रोल्पा।दशवर्षे सशस्त्र युद्धमा होमिएका तत्कालिन माओबादी नेता कुलानन्द गिरीले केहीदिन अघि रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोटमा परी ४ अबोध बालबालिको निधन भएको स्थानमा अरुपनि हातहतियार तथा बम बारुदहरु हुन सक्ने बताएका छन । उनका अनुसार त्रिवेणी गाउँपालिकाको दुम्ला बर्तिबाङ, मैतेगातीना भन्दा माथि छम्पा भन्ने ठाउँमा सशस्त्र युद्धका बेला हतियार निर्माण गर्ने कारखाना नै थियो । यसका साथै सशस्त्र युद्धका बेला माओवादिको केन्द्रीय समितिको बैठक समेत त्यसेै स्थानमा बसेकाले नेताहरुको सुरक्षार्थ समेत त्यहाँ हात हतियार पुर्याइएको उहाको भनाइ छ ।
गिरीका अनुसार २०५८ साल मंसीर ८ गते माओबादीले दाङ घोराहीको ब्यारेक आक्रमण गरेका बेला कब्जा गरेका सबै हातहतियारहरु दाङछिरी हुँदै नुवागाउँबाट मैतेगातिनाको बाटोभएर जिल्लाका बिभिन्न ठाउँमा पठाइएको थियो । यसबाहेक सशस्त्र युद्धका बेला लुकाइछिपाई राखेका अरुपनि हातहतियार त्यो ठाउँमा हुन सक्ने उनको अनुमान छ । “ती अबोध बालबालिकालाई त्यो घटनाका बारेमा के थाहाँ ? भेटाएर खेलाए होलान् । जीवनलीला समाप्त भयो उनले दुःख प्रकट गर्दै भने । ” गिरीले विगत संझदै भनेे माओबादी र सरकारवीच दाङको हापुरेमा भएको दोश्रो बार्ता भङ्ग भएपछि २०६० साल भदौ १९ गते दाङको घोराही ब्यारेकबाट शाही सेनाहरु रोल्पा आएका थिए । त्यहीबेला नुवागाउँ भन्दा माथिको कब्जेनी डाँडाबाट शाहिसेनाले र मैतेगातीना (घटना स्थल) बाट माओबादी लडाकुको करिव साढे एक घण्टाजति दोहोरो भिडन्त भएको थियो । घटनामा मानवीय क्षती भएन । तर, त्यो बेलामा पनि ठूलो संख्यामा हातहतियार प्रयोग भएका थिए । केही हातहतियार छुटेका पनि हुन सक्ने उनकाे अनुमान छ ।
“शाहीसेना र माओबादीको दोहोरो भिडन्त हुँदा त्यो दिन म दुम्लामा थिएँ । तालिममा भएको हुँदा त्यो दिन मलाई अहिलेपनि याद छ । त्यही दिन कोर्चाबाङको हान्नीङमा शाही सेना र माओबादी बीचको भिडन्तमा एक क्वीण्टलजति गोलीगट्ठा माओबादीले खोसेका थिए । त्यो एरियामा पनि केही हातहतियार अझै हुन सक्छन् ”उनले भने । “जिल्लाका कोर्चाबाङ, घर्तीगाउँ, भाबाङ, राङ्सी, कुरेलीको उपाबाङमा पनि युद्धको अवशेषका रुपमा हातहतियार हुन सक्छन् । त्यँहा तत्कालिन समयमा माओबादी नेता प्रचण्डको हेडक्वाटर थियो । जसका कारण ती ठाउँमा धेरै हातहतियार तथा बम बारुद्धहरु राखिएका हुन्थे । यसका साथै लिस्ने, गाम तिरपनि लुकाई छिपाई राखिएको तथा गाडिएको अवस्थामा हातहतियार तथा बिष्फोटक पदार्थहरु हुनसक्छन्” उनले बताए । उनका अनुसार तत्कालिन माओबादी लडाकुले हातहतियार कब्जा गरेर भाग्नुपर्दा केही लिएर, केही छोडेर तथा केही गाडेर जान्थे । सेनाले त्यो एरिया कब्जा गरेपछि माओबादी लडाकुहरु फर्केर आउन सक्ने अवस्था रहदैनथ्यो । यसरी लुकाइ छिपाई राखेका ती हातहतियारहरु अझैपनि त्यही ठाउँमा छुटेका हुन सक्छन् । कतिपय शाही सेना तथा माओबादी लडाकुले युद्धका बेला दोहोरो भिडन्तमा ज्यानको सुरक्षाका लागि हातहतियारहरु छोडेर भाग्थे । यस विषयमा खोज अनुसन्धान हुनुपर्छ । सरकारको पहलमा नेपाली सेनामार्फत बम तथा विष्फोटक पदार्थहरु निष्क्रिय पारिनु पर्छ उनले भने ।
त्रिवेणी घटनाका बारेमा सरकारले पीडित परिवारलाई न्याय दिुनपर्ने उनको माग छ । युद्धको अवशेषबाट बचेको वम विष्फोटका कारण घटना भएको हुँदा ती बालबालिकालाई शहिद घोषणा गर्नुपर्ने उनको धारणा छ । यसका साथै परिवारले उचित न्याय पाउनुपर्ने उनले बताए । यस बाहेक उनले त्रिवणी घटनाको विषयमा आज फेसबुक स्टाटस मार्फत आफ्ना धारणाहरु समेत सार्वजनिक गरेका छन ।
जस्ताको तस्तै उहाँको फेसबुक स्टाटस – यही बैसाख १८ गते रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ७ न.वडा मैतेकाटनामा बेवारिसे बम बिस्फोटमा परि वर्ष ५ का विजय खत्री , वर्ष ११ का विमल खत्री ,वर्ष १३ का गौरव नेपाली र वर्ष १४ का नोखिराम डाँगीको निधन भएको समाचारले हामीलाई मर्माहत बनायो । यतिबेला उक्त बम त्यस स्थानमा कसरी पुग्योहोला, कसले पुर्यायोहोला र किन पुर्यायो होला ? भन्ने खालका प्रश्नहरु जनमानसमा उत्पन्न हुनु स्वाभाविक हो । विगत र वर्तमान परिस्थितिको आकलन गर्दा, रोल्पाको उक्त क्षेत्र १० वर्षे जनयुद्धका बेला माओवादिहरुले हतियार ओसार प्रसार र भण्डारण गर्न प्रयोग गरेको सबैलाई थाहा छ । एक पटक त माओवादिको केन्द्रीय समितिको बैठक समेत त्यसेै स्थानमा बसेकाले नेताहरुको सुरक्षार्थ समेत त्यहाँ हतियार पुर्याइएको निश्चित छ । जस्को युद्ध समाप्ति पश्चात् व्यवस्थितरुपले खोज र डिस्पोज हुनु पर्थ्याे । युद्धकाबेला त्यसै पनि माओवादि र सरकार दुबै पक्षबाट त्यहाँका जनताले सास्ती भोगे । आज युद्धको तर खानेहरुले सत्ताको मस्ति लुटि रहेकाबेला समेत हिजोका हातहतियारबाट जनताका छोराछोरिहरुको क्षति हुनु धेरै खेदजनक छ । सरकारले पिडित परिवारलाई क्षतिपुर्ति वापत १० लाख दिने कुरा सुनिएको छ । सत्य भए स्वागत योग्य नै हो । तर त्यत्तिले मानविय क्षतिपूर्ति कहिल्यै हुन सक्दैन । बाँचेकालाई आर्थिक सहयोगले एकछिन राहत देला । तर अनाहक ज्यान गुमाउने ती नाबालकहरुले के पाए ? अतः हिजोको युद्धको अवशेषमा जलेका उनिहरुका लागि त्यहिको भोटले सांसद, मन्त्री भएकाहरु अझ ती पनि त्यहाँको द्वन्द्वको नेतृत्व गर्ने पुर्व माओवादि खेमाकै व्यक्तिहरु भएकोले सहिदको सम्मान दिलाउन सक्नु पर्छ । बाकी हामी सर्वसाधारणले के दिन सक्छौ र ? हिजोको युद्धका पिडा याद गरेर, ती बालकहरुको क्षतबिक्षत शरीर सम्झेर अनि मातापिताको बिरह व्यथा सुनेर मुटु फुट्यो भने केहिथोपा आसु र यिनै शब्दहरुबाट श्रद्धासुमन ब्यक्त गर्ने हो । हार्दिक श्रद्धाञ्जली छ हाम्रो ती अबोध बालकहरु प्रति ! समवेदना छ पिडित परिवारजन प्रति ।




