथ सान, साैकात, हैसियत र तामझाम अस्वाभाविक किसिमले वढेकाे छ । निर्लज्ज हिसावले धन सम्पत्ति जाेड्न लालायित हुने भ्रष्ट मन्त्रिलाइ वचाउन स्वयं प्रधान मन्त्री नै लागि पर्ने गरेकाे अवस्था विकसित वन्न गएकाे छ । यसकाे साथै याे मुलुककाे शासनसत्ता सँधैभरी आफैले चलाउने झैं गरि साम्राज्य कायम गर्न तम्सनु अर्काे विडम्वनाकाे विषय हाे । वास्तवमा हाम्राे मुलुकका लागि याे ठूलाे दुर्भाग्य हाे ।
अमेरिका र युराेप लगायतका कतिपय मुलुकहरुले काेराेना भाईरसकाे महामारी हुँदा हुँदै पनि लकडाउन गर्दा त्यसकाे असरले अर्थतन्त्र डाँवाडाेल हुन जाने र यसवाट मानव जीवन थप जाेखिममा पर्न गै अझ वढी भयावह अवस्था सिर्जना हुने ठानेर मुलुकलाई लकडाउनमा लग्ने आट गरेनन । हामीले लकडाउनका कारणले मानवीय क्षतिकाे तीव्र वृद्धि अवश्य राेकेका छाैं । तथापि अब वैदेशिक राेजगारमा जाने नेपालीहरुमध्ये पनि काेराेनाकाे सङ्क्रमणमा परी कतिपय व्यक्तिहरुले मृत्यु वरण गर्नु परेकाे र त्यहाँका कलकारखानाहरु समेत बन्द गर्नुपर्ने अवस्थामा पुगेकाे हुदा नेपाल फर्कनलाई हारगुहार गरेर वसेका नेपालीहरुलाई अब नेपालमा फर्काउनै पर्ने वाध्यता वनेकाे छ । त्याे कार्य सरकारकाे दायित्व पनि भएकाले त्यसरी फर्कनेलाई आइसाेलेशन र क्वारेनटाइनमा राखेर उपचारगर्ने देखि लिएर कहाँ कसरी व्यवस्था गर्ने हाे ? तिनीहरुकै रेमिट्यान्सले धानिएकाे मुलुककाे अर्थन्त्रलाई धरासायी हुनवाट कसरी वचाउने हाे ? यसतर्फ सरकारले अविलम्व साेच्नु जरुरी छ । अन्यथा याे विषयले विकराल रुप लिनेछ । सत्तारुढ दल भित्रकाे आन्तरिक झगडावाट सरकारले निर्वाह गर्नुपर्ने यस्ता दायित्व माथि कुनै पनि हालतमा आघात पुग्नु हुदैन । तर यतिखेर सत्तारुढ दलकाे आन्तरिक किचलाेकाे असरले मुलुकका यावत समस्याहरु थाती रहेका छन । जाे मुलुक र मुलुकवासिका लागि ठूलाे दुर्भाग्य हाे ।
अन्तरमनकाे यात्रामा विचरण गर्दै गर्दा पनि यस्तैयस्ता तरङ्गहरु मानसपटलमा छताछुल्ल हुँदा रहेछन । अनि सम्झन्छु – “अन्तर्मन भित्र हुने यात्राका अनगिन्ति डेस्टिनेशनहरुमध्ये सायद याे पनि एउटा हाेला” ।




