ताजा समाचार

सांसद अपहरण प्रकरण : पूर्वआइजिपी खनाल, सांसद बस्नेत र श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सक्ने

काठमाडौं।समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी प्रहरीले दर्ता गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सरकारी वकिलको कार्यालयले पठाएको अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरी प्रहरीले दर्ता गरेको हो।

यादवले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध जाहेरी दिएका थिए। प्रहरीले उक्त जाहेरी लिन नमानेपछि उनले सरकारी वकिलको कार्यालय काठमाडौं गएका थिए। सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।अपराध संहिताको अपहरण तथा शरीर बन्धकसम्बन्धी कार्यविधिअनुसार अनुसन्धान सुरू गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए।‘अनुसन्धान थालिएको छ, हाम्रो टोली घटनास्थलको मुचुल्का उठाउन परिचालन भइसकेको छ,’ ज्ञवालीले भने।उनका अनुसार घटनास्थल मानिएका क्षेत्र महोत्तरी, काठमाडौंको मेरियट होटललगायत ठाउँको मुचुल्का उठाइन्छ। ‘अनुसन्धानअनुसार प्रतिवादीलाई पक्राउ गरी प्रहरीले कारबाही गर्न सक्छ, अहिले अनुसन्धान चलिरहेकाले भन्न मिलेन, कानुनले निर्देशित गर्ने कार्य प्रहरीले पूरा गर्छ,’ ज्ञवालीले भने।सांसद यादवलाई गत वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याइएको थियो। पूर्वआइजिपी खनालसहित

सांसदद्वयले अपहरण गरी आफूलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोप यादवले लगाएका थिए। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको पर्सिपल्ट पार्टी विभाजन प्रयोजनार्थ यादवलाई काठमाडौं लिन तीन जना नै महोत्तरी पुगेका थिए। फौजदारी अपराध संहिताले घटना गराउने व्यक्ति तथा घटनास्थललाई नियन्त्रण गर्न निर्देश गर्छ। प्रतिवादी व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने गर्छ।अपराध गरेको हो वा हैन भन्ने अनुसन्धान प्रतिवेदनले निर्देश गरेअनुसार कानुनी कारबाही अघि बढाउने पनि अन्तिममा सरकारी वकिलको कार्यालय नै हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *