ताजा समाचार

 राष्ट्रपतिद्वारा वैशाख २६ गते बजेट अधिवेशन आह्वान   

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेकाे संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियाे । नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधनअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो । जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ ।

पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *