काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बसेको अनौपचारिक बैठकले ‘दबाब समुह’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार सदस्यीय दबाब समुह गठन गरेको हो । यो समुहले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई औपचारिक बैठक बोलाउँन दबाब दिने बताईएको छ ।
दबाब समुहमा रहेका नेताले अध्यक्षद्धयलाई भेटेर बैठक बोलाउँने बिषयमा छलफलका साथै दबाब सृजना गर्ने छ । प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालले बुधबार साँझ छलफल गर्दै पुर्व निर्धारित आजको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्देशन दिएका थिए । तर उनीहरुको निर्देशन विपरित १८ स्थायी कमिटी सदस्यहरुले अनौपचारिक बैठक गर्दै तत्काल बैठक बोलाउँनुपर्ने निर्णय गरेको छ । दबाब समुहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् । स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठक बिना निष्कर्ष सकिए पछि स्थायी कमिटीको बैठक समेत अनिश्चित भएको छ ।
२० स्थायी कमिटी सदस्यहरुले यस अघि नै स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धय ओली र दाहाललाई लिखित रुपमै पत्र पठाएका थिए । त्यसपछि २० बैशाखको सचिवालय बैठकले स्थायी कमिटी बैठक आजको लागि तोकेको थियो । तर बैठक बस्नुभन्दा एक दिन अघि स्थागित गर्ने निर्णय गरेपछि कमिटीका सदस्यहरु आक्रोशित छन् । उनीहरुले पार्टी कार्यालयस्थित धुम्बाराइमा बैठक गरेर सो दबाब समूह बनाएका हुन् । धुम्बाराइको बैठकपछि उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई समेत भेटघाट गरेका थिए ।




