कला/साहित्य

गोपालप्रसाद रिमाल : क्रान्तिको विकुल फुक्ने महान व्यक्तित्व

एक जुगमा एक दिन एक चोटी आउँछ
उलट पुलट, उथलपुथक हेरफेर ल्याउछ
लाटासुधा बोल्न थाल्छन् , चल्छन् ओठ दुःखको
सहेँ भनी सम्झिएका ईख फेर्न उठ्तछन्
(गोपालप्रसाद रिमाल)
नेपालको भाषा–साहित्य र राजनैतिक दुबै क्षेत्रमा अब्वल दर्जामा गनिने गोपालप्रसाद रिमाल आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धारा (१९९१–२०१६) का प्रसिद्ध कवि र सफल सशक्त नाटककार हुन् । उनको जन्म पिता उमाकान्त र माता आदित्यकुमारी रिमालको जेठो सुपुत्रको रूपमा काठमाडौँको लगनटोलमा वि. स. १९७५साल जेष्ठ १५ गते, कृष्ण सप्तमीमा भएको हो ।
मध्यम वर्गिय परिवारमा जन्मेको हुँदा बाल्यकाल शौखिन रूपमा बिताएका रिमाल वाल्यअवस्थादेखि नै तिक्ष्ण बुद्धिका थिए । यिनलाई धेरै पटक दोह्राएर पढ्न नपर्ने । एकचोटी सरसर्ती पढेमा पुग्ने तथा एकोहोरा÷जिद्धी स्वभावका थिए । विद्यालय स्तरमा हुने वादविवाद प्रतियोगितामा प्रथम भई तक्मा समेत पाउँथे । चार कक्षादेखि प्रथम हुँदै म्याट्रिकमा ९० प्रतिशत अङ्कल्याई उनले आफ्नो अध्ययन आइ.ए. सम्म गरे । जेहेन्दार छात्रका रूपमा छनौट भएका कारणले आइ.ए. पढ्दै गर्दा छात्रवृत्ति वापत रू.१५ दिइएको थियो । नौ कक्षा पढ्दादेखि नै कविता लेख्न सुरू गरेका रिमाललाई साथीसङ्गीले प्रयाप्त मात्रामा सल्लाह सुझाव दिन्थे । घरमा रहेर रिमालले संस्कृत र अङ्ग्रेजी भाषा साहित्यको गहिरो अध्ययन गरेका थिए । यिनले आफ्नो पढाइ बीचमै छाडि वि.स. १९९७ सालतिर जुद्धोदय पब्लिक स्कूलदेखि दार्जिङ्गसम्म गएर अध्यापन गराउने काम गरे ।
वि.स. १९९६ तिर रिमाल लप्टनको जागिरमा आवद्ध थिए । उहाँको मन भड्कन गई जागिरै छाडेर केही समय भारततिर भूमिगत अवस्थामा बसे ।
रिमालको विवाह प्रसङ्ग पनि पृथक किसिमको छ । वि.स. १९९० सालतिर यिनले नुवाकोट थानसिङकी मोहनकुमारी भण्डारीसँग विवाह गरे । वि. स. १९९६ मा क्षयरोगका कारण श्रीमतीको मृत्यु भएकाले उनले २००१ मा आफ्नै साली हरिकुमारीसँग दोस्रो विवाह गरे । युवा अबस्थामा यिनी अलि चञ्चल तथा उत्ताउलो स्वभावका थिए । आफ्नी श्रीमतिको अाँखा छलि उनी अन्य युवतीसँग काठमाडौँको विभिन्न ठाउँमा घुमफिरका साथै वातचित गर्ने र प्रेमपत्र लेखी युवतीहरूलाई प्रेषित गर्ने काम गर्थे ।
चेखब, गोर्की, लास्की, इब्सेन, बर्नाडा शा, निराला आदिको गहिरो अध्ययनका साथै यिनीहरू कै प्रभावले साहित्य लेखनमा उर्जा मिलेको बताउने रिमाल प्रकृतिको सौन्दर्य, नरनारीको प्रेम र देशभक्तिलाई केन्द्रियता बनाएर गद्यलयमा कविता लेख्थे ।
वि.स. १९९२ सालमा शारदा पत्रिकामा ‘कविको ज्ञान’ शीर्षकको कविता छपाई साहित्यमा उनी प्रवेश गरेका हुन् । नेपालको इतिहासमा यो पहिलो साहसिक कविताको रूपमा लिइन्छ ।
रिमालले विभिन्न विम्व र प्रतीकले सजाएर कलात्मक अभिव्यक्ति दिन सफल थिए । सुरूसुरूमा उनले विभिन्न मात्रा–छन्दमा कविता लेखे तापनि पछि स्वतन्त्र, झ्याउरे र गद्य लयमा कविता लेखेर स्थापित भए । प्रकृतिक सौन्दर्य, प्रेमभाव, मानवता, करूणा, ब्यङ्ग्य, बिद्रोह भाव रहेका उनका कविता शिल्प वा कलापक्षका दृष्टिले उत्कृष्ट मानिन्छ । सङ्ख्यात्मक दृष्टिले उनका कृतिहरू कम भए पनि गुणात्मक दृष्टिले विशेष महत्व राख्दछ । नेपाली साहित्यको विकास क्रममा गद्य कविताको प्रवर्तकको रूपमा उनलाई लिइदै आएको छ । उनका नेपाली साहित्यमा आमाको सपना (कवितासङ्ग्रह २०२०), मसान (नाटक २००२), यो प्रेम (नाटक २०१५) र माया (एकाङ्की साझा) प्रकाशित कृतिहरू हुन् भने रिमाल नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पु¥याए वापत मदन पुरस्कार (२०१९) र त्रिभुवन पुरस्कार (२०३०) ले सम्मानित भए । उनले केही पुरस्कार र सम्मानहरू अस्वीकार गरेको पनि देखिन्छ ।
त्यस्तै साहित्यक क्षेत्रमा लाग्दाको समयमा भाषानुवाद परिषदका लेखक (२००२), शारदा पत्रिकाका सम्पादक (२००३), दर्पण पत्रिकाका सम्पादकका साथै गौरी शङ्खर नाट्य समुदायको स्थापना गर्न समेत व्रिmयाशील रहे ।
शारदा पत्रिकाको सम्पादकीयमा रिमालले यस्तो लेखे ‘‘नेपाली सबैको साझा फूलबारी र यो साना दुःखले आज्र्याको मुलुक भए जस्तै नेपाली साहित्य पनि विश्व साहित्यको साझा फुलबारी हो ।’’
यसरी उनले पत्रिकाको सम्पादकीयमा तत्कालीन शासकप्रति व्यङ्ग्य गरेको कारणले गर्दा सम्पादक पद नै खोसिएको थियो । शारदा युगका त्रिमूर्तिमध्येका एक मूर्तिका रूपमा रहेका गोपालप्रसाद रिमालका सहयात्रीमा लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ हुन् । निरङ्कुश राणा विरूद्ध नेपालमा प्रजातन्त्रको स्थापना गर्न प्रजा–परिषद् खोलिएको थियो । त्यसैमा रिमालले सकृय भई उपस्थिति जनाए । एक नेपालीले अर्को नेपालीलाई अभिवादन गर्दा जय नेपालको शब्दबाट शुरूवात गर्ने गराउने व्यतिm यिनै हुन् । त्यस समयमा क्रान्तिमा थप उर्जा दिन उनले‘जङ्गी निशान हाम्रो’ कविताको रचना गरे । यो लघु कविता हो । यस कवितामा राष्ट्रिय ध्वजाको गौरव र रक्षाको आत्मवल बढाउने शब्दको चयन गरिएको छ । लडाइँको बखत नेपाली सेनाले प्रयोग गरिएको राष्ट्रिय झण्डामा रहेको सूर्य र चन्द्रको गौरवको गाथाको वयान गर्दै सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व राष्ट्रिय झण्डाले गरेको छ । जगतमा हाम्रो जङ्गी निशानको जन्म भएपछि भारत र चीन जस्ता साम्राज्यले पनि कुनै दिन हार खानु परेको थियो तसर्थ झण्डाप्रति आफ्नो पन तथा आत्मीयताको भाव पोखिएको छ । इतिहासको लामो कालखण्डमा हाम्रो राष्ट्रिय झण्डा कहिले झुकेन र हाम्रो यो जङ्गी निशान हिमाल जस्तै अटल रहिरहोस् ।
रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
ज्यूँदो रगतसरी यो, बल्दो यो शान हाम्रो

हिमाल झै अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो

यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए
सामाज्य्र दुई हारे, हारेन शान हाम्रो

जवसम्म चन्द्र–सूर्य आकाशमा रहन्छन्
तवसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो

गाईसरी छन् साधु जो–जो यहाँ जगत्मा
सवको शरण बलियो जङ्गी निशान हाम्रो

विश्व साहित्यको गतिलाई समयअनुसार समातेर त्यही पाइलामा आफ्नो समाजको परिवेशमा ढाल्नु सक्नु नै गोपालप्रसाद रिमालको विशेषता हो । गद्य कविताको प्रवर्तन भनेर मात्र उनलाई पन्छाउन सकिन्न । उनी भित्र प्रेम तथा बिद्रोह स्वरले प्रत्येक व्यक्ति भित्र रहेको सुषुप्त अवस्थालाई नै जुर्मराउदै उठाई दिन्छ ।
कवि रिमालका आमाको सपना शीर्षकका कविता चर्चा योग्य छ । सरल र स्वभाविक गद्य शैली तथा सन्तुलित शब्द प्रयोगका कवितामा युगीन सामाजिक विसङ्गतिप्रति, आक्रोशित रूपमा व्यङ्ग्य प्रहार गरिएको छ । तत्कालीन समयमा नारी जाति पराधीनताको बन्धनमा बाँधिएको हुँदा मुक्ति पाउनु पर्ने भाव व्यक्त भएका छन् कवितामा । तमाम नेपाली जनतालाई स्वतन्त्रताको लागि आव्हान गरेका छन् । तत्कालीन समयमा क्रान्ति गर्न असम्भव रहेको हुँदा कविताको माध्यमबाट कवि रिमालले क्रान्तिको विगुल फुकेका छन् । क्रान्ति सपनाको अलवा विपनामा पनि अवस्य सम्भव छ । कुनै दिन देशमा सशक्त क्रान्ति भई आम नेपाली जनता स्वतन्त्र हुने छन् । यसरी कविताले निरकुशलताको विरूद्धमा र प्रजातन्त्रको समर्थनमा अक्षरखेती गरेका छन् :
मेरो हर घडीका जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिल्पिले बत्ती लिएर यो आधा रातमा
म आफूलाई निन्द्राको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अल्मलिउँला,
के ही छैन,
तिमी मेरो पुग्ने ठाउँ झै एक्कासी देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए  !
सपनामा तिमी सुरूसुरू आउन सक्छौ,
न पर्खाल, न पहरा
विपनाको पखेटा सपना न हो !
चाहान्छौ भने उडेर आऊनु , को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ
म शकुन्तला झै फूलको सुसारमा हुन्छु ।

वि.स. २००० मा शारदामा छापिएको रिमालको सपना यस्तो थियो :
आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो बिहानीको सूर्य झै उज्यालो छर्दै आउँछ
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्ने छौं,
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँछ तिमी पहिले त सपना हो कि भनेर छामछूम गर्नेछौ ।
० ० ०
तर त्यो तिमी नै होला भन्ने
मेरो यौवन भरिको सपना थियो ।
रिमालले सपना मात्र देखेनन् विपनामा स्वतन्त्रताका लागि लड्ने योद्धाको यसरी खुलेर प्रशंशा गरे ः
हिजोसम्म जो रोई–रोई बाँची रहेका थिए
आज तिनै हाँसी–हाँसी मर्न तयार छन्
तिमी नरोऊ, बस केही बेर पर्ख मात्र
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रै सानो कोठामा आइपुग्नेछ
तिम्रै अँगालोमा अटाउन आइपुग्नेछ,
उसको त्यो धप्प बलेको अनुहार
भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ
तिमी नरोऊ, बस के ही बेर पर्ख मात्र ।

क्रान्ति बारेको धारणा छुट्टै, किसिमले राख्ने उनको दर्शन :
क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ
मैले क्रान्तिलाई सलामी दिसकेँ
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।
म त्यसैको प्यारो छु, त्यसैको प्रेमी छु
क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ ।
म क्रान्तिको भोको छु
क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।
० ० ०
म गर्छु देशसेवा बल देऊ लौ मलाई
मबाट होस् सबैको आनन्द लौ मलाई
तिम्रै गरी पुकारा अर्पण गरेर भेटी
ए शम्भु (वा देवी) लौ मलाई बल देऊ लौ मलाई ।
प्रेम र गर्भधानबारे खुलस्त पार्न सक्ने दार्शनिक कविको रूपमा हेर्ने हो भने उनको अभिव्यक्तिमा सरलता र सत्यताको आवाज बुलन्द भएर घन्किन्छ :
ओ मुनती,
ओ रूपवती
प्रेम त जङ्गलका पनि हुन्छ
यो गाउँ घरमा, यो सहरमा
प्रेम मात्र प्रयाप्त छैन ।
उनले वि.स. २००२ सालमा मसान नाटक लेखी २००३ सालमा प्रकाशन गरे । त्यो नाटक वि.स. २००७ साल अघिको नेपालको सामाजीकतालाई नाटकमा प्रस्तुत गरिएको छ । अघिल्लो र पछिल्लो गरी दुई अङ्कमा लेखिएको नाटक काठमाडौँ शहरमा मध्य वर्गीय परिवारको कथा बग्नुमा आधारित छ । नाटकमा घटना सामान्य छ । मसान नाटक युग परिवर्तनको मसाल हो । यस नाटकको विषयबस्तु एक युगको समाप्ति र अर्को युगको थालनी हो । मध्यम वर्गको नारी स्वतन्त्रता, कुण्ठाको प्रसङ्गलाई नाटकमा उजागर गरिएको छ । सौतानी मामला र यौवनकुण्ठाले गर्दा नारीको मनलाई मसान घर देखिन्छ । उनले आफ्नो जीवनकालमा जम्माजम्मी तीन वटा नाटक लेखे । मसान नाटकले उनी नेपाली साहित्यमा महारथी दरिए ।
मसान नाटकमा एक जोडिबीच भएको के ही संवादका अंश :
(युवती फेरि कृष्णाको  आँखामा हेर्न थाल्दछ ।)
कृष्ण – के ?
युवती – (गर्वले) विहे पक्का भो ।
कृष्ण – कसको?
युवती – बज्यै पनि राजी हुनुभो । बज्यैको र मेरो कुरा मिलेको सुनेर बाजेचाहिँ हराएकोले लठ्ठी पाएजस्तै गरेर बिनालठ्ठी नै खुसीले जुरूक्क उठ्नु भो ।
बिहे पक्का भो ।
कृष्ण –कसको?
युवती –तपाइको ।
कृष्ण –कसले भनेर ?
युवती –(निर्धककसित) मैले भनेर ।
कृष्ण – कसरी ?
युवती – केटी खोजेर, कामकुरो छिनेर, बाजा बजाएर
कृष्ण – छि छि छि छि छि । यो कुरा तिम्रो टाउकोमा कल्ले हालिदियो फेरि ।
युवती – कसैले हाल्नुपर्ने कुरा छैन ।कसैले हालेको हैन । त्यो मभित्र सँगसँगै जन्म्यो । पहिले पीपलको गेजजत्रै सानो हुँदो हो । अहिले त झ्याम्म ठूलो रूखै भैसक्यो । अचिल त्यसको शीतल छायामा बसेर मलाई सुतिरहन, सपना देखिरहन मात्रै मन लाग्छ । मलाई एउटा छोरो चाहिन्छ । यसै नाटकमा बिद्रोहका भाव गुज्जित एक अंश ः
‘म यो मसानमा एकछिन पनि टिक्न सक्तिनँ । यो घरमा स्वास्नी
मानिसहरूको ज्यूँदै दागबत्ती दिँदोरहेछ ।’‘बिना कसुरमा निर्भय भएर सजाय
दिने अधिकार त तपाईहरू (पूरूष) ’लाई पो छ त । हामी त कसुरदारलाई
पनि सजाय दिन पाउन्नौ ।’‘जो आमाहरूको अस्तित्व गुमेको
बहिनीहरूको बिचल्ली भएको हातबाँधेर टुलुटुलु हेर्न सक्छ, त्यस्ता
नामर्दको के विश्वास ?’‘आफूलाई जे गरे पनि हुने अधिकार,
अर्कालाई बिराउनै नहुने कर्तब्य,यो कहाँको न्याय हो ।’
‘यो लोग्ने मान्छेको जातलाई मासुको थुप्रो भए पुग्दो रहेछ ।’
हामीलाई सती तुल्याएर पाए भनेजिउदै आगोमा हाल्न खोज्ने
यस्तैहरू हुन् । यो लड्न नपाउदै हार मान्नुपर्ने जस्तो
सहनै नसकिने दुःख यो संसारमा छैन । भैंचालो त
जानै पर्छ….नयाँ शहर, नयाँसडक त बन्छ….नयाँ भावना
त जन्मिन्छ मनभित्र । हाम्रो यो खल्बलिएको गिदी त मिल्न आउँछ
टम्म भएर–हामी अर्ध सिल्लीहरूको ।
सामन्ती र निरकुंशताको संस्कार भित्र बाँचेका मान्छेलाई दैनिकी जीवन व्यतित गर्न कत्तिको गारो हुन्छ, त्यो उसलाई नै थाहा हुन्छ जो पीडित छन् । न बोल्न पाईन्छ, न लेखपढ गर्न पाइन्छ, न निर्धक्कसँग हिड्डुल गर्न पाइन्छ । दासताको समयमा स्वतन्त्रताको अनूभूति लिन आतुर मन लामो समय दबिएरै बस्नु पर्दाको पीडा स्वभाविकै सहन सकिन्न । ३६५ दिनमा एक दिननै किन नहोस्, उसलाई बाचेको सार्थक जीवनको अनुभूति हुन्छ नै । यसै सन्दर्भमा उनले ‘आज रजत जयन्ती शीर्षक कविताको रचना यसरी गरे :
“ आज रजत जयन्ती ।
आँखा, तँ बन्द हो–
तेरो नक्कलझक्कलको आज के काम ?
कान, तँ टोलाई–
तेरो सुँघ्ने शक्तिलाई आज र्बििर्सदे
यो फूलले लाटरम्म बसुन्त त होइन ।
दसै इन्द्रियहरू , आफ्ना–आफ्ना थनका लाग ।
तिमीहरूको घमन्डको पखेटा
आज काटिदिन्छु ।
जोसित इच्छा छ उसैसित सोध
सबै एकै स्वरमा जवाफ दिनेछन्
आज हाम्रो आनन्द दिवस हो–
यो दिन ननिभ्ने गरी उज्ज्वल छ,
आज रजत जयन्ती ।”
उनले नाटकलाई दुई वा तीन अङ्कमा विभाजित गरेको देखिन्छ । मनोवैज्ञानिक सुक्ष्मता, भावनात्मक गहनता, बैचारिक प्रखरता, अन्तद्धन्द, प्रतीकात्मक जस्ता भावले गर्दा रिमालका नाटक उत्कृष्ट छन् । अझ यिनले नाटकमा सरल, सहज भाषाका साथै सरल संवाद प्रयोगले गर्दाले नै नाटक जीवन्त रहेको देखिन्छ । ग्रीकका महान नाटककार युरिपिडिजको समस्यामूलक नाटकको प्रभाव संसार भरका १९ औं शताब्दीका नाटककारहरूमा राम्ररी प¥यो । पुरूषद्वारा हेपिएको नारी बारे विषयवस्तु बनाइयो । नेपाली समाजको यथार्थवादी समस्यालाई उजिल्याउने काम गरेका थिए । विशेषत : यिनले घरपरिवारमा हुने नारी समस्या केन्द्रित बनाएर नाटक लेखे । प्रायः जसो नाटकमा पुरूष र महिलाबीचको झैझगडालाई नै विषयबस्तु बनाएको देखिन्छ भने झगडामा हिंसात्मकले प्राथमिकता पाएको छैन । नाटककार स्टर्नवर्ग, इब्सन, चेखेव, लोर्का तथा अन्य प्रख्यात नाटककारको नाटक बारे अध्ययन गरे स्पष्ट हुन पुग्छ । गोपालप्रसाद रिमालको मसान पनि त्यही कोठीमा पुगेको छ । अझ भन्ने हो भने इब्सनको डल हाउस भन्दा लोर्काको यर्मासँग रिमालको नाटकलाई दाँजेर व्याख्या गर्नु पर्ने हुन्छ ।
रिमालद्वारा रचित ‘सान्त्वना’ कविता आमाको सपना कविता सङ्ग्रहमा छ । यो कविता उनले अत्याचार, अन्याय र मानव विरोधी तत्वको विरूद्ध रचिएको हो । कवितामा समाजमा व्याप्त विकृति र विसंगति विरूद्धको भाव प्रकट गर्दै शिक्षाको चेतनाको कमीले गर्दा नै अराजक र उत्पीडन बढेको हुँदा आमुल परिवर्तन ल्याउन माथिल्लो शोषक समान्त वर्गबाट होइन तल्लो श्रमिकबाट मात्र सम्भव छ ।
खोक्रो पेट अनाज भेट नहुने भोका र नाङ्गा उठ
कोदाला उठ बन्चरो र हसियाँ नाम्ला र डोका उठ
साहूका करकापका कठिनता भोग्नेहरू हो उठ
ताकेका जिमिन्दारले युवतीका लोग्नेहरू हो उठ ।
राणा विरूद्ध लागेको हुँदा रिमाललाई वि.सं.२००३ र २००७ सालमा दुई पटक बन्दी बनाएर राखियो । जेल जीवन पश्चात् झनै बिद्रोही स्वभावका भए उनी । उनको लेखन राणातन्त्रको विरोधमा केन्द्रित रह्यो । रिमाल क्रान्तिका योद्धा मात्र होइनन् इतिहास पनि हुन् । उनले प्रजातन्त्र, राष्ट्रियतालाई एकसाथ बोकेर हिड्ने र जनआन्दोलनको माध्यमबाट देशमा प्रजातन्त्रको स्थापना गर्ने सपना देख्थे । मुलुकमा सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक गिर्दो स्थितिले गर्दा आम नागरिकको चेतनामा विकास नहुँदा जनक्रान्ति हुन नसकेको निष्कर्ष निकाले ।
स्वतन्त्र रूपमा जीवन व्यतीत गर्न रूचाउने कवि रिमाल दिमागमा ठूलो असर पर्न गयो । उनी मानसिक रोगबाट समेत पीडित भए । दिमाग बिग्रिएकोले औषधी उपचार गर्न राची पुर्याइयो । केही समय ठीक भए तापनि पुन : मानसिक रोग बल्जियो । त्यस ताक अर्थात् २०१३ सालमा पुन : उपचारको लागि राची लगियो । उपचारका लागि तत्कालीन राजा महेन्द्रले रू.५०००।- आर्थिक सहयोग गरेका थियो । उपचारका लागि रिमालका साथमा खड्गबहादुर सिह र उनकै भाइ हरिप्रसाद रिमाल साथमा गएका थिए । आर्थिक अवस्था नाजुक भएका कारण उनले पुन : औषधी उपचार गर्न सकेनन् । फलस्वरूप मानसिक असन्तुलन गुमाई बौलाह समेत हुन पुगे । गोपालप्रसाद रिमाल बौलाएका होइनन् । बौलाह बनाइयो भन्ने तर्क पनि व्यापक रूपमा सुनिन्छ । यसै सन्दर्भलाई लिएर कृष्णचन्द्रसिंह प्रधानको भनाई ‘‘रिमालको विक्षिप्ति उनको आफ्नै हो, रिमाललाई उनको सपनाले विक्षिप्ति पार्यो, उनकै आकाङ्क्षाले बहुला बनायो । माटो खाए माटो होइन्छ, मानिस खाए मानिस–त्यसैले मान्छेले टेक्नै पर्यौ । त्यस्तै गरी गोविन्दबहादुर मल्ल गोठालेले यसो भने ‘राजनैतिक असन्तुष्टि अथवा राजनैतिक व्यक्तित्व विकासमा असफल हुनुको कारण उहाँ बहुलाउनु भएको मलाई लाग्दैन । शारीरिक रोगले नै वहाँ बहुलाउनु भएको हो । राजनैतिक उत्तेजनाले त्यसमा तेल थप्यो होला ।’
अन्तत वि.स. २०३० कार्तिक ८ गते गोपालप्रसाद रिमालको निधन भयो ।
रिमालको भौतिक शरीर हाम्रा सामु नरहे तापनि उनको योगदान नेपाली भाषा साहित्यमा महत्वपूर्ण छ । स्वस्थ्य जीवन लिएर कम बाँचे भने कमै लेखे । उनी क्षणिक लोभ लालचमा फसेनन् । उनले राणाको निरकुंशतालाई तोड्न क्रान्ति र विद्रोहका अक्षरखेतीको माध्यमबाट विकुल फुके अडिग भएर । त्यति मात्रैले प्रयाप्त नठानी खुकुरी र झण्डा बोकी क्रान्तिको अग्रमोर्चामा दरिए । यसरी समाजमा न्याय र समानताका लागि चेतनाको प्रबाह गर्न आफ्नो जीवनलाई नै आहुती दिन तयार रहने क्रान्तिदर्शी महान व्यक्तित्व माथि हार्दिक श्रद्धा शब्द सुमन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *