काठमाडौं । कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भारतले नेपालको सीमामा सडक बनाउँदै गरेको सूचना यो सरकारसँग थियो कि थिएन भनी प्रश्न गरेका छन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत सरकारलाई पठाएको डिप्लोमेटिक नोटबारे सदनमा जानकारी गराएपछि त्यसबारे प्रश्न राख्दै उनले यस्तो बताएका हुन् ।
सडकाबारे चीन र भारतबीचको सहमति हुँदा नेपालमा सुसिल कोइरालाको नेतृत्वको सरकारले गम्भीर प्रोटेस्ट नोट पठाएको जानकारी गराउँदै बडुले त्यसपछि आज उद्घाटन हुँदा सम्म यो सरकारले के नोट पठाएको छ यसको जानकारी सदनमा गराउनु पर्ने माग राखे ।
आफूले संसदमा तथा मिडियामा बोल्दा समेत ध्यानाकर्षण नभएकोको बडुले आपत्ति जनाएका छन् । भारतले युद्ध स्तरमा सडक निर्माण गरेको बारे बडुले पटक पटक बोलेका थिए तर सरकारले चासो दिएको थिएन । आफूले जानकारी गराउँदा पनि सरकारले थाहा नपाएको भन्दै उनले सरकार के गरेर सुतेर बसेको थियो भनी प्रश्न गरेका छन् ।




