ताजा समाचार

प्रधानमन्त्री ओली वालुवाटारमा प्रतिरक्षा रणनीति तयार पार्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँगको छलफल गरी प्रतिरक्षा गर्ने रणनीति तीब्र बनाएका छन्। शुक्रवार बिहान बालुवाटारमा बोलाएर संसदीय दलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेताहरुसँग ओलीले छलफल गरेर प्रतिरक्षा रणनीति बनाएका हुन् ।

प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल लगायत बालुवाटारमा पुगेर ओलीसँग छलफल गरेका थिए । सरकारको नीति तथा कार्यक्रम र संसदीय दलको रणनीति बनाउने विषयमा छलफल भएको बालुवाटार पुगेका ओली निकट नेताले बताए। बालुवाटारमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र संसदीय दलमा अब कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल भएको छ, उनले भने। अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थायी कमिटी बैठक बोलाउन दबाब बढाइरहेका बेला ओलीले आफू निकटका नेताहरुसँगकोछलफल तीब्र पारेका हुन्।

बिहीवारमात्रै असन्तुष्ट स्थायी समिति सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर प्रचण्डलाई भेट्न पुगेका थिए।प्रचण्ड भेट्न स्थायी समिति सदस्य जनार्दन शर्मा, भीम रावल र हरिबोल गजुरेल उनकै निवास पुगेका थिए। विहिबार पार्टी कार्यालय, धुम्बाराहीमा जम्मा भएका २० जना स्थायी कमिटी सदस्यहरुले पार्टी विधानलाई लत्याएर पार्टीको सचिवालय बैठकले स्थायी कमिटीको बैठक नबोलाएकाले तत्काल बैठक राख्न माग गर्दै दबाब दिएका थिए । नेकपाको स्थायी कमिटीका बैठक विहिबार बिहान ११ बजेबाट धुम्बाराही पार्टी कार्यालयमा सुरु हुने भनिएपनि बुधबार बसेको सचिवालय बेठकमा एजेण्डा नै तय नभएका कारण स्थगित गरिएको थियो ।

२० वैशाखको सचिवालयले तोकेको बैठक रोकिएकोमा सचिवालयकै नेताहरू पनि असन्तुष्ट रहेका बेला भीम रावल, जनार्दन शर्मा, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य पम्फा भूषाल, बेदुराम भूषाल, देवेन्द्र पौडेल लगायतका नेताहरुले स्थायी कमिटी बैठक चाडो बोलाउन माग गरेका हुन् । उनीहरुले धुम्बाराईमा भेला गरेको चाल पाएका ओलीले शुक्रबार विहान आफ्नो समूहका नेताहरुलाई वालुवाटारमा बोलाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *