काठमाडौं । नेपालमा थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। मंगलबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट पर्सा, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर र काठमाडौंका थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नयाँ तथ्यांक अनुसार पर्सामा १८, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई, काठमाडौं र सर्लाहीमा एक–एक गरी थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित २६ मध्ये १७ जना पुरुष र ९ जना महिला रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१७ पुगेको छ। यसअघि मंगलबार दिउँसो पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना गरी ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।




