ताजा समाचार

लकडाउन अचुक अस्त्र होइन

संसार अहिले कोरोना भाइरसको संक्रमणबाट तहसनहस बन्दैछ । लाखौ मानिसहरूको ज्यान लिइसकेको छ । लाखौ मानिस जीवन र मृत्युको दोसाधमा छन् भने लाखौको संख्यामा अस्पतालबाट निको भएर घर फर्किएका छन् । धेरै मानिसको ज्यान लिन थालेपछि धेरै राष्ट्रले आफ्नो देशलाई लकडाउन गर्न थाले । नेपालमा पनि समयमा नै सरकार सचेत र जिम्मेवार नभएका कारण यो भाइरसले प्रवेश पायो । चीनमा यो भाइरस आउनासाथ नेपालले सतर्कता अपनाएको भए यो अवस्था आउने थिएन । अरु केही नगरेपनि कम्तिमा अन्तराष्ट्रिय स्तरबाट आउने यात्रुलाई एयरपोर्टमा नै चेकजाँच गरी क्वारेन्टाइन वा अवस्था हेरेर आइसोलेशनमा राख्ने व्यवस्था र भारतीय नाकाबाट आउने नागरिकलाई पनि सोही अनुसारको व्यवस्था गरेको भए नेपालले कोरोना भाइरसको सामना गर्नुपर्ने थिएन ।
नेपालमा कोरोना भाइरसको प्रवेश भइसकेपछि पनि त्यसको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि स्वास्थ्य साधन, स्रोत, प्रविधि र भौतिक पूर्वाधारको विकासतर्फ सरकार नलागेर कुनैपनि अध्ययन तथा अनुसन्धानविना हचुवाका भरमा एक्कासी पूरा देशलाई लकडाउन (बन्दाबन्दी) गर्नाले निकट भविष्यमै सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ । कोरोनाको संकट टार्ने नाममा देशको विकासलाई दशकौं दशक पछाडी धकेल्नु मुर्खता सिवाय अरु केही होइन । त्यसमा पनि आफूलाई सर्वहारा वर्ग, असहाय, गरीव, दलित, किसान, विपन्न तथा उत्पिडित जातीको पक्षमा काम गर्ने भन्ने नेकपाको दुई तिहाइको सरकार भएका वेला सबभन्दा धेरै यही वर्गले दुःख पाइरहेको छ । एकपेट खानाको अभाव तथा खानका लागि जनता सयौँ किलोमिटर पैदल मार्च गरिरहेका छन् । संक्रमितको संख्या सय पनि नपुग्दा सरकारले लकडाउन गरी यो हालतमा पु¥याएको छ भने युरोप, अमेरिका जस्तो महामारी हुने हो भने के हालत होला ? यो वर्ग भोकभोकै जहाँको त्यही मर्ने वाहेक के हालत हुन्थ्यो ? अझ स्थानीय सरकार, विभिन्न सामाजिक संघ÷संस्था थिएनन् भने कति जनता मरिसक्थे भने सरकार यतिखेरसम्म कहाँ पुग्दथ्यो, अनुमान गरौँ ।
यदि सरकार जनाताप्रति जिम्मेवार छ भने जस्तोसुकै अवस्थामा पनि सबैलाई न्यूनतम आधारभूत आवश्यकता पुरा गरिदिनुपर्छ । न्यूनतम आवश्यकता भनेको विहानवेलुकाको खाना, सानो एउटा बास, विरामी पर्दा उपचार, सन्तानलाई शिक्षादिक्षा । नेपाली परिवेशमा यी आवश्यकता परिपुर्ति हुनु, गरिवी, रोग र अभावबाट मुक्त हुनु हो । यो काम आजसम्म कुनैपनि सरकाले पूरा गर्न सकेका छैनन् । बरु यस्तो संकटकोबेला जनतालाई लकडाउनको नाममा घरघरमा थुनेर आआफ्नोस्वार्थ पूरा गर्नतिर नेकपा लागको छ । जे जस्तो जसरी गरेपनि स्थानीय सरकारले केन्द्रको सरकारको थोरै भएपनि साख बचाइदिएका छन् । कृषि, कलकारखाना, स–साना खुद्रा पसल र पुरा विकासको काम रोक्नु, त्यसमा पनि दैनिक श्रम गरी खाने वर्गलाई सर्वाधिक अन्याय हुने गरी लकडाउन गर्नु कुनै पनि वहानामा न्यायोचित छैन भने तिनै वर्गबाट हुने सहज ठाउँको पनि विकास कार्य रोक्दा समग्र जनातामाथि नै ठूलो अन्तर्घात भएको छ ।
धेरैभन्दा धेरै कोरोनाबाट मृत्यु भएका र संक्रमित भएका देशले कतिले लकडाउन नै गरेका छैनन् भने कतिले लकडाउन खुकुलो पार्दैछन् । नेपाल भने पुरा देशलाई नै एउटै मापदण्ड बनाएर झण्डै दुई महिनादेखि लकडाउन गरिरहेको छ । लकडाउन कहिलेसम्म गर्ने ? अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरस अरु दुई वर्षसम्म रहने अनुमान गरेका छन् । सरकारको प्राथमिकता कोरोना भाइरसको संक्रमणबाट जनतालाई जोगाउनु मात्र हो ? अरु कुनै जिम्मेवारी र कर्तव्य आफ्ना नागरिकप्रति छैन ? घरघरमा लुक्दैमा यो संकटबाट मुक्ति पाइने छैन । बरु अरु मानसिक, शारीरिक लगायत विविध संकट गहिरिने पक्का छ । अनि छिट्टै नै भोकमारी र अरु यसबाट सृजित हुने रोगले मानव जीवन झन कष्टकर हुने निश्चित छ । सामान्य अवस्थाको अति विकसित देशको सानो एउटा उदाहरण डेलकारनेगीका अनुसार चिन्ताले अमेरिकमा हरेक पैंतीस मिनेटमा एक व्यक्तिले आत्महत्या गर्छ र हरेक दुईमिनेटमा कोही न कोही व्यक्ति पागल हुन्छन् । अहिलेको विषम परिस्थितिमा कतिले आत्महत्या गरे र कति पागल बने होला । यतिका दिन वितिसक्दा पनि सरकार गम्भीर नबन्नु दुःखद कुरा हो । यस विचका अधिकांश समय सरकार आफ्ना आन्तरिक मतभेद मिलाउन समय खर्चिरहेको छ भने हरेक हप्ताजस्तो बैठक बसेर लकडाउन बढाउने निर्णय मात्र गर्छ । यस्तो सरकारलाई आफ्ना नगरिकप्रतिको जिम्मेवार सरकार भन्न मिल्छ ?
यस्तो विषम परिस्थितिमा सरकारको काम विषेश प्याकेज ल्याएर अर्थतन्त्र उकास्नु पर्ने हो तर नेपाल सरकार अर्थतन्त्रलाई उठ्नै नसक्नेगरी गिराउने काम गर्दैछ । अनि बन्द कोठाको बेड, सोफामा बसेर टि.भी. हेर्ने, लेखपढ गर्ने, मोवाइल खेलाउने र क्यारिकेचर आदि गरेर नेपालीको कोरोना प्रतिरोधी क्षमता बढ्दैन । कोरोना प्रतिरोधी क्षमता बढाउन पनि सुरक्षित, अनुशासित र संयमित भएर आफ्नो काम गर्दा नै कारोना प्रतिरोधी क्षमता बढ्छ । त्यसैले लकडाउन आफैमा अचुक औषधी होइन । लकडाउनभन्दा पनि अचुक औषधी घरघरबाट जाग्रित भई कोरोना भाइरस वारे व्यापक जनचेतना जगाई स्वयं सुरक्षित हुनु हो । राम्रो सेल्फ म्यानेजमेन्ट, आध्यात्मिकता, योग ध्यान र साधनाले दिन्छ । त्यस्तै अहिलेको वेलामा आपसी झगडा होइन स्वस्थ सरकार सञ्चालनका लागि पनि आध्यात्मिक दर्शन, नैतिक आचरण, योग, व्ययाम र साधनाका साथ इमान्दारितालाई प्रमुख आधार बनाउनु पर्ने हो । दुःखको कुरा यस्तो बेलामा पनि जिम्मेवार तहमा बसेकै व्यक्तिहरू कमिसनको चक्करमा फनफनि घुमिरेहका छन् । सरकार र जनता सबैका लागि अहिलेको समय संयम, धैर्य, शान्त र आशावादीका साथ सजक रहनु नै सवभन्दा भरपर्दो उपचार हो । तर सरकार जनताको मनोवल घटाउँदै जनतालाई घरमा थुनेर अस्वस्थ खेलमा दिनरात खर्चिरहेको छ ।
आफ्नो सुरक्षा आफै गरौँ, मानव दुरी कायम गरौँ, विश्वले भनेका सबै नियम पालना गरौँ । केरोना सक्रमणको केन्द्रविन्दु बनेका स्थानबाहेक अन्य स्थानमा लकडाउन खोलौँ, अनुशासनमा बसेर कोरोनालाई जितौँ । देशलाई कम्तिमा अति जोखिम, जोखिम र कम जोखिम भनी तीन भागमा भागमा बाँढेर अति जोखिम क्षेत्रलाई अरु कडा, जोखिम क्षेत्रलाई अवस्था हेरी र कम जोखिम क्षेत्र जहाँ एकजना पनि संक्रमित छैन, त्यहाँ हामी जहाँ छौँ त्यही बस्नेगरी लकडाउन खुकुलो गर्ने गरौँ । तर सुरक्षित क्षेत्रमा अन्य क्षेत्रका मानिसहरूलाई आवतजावत गर्न नदिने गरौँ । स्वदेश तथा विदेशका सबै हवाई यातायात र लामो दुरीका यातायातका साधन (अत्यावश्यक ढुवानी गर्ने साधन बाहेक) बन्द गरौ । यसो भन्दै गर्दा फेरीपनि सरकारले संक्रमण फैलावट रोक्नै पर्दछ । तर हचुवाको भरमा देशलाई वन्दावन्दी गरेर होइन । हाम्रो जस्तो स्वास्थ्य पूर्वाधार राम्रो नभएको देशमा संक्रमण फैलियो भने मानिसहरू हजारमा होइन लाखको संख्यामा मर्नेछन् । त्यसैले छिटोभन्दा छिटो रोगको परीक्षण गर्नुपर्दछ । यतिका दिन वितिसक्दा पनि सरकार लाजै नमानी स्वास्थ्य सामग्री छैन भनी परिक्षण कार्यलाई तिव्रता दिन सकेको छैन । जतिदिन लकडाउन गरेपनि जवसम्म परीक्षण गरिदैन, समस्याको समाधान हुँदैन । यो निकै नहुने रोग होइन । धेरैलाई निको भएको छ । रोग लाग्ने वित्तिकै डराउनु पर्ने अवस्था छैन । यो भाइरस फैलिहाल्यो भने पनि मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका दिर्घरोगी र ६० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकहरूलाई फैलिन्छ । त्यसैले यस्तो व्यक्ति भएका हरेक परिवारले घरमै विषेश आइसोलेशनमा राख्ने व्यवस्था गर्नुपर्दछ, हामी डराएर, आत्तिएर, धैर्यता गुमाएर होइन ।
आगामी दिनमा हामीले धेरै ठूला ठूला महामारी भोग्नुपर्ने देखिन्छ । पर्यावरणविद् डा. डेविड वालेस वेल्सकाअनुसार तापक्रमका असरले अव हिमालको हिउँ पग्लिन सक्छ । त्यसपछि हजारौ वर्षदेखि पुरिएर बसेका अनेकौ भाइरस बाहिर निस्किन सक्छन् । अहिले पृथ्वीको ताप र भाईरसको त्रास डरलाग्दो देखिएको छ । पर्यावरणमा आएको परिवर्तनले अहिले पृथ्वीको तापक्रम भण्डै एक डिग्री सेल्सियस बढिसकेको भनिन्छ । मान्छेले विकासको नाममा विज्ञान र प्रविधिको सहायता लिएर धेरै प्रकृतिको विरुद्धका कार्यहरू गदैछ । विज्ञान र प्रविधिको आविष्कार सँगसँगै मानव जीवजन्तु तथा अन्य प्रजातिमा राम्रो नराम्रो दुवै असर परेकोछ । त्यसपछि  प्रकृतिको विनाश तथा कोरोना महामारीवीच धेरै अन्तरसम्वन्ध देखिदै जानेछन् । कोरोना भाइरस मात्र नभएर कार्वन इमिसन तथा ग्लोवल वार्मिङ लगायतका मानव प्रकृति अन्तरसम्वन्धका विषयमा नेपालले मात्र केही गर्न सक्दैन । कसरी विकसित देशहरू अगाडी बढ्दछन्, त्यसमा नेपालको सहभागिता रहनुपर्दछ । जीवाष्म इन्धनको प्रयोगले मान्छेले कहाँकहाँ विगार गरेको छ, हिसावकिताव छैन । नदिनाला, तालतलैया, वनजंगल फडानी आदिले असंख्य इकोसिस्टमको भूमण्डलीय सञ्जाल तयार पारिसकेको छ । मान्छेले विकासको नाममा यस्तैखाले धेरै कुकर्म गरेको छ । २१ औं शताव्दीको अन्तसम्म पृथ्वीको तापक्रम ३ देखि ४ डिग्रीसम्म बढ्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् । यस्तो भयो भने संसारका १५ प्रतिशत इकोसिस्टम ध्वस्त हुन्छन् । ७३ प्रतिशत जीवजन्तुहरूलाई यस ग्रहमा बाँच्न अत्यन्त कठिन हुन्छ । यसबाट अरु नयाँ भाइरस र व्याक्टेरिया उत्पति हुन्छन् । यस्तो अवस्था कुनैपनि वेला आउन सक्छ । त्यस्ते बेलामा यस्तो सरकारले कसरी काम गर्न सक्ला ?
मानिसको शरीरमा असंख्य व्याक्टेरिया हुन्छन् तिमध्ये ९९ प्रतिशत व्याक्टेरियालाई मानव विज्ञानले अहिलेसम्म चिन्न सकेको छैन । मानव शरिरमा आफ्नै खालको इकोसिस्टम हुन्छ । सामान्यतया मावन शरिरको तापत्रकम ९८.६ फरेन्हाइट हुनुलाई सामान्य मानिन्छ । कसै कसैको कम हुँदा पनि असर देखिदैन । मेरो सधैजसो ९२ देखि ९५ फरेन्हाइट मात्र छ । त्यसैले विश्वव्यापी समस्यालाई विश्वव्यापी रूपमै समाधान खोज्नुपर्दछ । भूमण्डलीय भविष्यको धर्तिमा कोरोना भाइरस भन्दा पनि डरलाग्दा भाईरस तथा व्याक्टेरिया मानव विनासको लागि सलवलाईरहेका हुन सक्छन् । प्रकृति र मानव सम्वन्धलाई खलबल्याउने होइन मजवुत बनाउनतिर लाग्न ढिलो भइसकेको छ । पछिल्लो समय धेरै रोगहरू पशुपन्छी तथा जनावरबाट मानिसमा सर्दैछन् । मान्छेले विवेक गुमाएका कारण आफ्नो भान्सामा सान र मानका खातिर यिनीहरूको मासु मान्छेका लागि जव विभिन्न परिकार बन्न थाले । त्यसपछि मानवको जीवनचक्रमा विपत्ति सुरु भएको छ । भनिन्छ अहिलेको कोरोना भाइरसपनि चमेरो खाएको कारण मानवमा सरेको हो । त्यसैले अहिले मरेका मान्छेका लासको संख्या गनेर बस्ने होइन, मानव विनास रोक्नलाई सबै राष्ट्र मिलेर यस खालका विभिन्न भाइरस र अन्य रोगको वारेमा अध्यायन अनुसन्धान गरी खोप तथा औषधीको आविस्कार गर्नुपर्ने वेला आएको छ । प्राणीहरू जन्मेपछि मर्नु शाश्वत सत्य हो । तर अकालमा मर्न दिनुभएन । त्यसैले कोरोनाको महामारीपछिको भोकमारीको अवस्था भयावह हुँदैछ । यसलाई सामान्य नसोचौँ । गम्भिर भएर कोरोना मात्र होइन समग्रमा अरु पनि सोचौँ । यस्तो गम्भीर अवस्थामा नेपालले सोच्नु पर्यो । अहिले कति मान्छे मरे भनेर डराउने होइन यसको निदान मै दत्तचित्त हुनुपर्दछ । संसारको साढे सात खर्वभन्दा बढीको कुल जनसंख्यामा एक खर्व मानिस (हरेक सात मानिसमा एकजना झुपडट्टीहरूमा बस्छन्) विसौ लाखभन्दा बढी मानिसको लागि बस्ने ठाउँ छैन । हरेक दिन १५ हजारभन्दा बढी मानिस त खान नपाएर मर्ने गरेका छन् । अहिले अलिकति लकडाउन खुकुलो पार्दा सुरुसुरुमा केही मानिसको मृत्यु हुन सक्ला तर निकट भविष्यमा लाखौ मानिस मर्ने वातावरण सरकारले किन सृजना गर्दैछ ? लकडाउनबाट सृजना हुने चरम आर्थिक संकटको बारेमा किन सरकारले केही नसोचेको ?
हरेक देशहरूले अब ठूलो वजेट यस क्षेत्रमा छुट्याउनुपर्छ । अब नेपाल सरकारले पनि हतियार सेना र प्रहरी सुरक्षामा ठूलो कटौती गरी त्यसपावत खर्च हुने रकम यसमा लगाउनुपर्छ । नेपाललाई यति धेरै हातहतियार, सेना र प्रहरीको आवश्यकता छैन । किनभने नेपाल कुनै देशसँग लड्न सक्तैन । त्यसैले आन्तरिक सुरक्षाका लागि सानो र चुस्त सुरक्षा निकाय खडा गरेर अरु देशका लागि नमूना बन्नुपर्छ । अरु विकसित देशले पनि यस विषयमा गम्भिर बन्नुपर्छ । अहिलेसम्म कुनै पनि देशले हतियार र राष्ट्रिय सुरक्षा प्रयोजनमा लगाउने ठूलो हिस्साको रकम कटाएर सर्वाजनिक, स्वास्थ्य, अध्ययन, अनुसन्धान तथा पर्यावरणसित जोडिएका प्रविधि संरचना र जनशक्तिको विकाशका लागि खर्च गर्ने बुद्धि कसैले देखाएका छैनन् । अहिले हतियार र सुरक्षामा भारी खर्च गर्ने होइन, खाद्यन्ह, लताकपडा र औषधीमूलोको जोहो गर्नेबेला आउँदैछ । विस्तारै सैन्य शक्तिको प्रवर्धनका लागि खर्च गरिने रकम कृषि, पर्यटन, उद्योग, स्वस्थ्य, शिक्षा तथा पर्यावरणसंग जोडिएका  प्रविधिको विकाश, अध्ययन र अनुसन्धानमा खर्च गर्ने परिपाटीको थालनी सबै राष्ट्रले गर्नुपर्दछ । प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन २०१९ मा अमेरिकाले ७१५ विलियन, चिनले १७७ विलियन तथा भारतले मात्र ७० विलियन डलर मिलिटरीमा खर्च गरेको देखिन्छ । सन् २०१८ मा संसारमा मिलिटरीमा १८२२ विलियन डलर खर्च भएको देखिन्छ । जव कुनै पनि देशले आपत विपतको बेला आफ्ना नागरिकहरूको स्वास्थ्योपचार गर्न सक्दैन भने यति धेरै हतियार र मिलिटरीको के काम ? त्यसैले अब हतियार र सुरक्षामा लगाउने खर्च कोरोना भाइरसजस्ता रोगको उन्मुलन र उपचारमा लगाउनुपर्ने बेला आएको छ । विपतमा नै मानिसको सही पहिचान हुन्छ त्यसैले यस्तो विषम परिस्थितिमा केही पनि लोभी, पापी, स्वार्थी र कायर नबनौ । अरूका लागि पनि यस्ता बेलामा केही न केही गर्ने वानीको विकाश गरौ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *